२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गाउँपालिकाको सार्वजनिक सुनुवाइ, सेवाग्राही असन्तुष्ट

माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिकामा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमप्रति स्थानीय असन्तुष्ट देखिएका छन् । गाउँपालिकाद्वारा शनिबार आयोजित सार्वजनिक सुनुवाइमा शिक्षक, कर्मचारी र अगुवाले विकासका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

गाउँपालिकाको सार्वजनिक सुनुवाइ, सेवाग्राही असन्तुष्ट

गाउँपालिकाले सञ्चालन गरेको कृषि कार्यक्रम ठोस र प्रभावकारी नभएको, धेरै कार्यक्रम प्रचारमुखी भएको एवं प्राविधिक शिक्षा र शिक्षक तालिम प्रभावकारी हुन नसकेको उनीहरूले गुनासो गरे । विद्यालयमा इन्टरनेट जडान गर्न कुनै मापदण्ड निर्धारण नभएको शिक्षकको भनाइ थियो भने गाउँमा खटिने प्राविधिकले हाकाहाकी नगद माग्ने उपभोक्ता समितिका पदाधिकारीको आरोप थियो ।


सार्वजनिक जग्गाको संरक्षणमा कुनै पहल नभएको, विद्युत्का पोल खरिदमा ढिलासुस्ती गरेकाले बत्ती बाल्न नपाएको, बजारमूल्यभन्दा बढी तिरेर पोल खरिद गरिएको, योजना निर्माणको इस्टिमेट प्रतिवेदन ढिलो प्राप्त हुने गरेको सेवाग्राहीले आरोप लगाए । गाउँपालिकाभित्रका होटल, पसल, रेस्टुराँको अनुगमन प्रभावकारी नभएको उनीहरूको आरोप थियो । सबै वडामा खानेपानीको व्यवस्थापन हुनुपर्ने सेवाग्राहीले माग गरे ।


सुनुवाइ कार्यक्रममा सहभागी २५ जनाले यस्ता विषय उठाएका थिए । गाउँपालिकाले आर्थिक वर्षको ६ महिनामा सम्पादन गरेका क्रियाकलापको जानकारी गराएपछि खुला सत्रमा सहभागीले यी विषय उठाएका हुन् । साना हुँगी माविका प्रधानाध्यापक खेमप्रसाद अर्यालले भने, ‘सार्वजनिक जग्गा अतिक्रमण भएका छन् तर गाउँपालिकाले यस विषयमा चासो दिएको छैन ।’ उनले इन्टरनेट जडानका लागि ८ विद्यालय भने पनि स्पष्ट मापदण्ड नहुँदा के कसरी काम गर्ने भन्ने अन्योल भएको गुनासो राखे । रम्भा–३, पीपलडाँडाका रेवतबहादुर रानाले गाउँमा खटिने प्राविधिकले अतिरिक्त रकम माग गर्दै आए पनि यस विषयमा सुनुवा नभएको गुनासो राखे । गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ को पहिलो ६ महिनामा गरेको कार्यक्रम र योजनाका लागि सार्वजनिक सुनुवाइको कार्यक्रम राखेको थियो ।


सेवाग्राहीले कृषि कार्यक्रम ठोस र प्रभावकारी ढंगले सञ्चालन नभएको बताए । प्राविधिक शिक्षा र शिक्षक तालिम प्रभावकारी नभएको बताउँदै सबै वडामा सफा खानेपानीको व्यवस्था हुनुपर्ने माग उनीहरूको थियो । सहभागीले विद्युत् पोल खरिदमा ढिलासुस्ती भएकाले समयमा पोल नपाएको गुनासा पनि पोखे । सेवाग्राही खुमबहादुर पौडेलले गाउँपालिकाभित्र सञ्चालन गरिने होटल, रेस्टुराँ तथा पसलमा उपलब्ध हुने वस्तुको गुणस्तर परीक्षण हुनुपर्ने बताए । पीपलडाँडाका धातानन्द बस्याल, हुँगीका रामप्रसाद भण्डारी, पत्रकार महासंघका कोषाध्यक्ष मिलन विश्वकर्मा, पिपुल्स क्रियसनका मुक्तिप्रसाद न्यौपानेले जनगुनासो स्वाभाविक भएको र यसलाई गाउँपालिकाले मार्गदर्शकका रूपमा लिनुपर्ने सुझाव दिए ।


गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सेवाग्राहीबाट आएका जिज्ञासा मेटाए । उनले सहभागीका सल्लाह र सुझावले आफूहरूलाई मार्गदर्शन गर्ने बताए । ‘प्राविधिकले अतिरिक्त रकम लिएका हुन् भने तत्काल खबर गर्न आग्रह गर्छु,’ उनले भने, ‘सेवाग्राहीको सुझावलाई मनन गरी नमुना गाउँपालिका बनाउने काममा लाग्नेछु ।’ अध्यक्ष भण्डारीले सबै वडामा बर्थिङ सेन्टर (सुरक्षित सुत्केरी केन्द्र) सञ्चालन भएको, तीन स्वास्थ्यचौकीमा ल्याब चलाएको बताए । उनले गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन ढुंगा, गिटी, बालुवाको टेन्डर गरेको, समयमा औषधि खरिद गरेको, शिक्षा सेवा आयोग तयारी कक्षा चलाएको बताए ।


‘सम्पूर्ण वडामा इन्टरनेट सेवा सुरु भएको छ,’ उनले भने, ‘गाउँपालिकाका लागि आवश्यक ३५ वटा ऐन, नियम र कार्यविधि पास भइसकेका छन् ।’ योजनामा उपभोक्ता समिति गठन भएको, कृषि औजारको माग संकलन भएको र खरिद प्रक्रिया अगाडि बढाएको उनले बताए । उपभोक्ता समितिको तालिम, अभिभावक शिक्षा कार्यक्रम, फोक्सिङकोटमा होमस्टेका लागि अभिमुखीकरण चलाएको उनले बताए । हुँगीमा २१ जना महिलालाई ५० प्रतिशत अनुदानमा तान वितरण गरेको, २० प्रतिशत योजना सम्पन्न भएको उनले बताए । ‘कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास कार्यक्रम गरिएको छ,’ उनले भने, ‘सडक मर्मतमा पनि ध्यान दिएका छौं ।’ सबै वडाध्यक्षका लागि मोटरसाइकल खरिद गरेर दिएको पनि उनले सुनाए ।


सार्वजनिक सुनुवाइमा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक राधादेवी श्रेष्ठले पाँचवटा न्यायसम्बन्धी मुद्दा परेको बताइन् । उनले त्यसमध्ये तीनवटा मुद्दामा छलफल गर्न बाँकी रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले साउनदेखि पुस मसान्तसम्ममा भएको कार्यप्रगति विवरण सुनाए ।


लेखा शाखा प्रमुख सन्तोषकुमार थापाले गाउँपालिकालाई उपलब्ध हुने वार्षिक अनुमानित आय ३७ करोड १३ लाख ७० हजारमध्ये पुस मसान्तसम्म १० करोड ८१ लाख २४ हजार रुपैयाँ खर्च भएको बताए । गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले रम्भा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, युवा, महिला, दलित, ज्येष्ठ नागरिक, सडक, विद्युत्, पशुपालन, खेलकुदलगायतका क्षेत्रमा काम गरेको बताए ।


प्रकाशित : माघ ८, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?