१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बन्ने भयो जिल्ला अस्पताल

हरि गौतम

रुकुमपूर्व — यहाँ जिल्ला अस्पताल निर्माण हुने भएको छ । छुट्टै जिल्लाका रूपमा काम थालेको डेढ वर्षपछि जिल्ला अस्पताल बन्ने पक्का भएको हो । यहाँका साथै पूर्वी नवलपरासीमा पनि अस्पताल स्थापना गर्ने संघीय मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल स्थापनाका लागि ३१ जना कर्मचारीको दरबन्दीसमेत टुंगो लगाएको छ । सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोट स्वास्थ्यचौकी भएकै स्थानमा अस्पताल बनाइनेछ । त्यसका लागि आवश्यक जग्गा गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरिसकेको छ ।


यसअघि स्वास्थ्यचौकीका नाममा १४ रोपनी जग्गा छ । गाउँपालिकाले २१ रोपनी जग्गा अस्पताललाई दिएर ३५ रोपनी क्षेत्रफलमा अस्पताल बन्नेछ । संघीय मन्त्रिपरिषद्ले गरेको निर्णय आवश्यक कार्यान्वनका लागि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा पठाइसकिएको छ । सामाजिक विकास मन्त्रालयले पनि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।


जिल्ला अस्पतालका लागि संघीय सरकारले नवौं वा दसौं तहका १ जना मेडिकल सुपरिन्टेन्डेन्ट र आठौं तहका २ जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृत गरेको छ । अस्पतालमा पाँचौं तहका नेपाल प्रशासनतर्फका एक जना सहायक, पाँँचौं, छैटौं र सातौं तहका ६ जना स्टाफ नर्स, पाँँचौं, छैटौं र सातौं तहका १ जना ल्याब टेक्निसियन र पाँँचौं, छैटौं र सातौं तहका १ जना हेल्थ असिस्टेन्ट वा सिनियर अहेवको दरबन्दी जिल्ला अस्पतालका लागि कायम गरिएको छ ।


यसैगरी पाँँचौं, छैटौं र सातौं तहका १ जना मेरेस, सोही तहका १ जना रेडियोग्राफर, चौथो, पाँचाैं र छैटौं तहका २ जना अहेव, सोही तहका २ जना अनमि, चौथो, पाँचाैं र छैटौं तहका १ जना ल्याब असिस्टेन्ट पनि जिल्ला अस्पतालमा रहनेछन् । नेपाल प्रशासन समूहतर्फबाट चौथो तहका १ जना सहायक र ११ जना श्रेणीविहीन कार्यालय सहयोगीको दरबन्दी पनि कायम गरिएको छ ।


प्रदेशसभा सदस्य तेजबहादुर ओलीले ५० शय्याको अस्पताल स्थापनाको तयारी अन्तिम चरणमा पुगेको बताए । संघीय र प्रदेश सरकारको संयुक्त पहल, लगानी र निर्णयमा अस्पताल बन्न लागेको उनको भनाइ छ । संघीय सरकारको निर्णय प्रदेश सरकारसम्म पुगेकाले थप काम प्रदेश सरकारबाट हुने सदस्य ओलीको भनाइ छ । ‘संघीय सरकारबाट पनि अस्पताल स्थापनाका लागि निर्णय आएका छन्,’ उनले भने, ‘प्रदेश सरकारले पनि अस्पताल स्थापनाको अन्तिम तयारी गरिरहेको छ ।’


संघ र प्रदेश सरकारको पहलमा जिल्लामा अस्पताल स्थापनाका लागि आवश्यक कामकाज लगत्तै सुरु हुने भनाइ उनको छ । निरन्तरको प्रयासपछि जिल्ला अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको प्रतिनिधिसभा सदस्य कमला रोकाले बताइन् । ‘छुट्टै जिल्ला बन्नेबित्तिकै जिल्ला अस्पताल पनि स्थापना हुनुपथ्र्यो,’ उनले भनिन्, ‘त्यसो हुन नसकेपछि पटक–पटक अनुरोध, जिल्लावासीको डेलिगेसन, सांसदको ध्यानाकर्षणले सरकारले जिल्ला अस्पताल बनाउने प्रक्रिया अघि बढायो ।’


जिल्लामा अस्पताल स्थापनापछि जिल्लावासीलाई सुविधा पुग्ने उनको भनाइ छ ।

प्रकाशित : माघ ७, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?