कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी कार्यालयले तिरेनन् महसुल

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको पश्चिमी क्षेत्रका स्थानीय तह र सरकारी कार्यालयले विद्युत् महसुल बुझाएका छैनन् । विद्युत् वितरण केन्द्र कृष्णनगरअन्तर्गतका ५ स्थानीय तह र केही सरकारी कार्यालयको महसुल बक्यौता देखिएको छ ।

१७ लाख ३९ हजार रुपैयाँभन्दा बढी महसुल बक्यौता रहेको वितरण केन्द्र प्रमुख लक्ष्मीकेशर अगन्जाले बताए ।


सबैभन्दा बढी विजयनगर गाउँपालिकाले महसुल बुझाउन बाँकी छ । विजयनगर गाउँपालिकाअन्तर्गतका कार्यालयले ८ लाख २ हजार १ सय ५८ रुपैयाँ बुझाएका छैनन् । कृष्णनगर नगरपालिका र मातहत कार्यालयले ५ लाख ४१ हजार २ सय ६३ रुपैयाँ तिर्न बाँकी छ । बुद्धभूमि नगरपालिका मातहत कार्यालयको १ लाख ९६ हजार ५ सय २ रुपैयाँ बक्यौता छ । बुद्धभूमि नगरपालिका मातहत कार्यालयको ३४ हजार १ सय ९५ रुपैयाँ महसुल बक्यौता छ ।


राजपुर स्वास्थ्यचौकीको १ हजार ६ सय १२, दुविया स्वास्थ्यचौकीको २ हजार ३ सय ८२ र महुवा स्वास्थ्यचौकीको ६ हजार ८ सय ९० रुपैयाँ बक्यौता छ । कृषि सेवा केन्द्र बुड्ढीको ४९ हजार ८ सय ३५ र कृषि तथा पशु सेवा केन्द्र हनुमानचोकको २७ हजार ९ सय ६८ रुपैयाँ बक्यौता रहेको विद्युत् वितरण केन्द्र कृष्णनगरले जनाएको छ । महाराजगन्ज नगरपालिकाको १ लाख ५९ हजार ७ सय ९६ रुपैयाँ बक्यौता छ ।


शिवराज नगरपालिकाको ३९ हजार ८ सय ४८ रुपैयाँ बाँकी छ । विद्युत् वितरण केन्द्रले माघ १५ गतेभित्र महसुल बुझाउन समय–सीमा तोकेको छ । उक्त अवधिभित्र नबुझाउनेको विद्युत् लाइन काटिने केन्द्र प्रमुख अगन्जाले बताए । बाँकी महसुलबारे ५ वटै स्थानीय तहलाई पत्राचार गरिएको उनले बताए । सरकारी कार्यालयमा बिजुली काटिँदा सेवाग्राहीलाई समस्या पर्छ । त्यसैले अहिलेसम्म नकाटेको उनले बताए । विद्युत् लाइन काटिएपछि उच्चस्तरीय व्यक्तिको दबाब आउने गरेको उनले बताए । कति महसुल बक्यौता छ भन्ने जानकारी नहुँदा समस्या भएको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरीले बताए ।


‘अहिलेका कार्यालयको बक्यौता होइन,’ उनले भने, ‘पुराना कार्यालयले नबुझाएका कारण समस्या आएको हो ।’ महाराजगन्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालले बाँकी महसुल बुझाउन नसक्ने बताए । ‘पुराना कार्यालयले लापरबाही गरे,’ उनले भने, ‘कहाँबाट स्रोत जुटाएर दिने ?’ पटक–पटक बक्यौता रकमको विवरण ल्याउन आग्रह गरे पनि नल्याउँदा समस्या आएको बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए । नगरसभाबाटै महसुल तिर्न बजेट विनियोजन गरेकाले भुक्तानीका लागि समस्या नरहेको उनले बताए ।


प्रकाशित : माघ ८, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?