बर्दिया निकुन्जमा स्विप अप्रेसन

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले चोरी सिकारविरुद्ध ‘स्विप अप्रेसन’ सञ्चालन गरेको छ । चोरी सिकार गर्नेहरू निकुञ्जभित्र पसेको जानकारीपछि खोजतलासका लागि विशेष कारबाही अघि बढाएको जनाएको छ ।

बर्दिया निकुन्जमा स्विप अप्रेसन

त्यस्ता व्यक्ति बबई र कर्णाली तटीय क्षेत्रमा लुकेको आशंकामा खोजी कार्य तीव्र पारिएको हो ।


निकुञ्जको संवेदनशील क्षेत्रमा सेना परिचालन भएको निकुञ्जले जनाएको छ । चोरी सिकारका लागि सुरक्षित क्षेत्र मानिने कर्णाली र बबई नदीमा र्‍याफ्टिङ र जंगलमा पैदल तथा साइकलबाट गस्तीलाई तीव्र पारिएको निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको शिव दल गणका गणपति चन्द्रप्रसाद चापागाईंले बताए । निकुञ्जभित्र चोरी सिकार गरेको अभियोगमा एक महिलाबाट तीन थान भरुवा बन्दुकसहित बन्दोबस्तीका सामान बरामद गरेपछि अप्रेसनलाई तीव्रता दिएको उनले बताए ।


‘साउनयता निकुञ्जमा प्रवेश गरी काठ, दाउरा चोर्ने, घाँस काट्ने, ढुंगा, बालुवा अवैध रूपमा उत्खनन गर्ने १ हजारभन्दा बढीलाई कारबाही गरिएको छ,’ उनले भने ।


उत्तरी सुर्खेत र दक्षिणी सीमाबाट चोरी सिकार भइरहेकाले निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले खोजी कार्य जारी राखेको छ । चोरी सिकारमा संलग्न व्यक्ति आसपासमा भएको आशंकामा निकुञ्जभित्र स्विप अप्रेसनमा सेना र निकुञ्जका कर्मचारी परिचालन भएका हुन् । निकुञ्जका अनुसार पहिलोपटक चोरी सिकारीलाई घेरा हाली आत्मसमर्पण गर्न लगाउने र अटेर गरे गोली चलाउने समेत आदेश दिएको बताइएको छ ।


निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुलाई धरापमा पारी मार्ने गरेका ठाउँमा संयुक्त गस्ती परिचालन भएको छ । ती धरापलाई निस्तेज पार्ने निकुञ्जले जनाएको छ । एक साताअघि गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनियास्थित खेतमा राखिएको विद्युतीय करेन्टको पासोमा परेर बाघ मारिएको थियो । निकुञ्जबाट बाहिर निस्कने वन्यजन्तुको रोकथामका लागि थापिएको पासोमा परेर बाघ मारिएको थियो ।


सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले सुरक्षार्थ तैनाथ शिव दल गण र निकुञ्जको संयुक्त गस्ती टोलीले चलाएको अप्रेसनबाट ठूलो सफलता पाउँदै आएको बताए । चोरी सिकारीले वन्यजन्तु मार्ने गरेकामा विगत १० वर्षयता आपराधिक गतिविधि नियन्त्रणमा आएको निकुञ्जका सहायक संरक्षण अधिकृत भण्डारीले दाबी गरे ।


सर्वाधिक चोरी सिकार हुने बबई उपत्यकामा ८ वटा सेनाका पोस्ट तैनाथ भएपछि यस क्षेत्रमा आपराधिक गतिविधिमा कमी आएको उनले बताए । ९ सय ६८ वर्ग किमि क्षेत्रफल रहेको बर्दिया निकुञ्जमा ३२ वटा सेनाका सुरक्षा

पोस्ट रहेका छन् ।


प्रकाशित : माघ ८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?