कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अक्षरांकन पद्धतिले शैक्षिक गुणस्तर खस्किँदै

एसएलसी परीक्षामा विद्यार्थी पास हुने दर नबढेपछि शिक्षा मन्त्रालयले ३ वर्ष पहिले लेटर ग्रेडिङ प्रणाली अर्थात् अक्षरांकन पद्धति लागू गरेको थियो 
अमृता अनमोल

बुटवल — अक्षरांकन परीक्षा पद्धतिले शिक्षाको गुणस्तर र विद्यार्थीको सिकाइ उपलब्धि खस्किँदै गएको सरोकारवालाहरूले बताएका छन् । यसले नपढे पनि माथिल्लो कक्षा चढ्न पाइन्छ भन्ने बुझाइ विद्यार्थीमा विकास भएको उनीहरूको तर्क छ । यही सोच शिक्षकमा भएकाले उनीहरूमा पनि मिहिनेत गर्ने क्रम घटेको उनीहरूले बताए । 

अक्षरांकन पद्धतिले शैक्षिक गुणस्तर खस्किँदै

राष्ट्रिय परीक्षा बोर्ड योजना अनुगमन तथा मूल्यांकन महाशाखाले सोमबार यहाँ अक्षरांकन पद्धति विषयक कार्यशाला गोष्ठी आयोजना गरेको थियो । सहभागी शिक्षक र विज्ञले अंक नदिने प्रणाली लागू गरिनु गलत भएको बताए । रूपन्देहीका पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले अक्षरांकन प्रणाली अनुसार फेल भइँदैन भनेपछि विद्यार्थीले मिहिनेत गर्न छाडेको बताए ।


‘अहिले विद्यार्थीले पास हुन धेरै मिहिनेत गर्नुपर्ने छैन । शिक्षकलाई पनि विद्यार्थी पास भए भएनन् भन्ने चिन्ता छैन,’ उनले भने, ‘पाठ्यक्रम र परीक्षाको मापदण्ड सुधार नगरी जाँच दिनासाथ पास हुने प्रणालीले गुणस्तर खस्किएको छ ।’ एसएलसी परीक्षामा विद्यार्थी पास हुने दर नबढेपछि शिक्षा मन्त्रालयले ३ वर्ष पहिले लेटर ग्रेडिङ प्रणाली अर्थात् अक्षरांकन पद्धति लागू गरेको थियो ।


अहिले कक्षा ८ देखि १२ कक्षासम्मको परीक्षा यही पद्धतिबाट लिने गरिएको छ । यस पद्धतिमा विद्यार्थी अनुत्तीर्ण हुँदैनन् । परीक्षा दिएका सबै विद्यार्थी उत्तीर्ण हुन्छन् । शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालित कार्यक्रमको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठेपछि लाज ढाक्न बिनातयारी अक्षरांकन पद्धति लागू गरेको सरोकारवालाको आरोप छ ।


होराइजन माविका शिक्षक गोपालप्रसाद आचार्यले कमजोर विद्यार्थीलाई सान्त्वना दिन ल्याएको अक्षरांकन पद्धतिले पढ्ने र मिहिनेती विद्यार्थीलाई अन्याय गरेको बताए । ‘मेधावी विद्यार्थी धेरै मिहिनेत गरेर नतिजा ल्याउन चाहन्छन् तर यसले १० अंकको अन्तरमा मात्रै मूल्यांकन गरेको छ,’ उनले भने, ‘यसले मिहिनेती विद्यार्थी निरुत्साहित भएका छन् ।’


अक्षरांकन परीक्षा पद्धतिमा विद्यार्थीको सिकाइ उपलब्धि मापनको आधार अंक हो । यसमा कार्यस्तरको अंकन गर्ने वा मापन गर्ने गरी एउटा निश्चित आधारमा तह वा श्रेणी तोकिन्छ । परीक्षामा प्राप्त गर्ने अंकलाई आधार मानेर ‘ए प्लस’ देखि ‘ई’ सम्मको ग्रेड दिने गरिएको छ । त्यसमा १० अंकको अन्तरमा अक्षरबाट मापन गरिने गरिएको छ । एसईई परीक्षामा ५९ प्रतिशतभन्दा बढी विद्यार्थीले ‘सी प्लस’ भन्दा कम ग्रेड ल्याएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष सिकाइ उपलब्धिबारे अध्ययन गरेको थियो ।


