कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नक्कली छोरा बनाएर नाता प्रमाणित

कमल पन्थी

बर्दिया) — गुलरिया नगरपालिका–८ का वडाध्यक्ष धर्मेन्द्र बानियाँले झूटो विवरणका आधारमा नाता प्रमाणित गरेको खुलेको छ । नक्कली छोरा बनाएर नाता प्रमाणित गरेको भन्दै जिल्ला प्रशासनले 
छानबिन अघि बढाएको छ । 

वडाका बासिन्दा रंगीलाल गुप्ताको मृत्यु भइसकेको छ । गुप्ताका छोराद्वय प्रदीप र सन्दीपलाई प्रवीनकुमार पोंरवारका छोरा भएको प्रमाणित गरेका हुन् । गुप्ताको ९ वर्षअघि मृत्यु भएपछि उनकी पत्नी कल्पना सुनार गुप्तालाई पोंरवारले विवाह गरेका थिए ।


गुप्ताबाट जन्मेका दुई छोरालाई आफ्नै भएको भन्दै वडाध्यक्ष बानियाँको मिलेमतोमा नाता प्रमाणित गरेको स्थानीय प्रशासनले जनाएको छ । ०७४ फागुन ११ गते वडाध्यक्ष बानियाँले परिवारका छोरा भएको प्रमाणित गरेका थिए ।

वडाध्यक्षले हस्ताक्षर गरेको नाता प्रमाणितपत्रको चलानी नम्बर ११९१ रहेको छ । चलानी नम्बर अभिलेखमा उल्लेख भए पनि कुनै कागजात वडामा भेटिएको छैन । यसैगरी पोंरवारले नाता प्रमाणितका लागि दिएको निवेदन दर्ता पुस्तिकामा उल्लेख छैन । वडाध्यक्ष बानियाँले नाता प्रमाणित गरेका कुनै पनि कागजात नराखेको वडा कार्यालय स्रोतले बतायो ।


०७१ चैत २३ गते कल्पनासँग विवाह गरेपछि नगरपालिकामा विवाह दर्ता गराइएको छ । पोंरवारले प्रदीप र सन्दीपलाई आफ्नै छोरा भन्दै नाता प्रमाणित गरेको उजुरीका आधारमा छानबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।


छोरा र बाबुको उमेर ६/७ वर्ष फरक देखिएको स्थानीय प्रशासनले जनाएको छ । ‘धर्म छोरा नबनाई आफ्नै छोरा भन्दै नाता प्रमाणित गर्न मिल्दैन,’ प्रजिअ कुरुम्बाङले भने, ‘यो सरासर किर्ते काम भएको देखिएकाले प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।’ प्रदीपले रंगीलाल बाबु भएको नागरिकता ०७० वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट प्राप्त गरेको देखिन्छ । उनीसँग तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवी गिरीले हस्ताक्षार गरेको नाप्र नं. ६५.०१.७०.०००३७ को नेपाली नागरिकता रहेको छ ।


रंगीलालको मृत्यु दर्ता ०६८ सालमा गुलरिया नगरपालिकामा गराउनुका साथै नाता प्रमाणित वडाबाट गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार ०७१ चैत २३ गते २९ वर्षीय पोंरवारले ३९ वर्षीय सुनारलाई विवाह गरेको उल्लेख छ । वडाध्यक्ष बानियाँको पोंरवार नातेदार हुन् । वडाध्यक्ष बानियाँले नाता प्रमाणित सिफारिस गर्दा गल्ती भएको स्वीकारेका छन् । ‘सबै कागजात नेपालगन्जस्थित पोंरवारबाट आइतबार झिकाइएको छ,’ उनले भने, ‘कागजात आइसकेपछि बदर गर्नेछु ।’


वडा कार्यालय स्रोतले अध्यक्षबाट नाता प्रमाणित गरेका पोंरवारका कागजात फिर्ता आएको छैन । पोंरवारले नक्कली छोरा बनाएका सन्दीपले नगरपालिकामा ०७४ सालमा जन्म दर्ता गराएको देखिन्छ ।

प्रकाशित : माघ १४, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?