कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘रुकुमकोटमै स्थायी सदरमुकाम बनाऊ’

हरि गौतम

रुकुम पूर्व — रुकुमकोट र आसपासका बासिन्दाले सदरमुकाम स्थायी बनाउन आन्दोलन सुरु गरेका छन् । अस्थायी सदरमुकाम रुकुमकोटलाई नै स्थायी बनाउनुपर्ने माग राखेर सर्वसाधारणले सोमबार साँझदेखि आन्दोलन सुरु गरेका हुन् । यस्तै माग राखेर एक वर्षअघि लामो समय आन्दोलन भएको थियो । सोमबारदेखि उक्त आन्दोलनलाई नै निरन्तरता दिइएको हो । 

संघर्ष समितिले सोमबार साँझ यहाँ प्रदर्शन गरेको थियो । प्रत्येक दिन साँझ जुलुस र दिउँसो सरकारी कार्यालयमा धर्ना दिने कार्यक्रम सुरु गरेको हो । संघर्ष समिति संयोजक नन्दलाल शर्माले सर्वसाधारणको भावनाको कदर गर्दै आन्दोलन सुरु गरिएको बताए । रुकुमकोट र आसपासका सर्वसाधारण २०७४ माघ ११ देखि आन्दोलनमा छन् । रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि यसलाई अस्थायी सदरमुकाम तोकिएको थियो । पछिल्लो समय जिल्लामा आवश्यक कार्यलय पनि रुकुमकोटमा स्थापना गरिएका छन् ।


०७४ माघ ११ गतेको मन्त्री परिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडा कायम गर्ने निर्णय गरेसँगै रुकुमकोट र त्यस आसपासवासीले आन्दोलन थालेका थिए । सुरुवाती चरणमा प्रमुख जिल्ला अधिकारीलाई कार्यालयभित्र थुन्नेदेखि बजार ठप्प पारेका थिए । सरकारी निर्णय खारेजी माग गर्दै सर्वोच्चमा मुद्दा परेपछि आन्दोलनका कार्यक्रम कम गरिएको थियो । ‘हामी निरन्तर आन्दोलनमै छौं,’ स्थानीय सुधन रेग्मीले भने, ‘विषय अदालतमा गइसकेपछि फरक ढंगको आन्दोलन भइरहेको थियो, अब त्यो बढेर जान्छ ।’


अहिले सदरमुकामसम्बन्धी मुद्दा सर्वोच्चम विचाराधीन छ । सर्वोच्चले फैसलाको पेसी आगामी माघ २७ गते तोकेको छ । फैसलाको दिन नजिकिँदै गर्दा स्थानीयले दबाब सुरु गरेका हुन् । पटक–पटक पेसी सर्दै आएको यो मुद्दामो अन्तिम फैसला माघ २७ मा हुने भनिएको छ । यसअघि १६ पटकसम्म उक्त मुद्दाको पेसी सरिसकेको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२ को गोलखाडा सार्ने निर्णय गरेको थियो । निर्णय खारेजी माग गर्दै २०७४ को माघ १७ गते अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।


रिटउपर २०७४ माघ १८ सुनुवाइ गर्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको थियो । जिल्लाको स्थायी सदरमुकाम गोलखाडा कायम गर्ने सरकारको निर्णयको स्वागत पनि भएको छ । गोलखाडा र त्यस आसपासका सर्वसाधारणले सरकारको निर्णपछि दीप प्रज्वलनसमेत गरेका थिए । उनीहरूले सदरमुकाम गोलखाडामै हुनुपर्छ भन्दै काठमाडौंमा आन्दोलन गरेका थिए । उनीहरूले रुकुमकोटमा र्‍याली तथा सभा गर्ने तयारीसमेत गरेका छन् । रुकुमपूर्वको सदरमुकाम गोलखाडा स्थापनार्थ सरोकार समितिले यही माघ २२ गते रुकुमकोटमा सभा गर्न लागेको हो ।


पुथाउत्तरगंगा गाउँपालिकाका १४ वडा र भूमे गाउँपालिकाका केही वडाका गरी २ हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा कार्यक्रम तय गरिएको धु्रव पुनमगरले बताए । उनले सकारात्मक दृष्टिकोणबाट गोलखाडा जिल्लाको सदरमुकाम उपयुक्त हो भन्ने सन्देश दिन कार्यक्रमको तय गरिएको बताए ।

प्रकाशित : माघ १६, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?