त्यसमा ८ कक्षाका विद्यार्थीको समग्र सिकाइ उपलब्धि ४५ प्रतिशतभन्दा कम देखिएको थियो । गणित, विज्ञान र सामाजिकमा सिकाइको स्थिति झन् नाजुक छ । यो नतिजा बाहिरिएपछि अहिले कक्षा ८ देखि नै अक्षरांकन पद्धतिमा परीक्षा लिन थालिएको छ । गुणस्तर बढाउन नसकेपछि विदेशी दातृ निकायलाई खुसी पार्न अक्षरांकन प्रद्धति प्रयोग गरेको सरोकारवालाले आरोप लगााए ।


‘विगतमा कम विद्यार्थी पास भएको भन्दै आलोचना धेरै हुने गथ्र्यो । पछिल्ला वर्षमा यस्तो हुँदैन,’ नवीन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले भने, ‘तर, विद्यार्थीको सिकाइ उपलब्धि र मिहिनेत गर्ने बानी धेरै तल झरेको छ ।’ गुणस्तरीय शिक्षा कायम गर्ने हो भने ग्रेडिङ प्रणालीमा विद्यार्थीको नियमित मूल्यांकन हुनुपर्ने सरोकारवालाले बताए ।


विद्यार्थीलाई फारम भर्न लगाएर पढाइको स्तर नियमित जाँच गर्ने हो भने मात्रै अक्षरांकन पद्धति उचित हुने उनीहरूले बताए । यो पद्धतिले विद्यार्थीलाई पनि समस्यामा पारेको अभिभावकको गुनासो छ । ‘बाहिर सबै विद्यार्थी पास भनिए पनि ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले माथिल्लो तह पढ्न भर्ना पाउँदैनन्,’ अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले भने, ‘विद्यार्थी पास पनि भएको छ तर आफूले पढ्न चाहेको विषय पनि पढ्न पाउँदैन, यसले विद्यार्थीलाई अघि बढ्न रोकेको छ, यो अर्थहीन छ ।’


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने अक्षरांकन पद्धतिले विद्यार्थीलाई विभिन्न विकल्प दिएको दाबी गरे । ‘हिजो विकल्प बन्द थियो तर आज ग्रेड अनुसार अघि बढ्ने विकल्प छ,’ उनले भने, ‘यो पद्धतिले अनुत्तीर्ण नगर्ने मात्र होइन, उत्तीर्ण पनि गर्दैन भन्ने बुझाइ स्पष्ट गरेको छ ।’ विद्यार्थीको क्षमता र ज्ञानको सक्षमताको प्रमाणीकरण गरिदिने र भावी बाटो कुन सहज हुन्छ भनेर आफंै छनोट गर्न प्रेरित गरेको उनले बताए । एक विषयमा कमजोर भए पनि अर्को विषयबाट अगाडि बढ्न र सफलता हासिल गर्न पनि अक्षरांकन पद्धतिले सहयोग गरेको उनको दाबी छ ।


परीक्षामा अनुत्तीर्ण हुँदा पर्ने मानसिक दबाब र तनावको अवस्थालाई सुधार्न अक्षरांकन पद्धतिलाई विद्यालयका सबै तहमा लागू गर्न लागिएको छ । प्राध्यापक गणेशबहादुर सिंहले अक्षरांकन पद्धतिले मिहिनेत गरेपछि अगाडि बढ्न सकिन्छ र असफल हुँदैमा जीवन बर्बाद हुँदैन भन्ने सन्देश दिएको बताए । ‘तर, विद्यालय, शिक्षक र अभिभावकले सानै उमेरदेखि सही मूल्यांकन र पृष्ठपोषण दिन सक्ने गुणात्मक वातावरण भने हुनुपर्छ,’ उनले भने, ‘विद्यार्थीलाई जागरुक र मिहिनेती बनाउन शिक्षकले पनि परीक्षामा आधारित शिक्षण गराउन छोड्नुपर्छ ।’

प्रकाशित : माघ ९, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?