राप्ती स्वास्थ्य प्रतिष्ठानमा कर्मचारीकाे आन्दोलन जारी

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारदेखि शुरु भएको कर्मचारीहरुको आन्दोलन अझै जारी छ । 

राप्ती स्वास्थ्य प्रतिष्ठानमा कर्मचारीकाे आन्दोलन जारी

कर्मचारीहरुले इमर्जेन्सी र प्रसुति बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलन गरिरहेका छन् । कर्मचारी र सरकारी चिकित्सक आन्दोलित भएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । बिरामीहरु उपचार नपाएर अलपत्र परेका छन् । उपचार नपाउँदा नागरिकलाई सास्ती भएको छ ।


प्रतिष्ठान अन्तर्गतका चिकित्सकले मात्रै ओपिडीमा बसेर बिरामी जाँच गरिरहेका छन् । पर्याप्त चिकित्सक र प्राविधिक कर्मचारी नहुँदा प्रयोगशाला लगाएतका स्वास्थ्य सेवा पाउन समस्या भएको छ । तलब र पेशागत सुरक्षाको मागसहित कर्मचारीहरु आन्दोलित भएका हुन् ।


आइतबार जिल्ला प्रशासन कार्यालयमा वार्ता गरी समस्या समाधानको प्रयास गरे पनि सहमति हुन सकेन । सहमति नजिक पुगेको अवस्थामा प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले अस्पताल विकास समितिका दरबन्दी करार र ज्यालादारी कर्मचारीहरुको म्याद ६/६ महिनाका दरले थप्ने बुँदामा सहमति नजनाएपछि वार्ता निष्कर्षविहीन भएको हो ।


प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको पहलमा वार्ता आह्वान गरिएपछि प्रतिष्ठानका तर्फबाट रिजष्ट्रार डा. रामप्रसाद प्याकुरेल सहभागी भएका थिए । सहमतिका बुँदाहरु तयार पारी हस्ताक्षर गर्न थालेको अवस्थामा उपकुलपति भण्डारीले एक बुँदामा सहमत हुननसक्ने जानकारी दिएपछि वार्ता त्यत्तिकै टुंगिएको कर्मचारी संघर्ष समितिका संयोजक हिमलाल गौतमले बताए ।


प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका श्रेणीविहीन कर्मचारीहरुको म्याद थप नगरी हटाउन थालेको र साउनदेखि तलव नपाएको भन्दै कर्मचारी पटकपटक आन्दोलनमा उत्रने गरेका छन् ।अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरुले साउनदेखि र सरकारी करार कर्मचारीले कार्तिकदेखि तलब पाएका छैनन् ।

प्रकाशित : माघ ७, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?