१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कर्मचारी नहुँदा सेवा प्रभावित

नयाँ कार्यक्रम सुरु हुन सकेको छैन । काम सुरु गर्न लागेका किसान प्राविधिकको अभावमा मर्कामा परेका छन्
माधव अर्याल

पाल्पा — कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने अभियान थालेको रम्भा गाउँपालिका ६ महिनादेखि कर्मचारीविहीन छ । गाउँपालिकाले गाउँसभाबाट ५ वटै वडामा कृषि र पशुपालनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आत्मनिर्भर बनाउने घोषणा गरेका थिए ।

५ वडाका लागि झन्डै २ करोड बजेट विनियोजन गरेको थियो । तर, साउनदेखि कर्मचारी नहुँदा त्यसतर्फ ध्यानसमेत पुग्न सकेको छैन । ‘गाउँपालिका अध्यक्षले बोलिदिए भयो,’ शुक्रबार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइका सहभागी किसानले भने, ‘काम गर्नुपर्दो रहेनछ ।’


गाउँपालिकाअन्तर्गतको कृषि र पशु शाखामा साउन महिनादेखि कर्मचारी नहुँदा नियमित सेवाग्राही मर्कामा परेका छन् । नयाँ कार्यक्रम केही पनि सुरु हुन सकेको छैन । व्यावसायिक र काम सुरु गर्न लागेका किसान प्राविधिकको अभावमा मर्कामा परेका छन् । लामो समयदेखि दुई शाखामा एकजना पनि कर्मचारी छैनन् ।


कर्मचारी नहुँदा सेवा प्रवाहमा असर परे पनि गाउँपालिकाले भने बेवास्ता गर्दै आएको किसानको गुनासो छ । हुँगी, पीपलडाँडा, फोक्सिङकोट गाउँमा व्यावसायिक किसान छन् । हुमिन र ताहँुमा पनि पछिल्लो समय व्यावसायिक किसान बढेका छन् । उनीहरूले पनि सेवा पाउनबाट वञ्चित भएको गुनासो गरे ।


रम्भा गाउँपालिका–३ पीपलडाँडाका कृषक लीलानाथ बस्यालले ६ महिनादेखि सेवा पाउन नसकेको गुनासो गरे । ‘तरकारी खेतीमा कीरा लागेको भनेर पटक–पटक गाउँपालिकालाई जानकारी दिएँ,’ उनले भने, ‘जति भन्दा पनि प्राविधिक आएनन् ।’ उनीजस्ता धेरैले यहाँ लाखौं लगानी गरेर तरकारी खेती गरेका छन् । गाउँपालिकाका प्राविधिक नआउँदा आफूहरूले घाटा बेहोर्नुपरेको उनले गुनासो गरे । गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा धेरै किसानले यस्ता गुनासा राखेका थिए ।


अर्का किसान तुल्सीराम अर्यालले तरकारी कृषक मात्र होइन, पशुपालन गर्नेलाई पनि समस्या भएको बताए । उनले पाल्दै आएको गाईलाई कृत्रिम गर्भाधान गराउने प्राविधिक नभएको बताए । ‘कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने घोषणा गरेको सुनियो,’ उनले भने, ‘६ महिनादेखि प्राविधिक नपाएपछि कसरी आत्मनिर्भर हुन सक्छ ?’ स्थानीय किसान र पशुपालक स्थानीय तहबाट सबै अधिकार पाइने आशामा थिए । गाउँपालिकाले आवश्यक प्राविधिक व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ ।


कृषक पशुपालन र तरकारी व्यवसायमा निरास भएको कृषि सञ्जालका उपाध्यक्ष भुवन नेपालीले बताए । ‘यसरी महिनौंसम्म प्राविधिक नहुँदा स्थानीय सरकार मौन बस्नु गलत हो,’ उनले भने, ‘सबैलाई मर्का परेको कुरा भए पनि कसैलाई वास्ता छैन ।’ किसानहरू धेरैपटक गाउँपालिकामा जानकारी गराउन आए पनि बेवास्ता गरेको बताए । उनीहरूले जनताको सुख–दु:खमा

