कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सीताराम निरन्तर बडघर

‘गाउँका लागि स्वयंसेवीका रूपमा काम गर्नुपर्ने भएकाले स्थानीय युवा बडघर बन्न तयार हुँदैनन्’
ठाकुरसिंह थारु

नेपालगन्ज — नेतृत्वका लागि हरेक ठाउँमा प्रतिस्पर्धा हुन्छ । लडाइँ नै चल्छ । टोलमा गठन हुने सामान्य समूहका लागि समेत निर्वाचन हुन्छ । राजनीतिक आस्थाका आधारमा नेतृत्वका लागि विवाद हुनु नौलो कुरा पनि रहेन । तर, राप्ती सोनारी गाउँपालिका–६ गुलरी गाउँका सीताराम चौधरीको भने कसैसँग प्रतिस्पर्धा नै हुँदैन ।

सीताराम निरन्तर बडघर

उनका विरुद्ध कोही उठ्दै उठ्दैन । यसपल्ट पनि उनी निर्विरोध बडघर चयन भए । उनी बडघर चुनिएको यो २८ औं अवसर हो । १५ वर्षको उमेरमा उनी पहिलोपटक बडघर चुनिएका थिए ।


सोमबार भएको गुलरी गाउँका स्थानीयको भेलाले उनलाई सर्वसम्मत अगुवा चुनेको हो । उनले यस वर्ष बडघर हुने मन गरेका थिएनन् । ‘गाउँका कोही बडघर बन्न चाहँदैनन् । समाजका लागि बिनापारिश्रमिक काम गर्नुपर्ने भएर पनि होला,’ उनले भने, ‘बडघर भएपछि रात–दिन गाउँका लागि काम गर्न खटिनुपर्छ ।’


बडघरको नेतृत्वका लागि एक वर्षको समय दिइन्छ । समुदायको हितमा काम गर्न नसक्ने बडघरलाई एक वर्षपछि हटाउन सकिने चलन छ । धेरैजसो गाउँमा बडघरका लागि निर्वाचन हुने गरेको छ । बडघरको निर्देशनलाई गाउँभरिका स्थानीयले मान्ने भएका कारण राजनीतिक दलका नेताहरू पनि आफ्नो पक्षका मानिसलाई बडघर बनाउन मरिहत्ते गर्छन् ।


तर, सीताराम अपवाद हुन् । जसले २८ वर्षदेखि निरन्तर बडघर बन्ने अवसर पाएका छन् । ‘के गर्नु, गाउँको भेलाले मलाई नै फेरि बडघर बनायो । सबैले आग्रह गरेपछि नाइ भन्न पनि सकिनँ,’ बडघरका रूपमा चुनिएपछि उनले कान्तिपुरसँग भने, ‘बडघरको भूमिकाका लागि एक वर्ष फेरि जिम्मेवारी थपिएको छ । सबैको राय–सुझावले गाउँको सेवामा लाग्ने अठोट गरेको छु ।’


बडघरको नेतृत्वलगत्तै उनले केही नयाँ नियम बनाएका छन् । बिहे, मृत्यु संस्कार, सार्वजनिक कार्य गर्न गुलरीका स्थानीयले उनको नेतृत्वमा नयाँ नियम पारित गरेका हुन् । गाउँमा बिहे हुँदा डोली बोक्दा एक कोशको ४० रुपैयाँ, डोलीमा बस्दा ५ रुपैयाँ, बिहे घरमा काम गरेबापत ५ सय ५१ रुपैयाँ, चौकीदारले प्रतिबिहे २० रुपैयाँ लिने नियम बनाइएको छ । ‘सबैको सहमतिमा नयाँ नियम बनाइएको हो,’ उनले भने ।


सर्वसम्मत रूपमा बडघर बन्दै आएका सीतारामका बाजे र बुबा पनि बडघर नै थिए । पुर्खाले बडघरको भूमिका निर्वाह गर्दै आएको भन्दै स्थानीयले उनलाई यसपल्ट पनि अगुवा स्वीकारेका हुन् । पुर्खाले सुरु गरेको बडघर प्रथालाई उनले पनि कुशलतापूर्वक अगाडि बढाइरहेका छन् ।


गाउँका लागि स्वयंसेवीका रूपमा काम गर्नुपर्ने भएकाले स्थानीय युवा बडघर बन्न तयार नभएको उनले बताए । घरको काम छाडेर भए पनि समुदायका लागि बडघर खटिनुपर्छ । बडघरले कुनै पारिश्रमिक पाउँदैनन् । गाउँको विकासको अगुवाइ बडघरले नै गर्नुपर्छ । खानेपानी, कुलो, सिँचाइ, सडक मर्मत, विकास निर्माणका काममा श्रमदान र गाउँको नीति नियमलाई बडघरले कार्यान्वयन गर्नुपर्छ ।


त्यस्तै, झारफुक र देवीदेउताको पूजाका लागि गुरुवा र सहायक गुरुवा चयन गरी बडघरले नै उनीहरूलाई निर्देशन दिन्छन् । गाउँको सुरक्षाका लागि चौकीदार उनैले परिचालन गर्नुपर्छ । गाउँमा हुने बिहेबारीमा बाहिरबाट आउने जन्तीको स्वागत पनि बडघरकै जिम्मा हुन्छ ।

प्रकाशित : माघ ९, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?