कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वन्यजन्तु बचाउन टाइमकार्ड

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जभित्र सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने घटना बढेपछि नियन्त्रणका लागि प्रशासनले टाइमकार्ड लागू गरेको छ ।

वन्यजन्तु बचाउन टाइमकार्ड

प्रवेश विन्दुमा दिइने कार्डमा उल्लेख समयभित्र अर्को सुरक्षा पोस्टमा पुग्नुपर्छ । समयमा तल–माथि भए जरिवाना तिर्नुपर्छ । केही घटना भइहालेमा दोषी नउम्कियोस् र गति सीमित गराउन यस्तो नियम लागू गरिएको हो ।

निकुञ्जले समयसीमाभन्दा चाँडो र ढिलो पुग्ने गाडीबाट जरिवाना असुल्छ । नियमअनुसार १/२ मिनेट ढिलो एकबाट अर्को सुरक्षा पोस्ट पुगे जरिवाना तिनुपर्छ । तोकिएको अवधि बेवास्ता गरेर मोटरसाइकललगायत सवारीका साधन गुडाउने क्रम बढेपछि कडाइ गरिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । नियम कडा तुल्याए पनि टाइमकार्ड प्रदान गर्ने सहज व्यवस्था नहुँदा चालकले सास्ती खेप्नु परिरहेको छ । सुरक्षाकर्मीले टाइमकार्ड लागू गरेपछि दुर्घटनामा वन्यजन्तु मर्ने क्रम रोकिएको बताए ।


पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानी, अम्रेनी, सैनावार र रम्भापुरमा सेनाका चेक पोस्ट छन् । ती पार गरेर यात्रा गर्नुपर्छ । पोस्टमा टाइमकार्ड लिन घण्टौं लाइन बस्नुपर्छ । सुरक्षा जाँच हुने भएकाले थप समय लाग्छ । अम्रेनीदेखि पश्चिम चिसापानीसम्म १६ किमि निकुञ्ज क्षेत्र छ । सैनावार हुँदै रम्भापुरसम्म पनि १६ किमि पूर्व–पश्चिम राजमार्ग पर्ने भएकाले कडाइ गरिएको निकुञ्जले जनाएको छ ।


गत पुस २७ गते तीव्र गतिमा आएको जिपले ठक्कर दिँदा वयस्क पाटेबाघ गम्भीर घाइते भयो । निकुञ्जको अम्रेनी पोस्टदेखि ३ किमि पश्चिम बा१च ३९१८ नम्बरको जिपको ठक्करबाट घाइते बाघको निकुञ्जको मुख्यालय ठाकुरद्वारामा उपचार भइरहेको छ । बाघको अवस्था सुधारोन्मुख रहेको निकुञ्जले जनाएको छ ।


बाघका दाँत र करङ भाँचिएका छन् । त्यसपछि राजमार्गमा गति नियन्त्रण गर्न सुरक्षा जाँच कडा पारिएको छ । जिप चालक दीपक खड्का निकुञ्जको हिरासतमा छन् । टाइमकार्डका आधारमा एकबाट आर्को पोस्टको दूरी तय गर्न २२ देखि २७ मिनेट तोकिएको छ । कतिपयले ९० देखि एक सयको गतिमा सवारी साधन गुडाउने गरेकाले दुर्घटना बढेको निकुञ्जका अधिकारी बताउँछन् ।


निकुञ्जभित्र ४० किमिभन्दा बढी गतिमा सवारी साधन गुडाउने, हर्न बजाउने र बाटोमा फोहोर फाल्नेलाई कारबाही गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए । गाडीको ठक्करबाट गत वैशाखयता एक बाघ घाइते हुनुका साथै एक दर्जनभन्दा बढी वन्यजन्तु मारिएको उनले बताए ।


सेनाले चालकको गुनासोलाई मध्यनजर राख्दै निकुञ्जभित्र चेकजाँच नगरेर पोस्टमा गर्न थालेको सुरक्षार्थ तैनाथ नेपाली सेनाका गणपति चन्द्रप्रसाद चापागाँईले बताए । ‘चालकले नियम पालना नगरेकाले घटना बढे,’ उनले भने, ‘यात्रुको सुविधाका लागि सवारी चालकलाई सहजीकरण गर्दै चेकजाँच सुरु गरेका छौं ।’


यसअघि सार्वजनिक सवारी साधनलाई मात्र इन्ट्री र चेकजाँच गर्दै आएकामा शनिबारबाट मन्त्रीदेखि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतका गाडीलाई पनि उक्त नियम लागू गरिएको छ । प्रमुख संरक्षण अधिकृत बरालले सरकारी सवारी साधनले पनि नियमको उल्लंघन गरेको पाइएकाले इन्ट्री र चेकजाँच गर्न लागिएको बताए ।

प्रकाशित : माघ ७, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?