साथ दिने स्थानीय सरकार भए/नभएको थाहा नपाएको गुनासो पोखे ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालका अनुसार चालु आर्थिक वर्षको सुरु अर्थात् गएको साउनदेखि कृषि र पशु शाखामा एकजना पनि कर्मचारी छैनन् । उनले दुर्गमको ‘ख’ वर्गमा परेको गाउँपालिका भएको भन्दै यसमा आफूले केही गर्न नसक्ने बताए । ‘दुर्गम भनेर यहाँ नबसेका होलान्,’ उनले भने, ‘आउनेहरू घरपायक पाएपछि हिँडेका होलान् जस्तो लाग्छ ।’ कृषि शाखामा प्राविधिक सहायक रामप्रसाद खनाल थिए । उनी अध्ययन बिदामा बसेका छन् । आउने चैतसम्म उनको अध्ययन बिदा छ । पशु विकास शाखामा पनि प्राविधिक सहायक तुलसीराम काफ्ले थिए ।


प्रशासकीय अधिकृत ढकालका अनुसार भएका कर्मचारी घरपायक मिलाएर हिँडे । उनी स्याङ्जाको भीरकोट नगरपालिकामा सरुवा भए । त्यसपछि अहिलेसम्म सरकारले नखटाएको अधिकृत ढकालले बताए । ‘हामीले कर्मचारी माग्न पाइन्छ,’ उनले भने, ‘तर माग्ने कोसँग भन्ने भयो ।’


सरकारले स्थानीय तहमा जाने भनेर धकेलेर पठाएको भन्ने सुने पनि अहिलेसम्म यहाँ कोही नआएको उनले बताए । उनका अनुसार गाउँपालिकाले जिल्ला समन्वय र प्रशासन कार्यालयमा जानकारी गराएको छ । भएको बजेट खर्च गर्न पनि प्राविधिक नहुँदा समस्या भएको छ । अहिलेसम्म कृषि र पशुपालनका क्षेत्रमा कार्यक्रम हुन सकेको छैन । गहुँ र आलुको बीउ खरिद गरेर वितरण गरेको उनले बताए ।


कृषि सामग्री खरिदका लागि टेन्डर आहान गरेको छ । ‘किसानलाई प्रत्यक्ष सेवा दिन सकिएको छैन,’ उनले भने, ‘भएका कर्मचारी सरुवा भएर गएपछि केही काम गर्न नसकिएको अवस्था छ ।’ गाउँपालिकाका अनुसार पीपलडाँडा र ताहुँमा दुई जना पशु विकास शाखाका कर्मचारी छन् । कृषिको भने कुनै पनि वडामा प्राविधिक छैनन् । पशु र कृषिसम्बन्धी विभिन्न समस्या लिएर आएका किसानलाई कर्मचारी छैनन् भनी फर्काउन परेको उनले बताए । ‘कर्मचारी समायोजन प्रक्रिया टुंगिएपछि आउँछन् भन्ने आशा छ,’ उनले भने ।


गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले दुर्गम गाउँपालिका भएकाले यहाँ कर्मचारी नबस्ने जवाफ दिए । सिद्धार्थ राजमार्गको लसुने (पीपलडाँडा) बाट २ किलोमिटर भित्री सडकको खोकखोलामा गाउँपालिका कार्यालय छ । कर्मचारीले घरपायक र भौगोलिक सुविधा खोज्ने भएकाले नबसेको उनले बताए । ‘कतिपय आउनै मान्दैनन्,’ उनले भने, ‘आएका कर्मचारी पनि छिट्टै सरुवा मागेर हिँड्ने समस्या छ ।’ अबको केही महिनाभित्रमा कर्मचारी नआए यसको विकल्प खोजिने उनले बताए ।

प्रकाशित : माघ ९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?