२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

गाउँभरि मौरी पालन 

हरि गौतम

रुकुमपूर्व — सिस्ने गाउँपालिका–३, पोखराका ओमप्रकाश खड्काले चालु सिजनमा २ सय ५० धार्नी मह बिक्री गरे । त्यसबाट उनले ५ लाख आम्दानी गरे । प्रतिधार्नी २ हजार रुपैयाँमा बिक्री गरेका हुन् ।

गाउँभरि मौरी पालन 

स्थानीय कमलाल खड्काले २ सय धार्नी मह बिक्री गरेर ४ लाख रुपैयाँ आम्दानी गरे । ओप्रकाशसँग १ सय ११ गोला मौरी छन् । कमलालसँग ५५ गोला मौरी छन् । पोखराका धेरै किसानले यस वर्ष महबाट राम्रो कमाइ गरेका छन् । साबिकको पोखरा गाविसका १ र ४ वडाका केही घर मात्र मौरीका गोलाविहीन छन् ।


‘गाउँमा १ सय ६७ घर छौं,’ ओमप्रकाशले भने, ‘तर, मौरीका गोलाविहीन भएका घर भने केही मात्रै होलान् ।’ यस सिजनमा मौरीले राम्रो मह बनाएको उनले बताए । कात्तिके सिजनमा गाउँबाट मात्रै ३० लाख रुपैयाँको मह बिक्री भएको खड्काले अनुमान गरे । १ हजार ५ सय धार्नी मह बिक्री भएको अनुमान उनको छ । एक गोला मात्रै मौरी भएकाले पनि यस सिजनमा ३ देखि ५ धार्नीसम्म मह बिक्री गरेको उनले बताए । ‘कोसँग कति गोला मौरी छन् भनेर हिसाब गर्दा पनि १ हजार ५ सय धार्नीभन्दा बढी नै मह बिक्री भएको अनुमान छ,’ खड्काले भने ।


किसानसँग अझै पनि बिक्रीका लागि मह बाँकी छ । असोज पहिलो सातादेखि पुसको अन्तिमसम्म निकालिएको कात्तिके सिजनको मह बढी खोजिन्छ । पोखरामा हरेक वर्ष व्यावसायिक मौरी पालन गर्नेहरू बढिरहेका छन् । मौरीका पुराना र व्यावसायिक किसान ओमप्रकाश हुन् ।


कमलाल, लीलाराम खड्का, भागिदल खड्का, लालबहादुर खड्का, भद्रवीर ओली, बालाराम खड्का, कृष्ण केसी पनि धेरै मौरी पालन गरिरहेका अन्य किसान हुन् । मह बिक्री गरेर राम्रो आम्दानी गर्नेमा उनीहरू पनि अग्रस्थानमा आउँछन् । हरेक किसानका घरको चारैतिर मौरीका गोला छन् भने कतिले अन्य ठाउँमा समेत राखेर मौरी पालिरहेका छन् । उनीहरूले मुढे, खोपे र आधुनिक घारमा मौरी पालिरहेका छन् ।


एउटा घारबाट एक सिजनमा ७ धार्नी मह उत्पादन गरेको उनीहरू बताउँछन् । घारबाट ५० प्रतिशत मात्र मह काढ्ने गरेका छन् । चरन अभावका बेला मौरीले त्यही मह खाने गर्छन् । महले नपुगेपछि कृत्रिम खाना मौरीलाई खुवाउने गरिएको छ । मौरी भोको हुन थालेपछि किसानले चास्नी बनाएर खुवाउने गर्छन् ।


चरन अभावमा मौरीका लागि कृत्रिम खानाका रूपमा चास्नी बनाएर खुवाउने गरेको कमलाल खड्काले बताए । मौरीका लागि उपयुक्त मानिएको पोखरा मौरी पकेट क्षेत्रसमेत हो । गत सिजनमा सिस्ने गाउँपालिकाले किसानलाई मौरीसमेत वितरण गरेको थियो । गाउँपालिकाले मौरी वितरण गरेपछि व्यावसायिक मौरी पाल्नेको संख्या बढेको खड्काको भनाइ छ ।


यहाँ उत्पादित महलाई बजारको समस्या छैन । उपभोक्ताले असार महिनादेखि अग्रिम भुक्तानी गरेका हुन्छन् । मह काढ्नेबित्तिकै बिक्री हुने अनुभव किसानसँग छ । धेरै उत्पादन हुने ठाउँमा उपभोक्ता पनि धेरै आउने हुनाले मह बिक्रीको खासै समस्या नभएको किसानहरूले बताए ।


सिजन नभएका बेला मौरी चराउन लैजाने उपयुक्त वातावरण नहुँदा भने समस्या भइरहेको छ । धेरै मौरीका गोला हुँदा सडक अभावमा मौरी चराउन लैजाने वातावरण नभएको अर्का किसान भागिदल खड्काले बताए ।

प्रकाशित : माघ ६, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?