कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

घरघरमा करेसाबारी

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका–१ ले ‘एक घर एक करेसाबारी’ कार्यक्रम लागू गरेको छ । पहिलो चरणमा यो अभियान साढे २ सय घरबाट सुरु गरिएको हो ।

घरघरमा करेसाबारी

२ वर्षभित्र शतप्रतिशत घरमा अनिवार्य रूपमा करेसाबारी हुनेछन् । त्यसका लागि वडा कार्यालयले निर्णय गरिसकेको छ ।


‘करेसाबारी नबनाउनेलाई वडाबाट दिने सिफारिसलगायतका सरकारी सुविधा रोक्ने निर्णय गरेका छौं,’ वडाध्यक्ष प्रमोद रिजालले भने, ‘साढे २ सय घरमा करेसाबारी बनिसकेको छ । थप बन्ने क्रममा छन् ।’ वडाले घरछेउका जग्गा खाली नगर्न स्थानीयसित आग्रह गरेको छ । यसले स्थानीयले तरकारी उत्पादन गर्न थालेका छन् । वडा कार्यालयले बीउ वितरण तथा जैविक मल बनाउने सीप सिकाइरहेको छ ।


‘करेसाबारी कार्यक्रमले जग्गा खाली छैनन् । रासायनिक मल र विषादीको प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘अब भारतीय तरकारीमा भर पर्नु पर्दैन ।’ अभियानका कारण आफ्नो बारीमा आफैं तरकारी फलाउने बानीको विकास भइरहेको उनले बताए । विषादी प्रयोग नगरिएका तरकारीको प्रयोगले स्थानीयको स्वास्थ्यमा असर पार्दैन ।


पैसाको बचत पनि हुन थालेको छ । उक्त वडा तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । कार्यक्रम सफल बनाउन वडाले दुई कृषिविज्ञ नियुक्त गरेको छ । उनीहरूले जैविक मल बनाउन र थोरै जग्गामा तरकारी खेती गर्ने विधिबारे जानकारी दिइरहेका छन् । स्थानीयलाई भेला गरेर करेसाबारीबारे तालिम दिइरहेका छन् ।


करेसाबारीका लागि जग्गा नभएका परिवारका लागि कौसीमा करेसाबारी कार्यक्रम ल्याइएको छ । तर, कौसीमा तरकारी खेती भने केही महँगो विधि हो । त्यसका लागि नेपालगन्ज उपमहानगर र कृषिसम्बन्धी सरोकारवालासँग सहकार्य गरिएको छ ।


कृषिविज्ञका रूपमा काम गरिरहेका हेमराज पोखरेलका अनुसार करेसाबारी अभियानले स्थानीयलाई तरकारीमा आत्मनिर्भर बनाइरहेको बताए । उनले थोरै जग्गामा पनि आफूलाई पुग्ने तरकारी सबैले गर्न सक्ने सुझाए ।


‘जग्गा नभएका स्थानीयले कौसीमा पनि तरकारी फलाउन सक्छन् । घरअगाडिको खुला भागमा पनि तरकारी मजाले गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रो वडालाई तरकारीमा नमुना बनाउने गरी काम गरिरहेका छौं ।’


उनले तरकारीको बीउ पनि उत्पादन गर्ने जनाए । ‘पारिको तरकारीले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ । परनिर्भरता बढाएको छ,’ उनले भने, ‘त्यसको अन्त्य गर्न करेसाबारी प्रभावकारी बन्दै गएको छ । एक/दुई वर्षमै यहाँका स्थानीयले बाहिरको तरकारी किन्ने छैनन् ।’


अर्का विज्ञ विन्दु सापकोटाले जैविक मल उत्पादनबारे स्थानीयलाई जानकारी दिइरहेका छन् । यसरी तयार गरिएको जैविक मलले तरकारीमा कीरा नलाग्ने उनले बताए । ‘जैविक मल आफैंले बनाउन सकिन्छ । यसले मल र विषादीको काम गर्छ,’ उनले भने, ‘यसरी उत्पादन गरेको तरकारी पूर्ण रूपमा स्वस्थकर हुन्छ । स्वास्थ्यमा कुनै असर गर्दैन ।’

प्रकाशित : माघ ८, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?