इँटाको बिमा नहुँदा व्यवसायी मर्कामा

माधव ढुंगाना

भैरहवा — इँटा व्यवसायी अजयकुमार गुप्ताले यस सिजनको पहिलो इँटा पोल्ने साइत आइतबारलाई जुराएका थिए । दुई दिन पहिल्यै अचानक शुक्रबार वर्षा भयो ।

इँटाको बिमा नहुँदा व्यवसायी मर्कामा

वर्षाले पोल्नका लागि तयारी अवस्थामा राखिएको १५ लाख गोटाभन्दा धेरै काँचो इँटा गलेर नष्ट भए । इँटा उत्पादन गर्ने मुख्य सिजन भएकाले पोल्नका लागि धेरै परिमाणमा बनाइएका सबै काचा इँटा बेमौसमी वर्षाबाट जोगाउन सम्भव भएन ।


‘इँटा उत्पादन गर्ने मुख्य सिजन हिउँद हो,’ लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रूपन्देहीका महासचिवसमेत रहेका गुप्ताले भने, ‘हिउँदका बेला कति बेला वर्षा हुन्छ, पत्ता लगाउन नसकिँदैन । अकस्मात् पर्ने बेमौसमी वर्षाले जहिले पनि इँटा व्यवसायीलाई नोक्सान पुर्‍याउने गर्छ ।’ यसपटकको बेमौसमी वर्षाले आफ्नो मात्रै झन्डै ४५ लाख रुपैयाँको काँचो इँटा गलेर नष्ट भएको उनले दाबी गरे ।


अर्का इँटा व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य गोविन्द ज्ञवालीले पनि बेमौसमी वर्षाले आफ्नो लाखौं रुपैयाँको काँचो इँटा नोक्सान भएको बताए । शुक्रबारको बेमौसमी वर्षाले गुप्ता र ज्ञवालीको मात्रै नभएर रूपन्देहीका ४ दर्जन इँटा उद्योगमा पोल्न तयार राखिएका लाखौं काँचो इँटा गलेर माटोमा परिणत भएका छन् । रूपन्देहीमा मात्रै एक दिनको बेमौसमी वर्षाले ५ करोडभन्दा धेरै काँचो इँटा गलेर नष्ट भएको र यसबाट कम्तीमा २० करोड रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान संघले गरेको छ ।


बेमौसमी वर्षाले निम्त्याएको यो घटना नौलो भने होइन । हरेक वर्ष यसरी नै घटना दोहोरिने गरेको छ । व्यवसायीले आर्थिक नोक्सानी बेहोर्नु परेको छ । उनीहरूले आफ्नो नोक्सानी असुलउपर गर्न मूल्य वृद्धि गर्छन् । जसको मार आमउपभोक्ताले खेप्नुपर्ने हुन्छ । काँचो इँटाको बिमा गर्ने प्रावधान नभएकाले बर्सेनि व्यवसायी र उपभोक्ताले मार खेपिरहेका छन् । काँचो इँटाको बिमा गर्नेतर्फ सरकारले कुनै पहल गरेको छैन ।


काँचो इँटाको बिमा गर्ने व्यवस्थाका लागि बारम्बार माग गरिरहँदा पनि सरकारले कुनै चासो नदेखाएको आरोप व्यवसायीले लगाउँदै आएका छन् । खुला आकाशमुनि गरिनुपर्ने यस व्यवसायमा धेरै जोखिम मोल्नुपर्ने भएकाले व्यवसायीले काँचो इँटाको बिमा गर्न पाउनुपर्ने माग बारम्बार राख्दै आए पनि कुनै सुनुवाइ नभएको व्यवसायी ज्ञवालीले बताए । ‘हामीले काँचो इँटाको बिमा गर्न पाउनुपर्ने माग बारम्बार सरकारसमक्ष राख्दै आए पनि अहिलेसम्म साकार हुन सकेको छैन,’ उनले भने, ‘हरेक वस्तुको बिमा हुने तर काँचो इँटाको बिमा किन नहुने ? सरकारले स्पष्ट पार्न सकेको छैन ।’


व्यवसाय गर्न बैंकले ऋण दिने, गाडी, चालक, चिम्नी, मजदुर सबै कुराको बिमा हुँदा काँचो इँटाको मात्र बिमाको सुविधा नपाइएको उनले बताए । व्यवसायीका अनुसार प्रतिगोटा काँचो इँटा तयार पार्न साढे ३ रुपैयाँ लागत लाग्ने गर्छ । पकाउनका लागि भट्टाभित्र राखिएका इँटा मात्र सुरक्षित छन् । एउटा भट्टामा क्षमता अनुरूप ५ देखि ८ लाख गोटा इँटा अटाउने गर्छन् ।

हरेक वर्षको माघको पहिलो हप्तादेखि जेठको पहिलो सातासम्म इँटा उत्पादन गर्ने गरिन्छ । सामान्यतया एक सिजनमा ४ पटकसम्म काँचो इँटा पोलेर तयार गरिने भएकाले व्यवसायीले काचो इँटा तयार पारेर खेतमा चाङ लगाउँदै घाममा सुकाएर राखेका थिए । यसपटकको बेमौसमी वर्षाले धेरै आर्थिक नोक्सानी गरेकाले आवश्यकता अनुरूपको इँटा उत्पादनमा कमी आउन सक्ने सम्भावना रहेको व्यवसायीले बताएका छन् ।


बेमौसमी वर्षाले रूपन्देहीमा मात्र नभएर कपिलवस्तु र नवलपरासीमा समेत नोक्सानी पुर्‍याएको छ । मुलुकका यी तीन जिल्ला इँटा उत्पादन गर्ने मुख्य स्थान हुन् । यहाँबाट काठमाडौं, पोखरालगायतका पहाडी जिल्लामा इँटा आपूर्ति हुन्छ । इँटा पोल्ने भट्टी सञ्चालन हुने सिजनमै प्रत्येक वर्ष हुने वर्षाका कारण उद्योगीहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परे पनि लगानी सुरक्षित गर्नेतर्फ सरकार उदासीन रहेको गुनासो महासचिव गुप्ताको छ । काँचो इँटा बढी जोखिमपूर्ण हुने हुँदा बिमा कम्पनीहरूसमेत यसबाट पछि हटेको आरोप उनले लगाए । पोल्नका लागि भट्टीमा लैजान तयार भएका काँचो इँटा वर्षाका कारण नष्ट भएपछि २५ प्रतिशतसम्म उत्पादनमा कमी आउने दाबी व्यवसायीको छ ।

प्रकाशित : माघ १४, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?