कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘पेडा’ बाट पाँचतारे

माधव ढुंगाना

भैरहवा — सहरको मध्यभाग, किनमेल, भलाकुसारी र भेटघाटको थलो । जमघटमा देश/विदेशका घटनाको चर्चा गरिन्छ । बिहान, दिउँसो र साँझ भीड लाग्छ । यहाँस्थित पवन मिष्ठान्न भण्डार रैथानेका लागि चिया/खाजाको गन्तव्य हो ।

‘पेडा’ बाट पाँचतारे

जिल्लाबाहिरबाट आउनेका लागि कोसेली किन्ने थलो । यहाँ उपलब्ध ‘पेडा’ चर्चित छ । यसको स्वाद व्यक्तिको जिब्रोमा झुन्डिएको छ । घुम्न आउनेले फर्किंदा पेडा कोसेलीस्वरूप लैजान्छन् ।


५० वर्षअघि टिनको छाप्रोबाट सुरु भएको व्यवसाय अहिले ३ तले भवनमा छ । ‘प्रसिद्धिका लागि पुर्खादेखिको योगदान छ,’ सञ्चालक पवन हलुवाईले भने, ‘शुद्धता र पुख्र्यौली स्वाद सफलताको सूत्र हो ।’ उनका बाबु राधेश्याम र हजुरआमा करमदानीले छाप्रोबाट सुरु गरेको मिठाई कारोबार सफल बनाएको उनले बताए । सफलता मिठाईमा सीमित छैन । भैरहवामा पवन इन्टरनेसनल होटल सञ्चालनमा छ । अहिले लुम्बिनीमा पाँचतारे ‘होटल पवन प्यालेस’ सञ्चालनको तयारीमा छ ।


पाहुनाको सत्कार होस् या कोसेली, रोजाइ पवनको पेडा नै हुन्छ । सिद्धार्थनगर नगरपालिकाका अधिकृत दुष्यन्त थापामगरले विदेशमा रहेका इष्टमित्र र साथीभाइले कोसेलीका रूपमा पेडा मगाउने गरेको बताए । ‘आफन्त र साथीभाइकहाँ जाँदा झोलाभरि पवनको पेडा लिएर जाने गरेको छु,’ उनले भने, ‘मेरा लागि पवन मिष्ठान्न कोसेली घर बनेको छ ।’


मिठाईको सुरुवात

६८ वर्षीय राधेश्यामले बाबु मोतीलाल र हजुरआमा करमदानीको पुख्र्यौली पेसालाई निरन्तरता दिएका हुन् । उनीहरू भैरहवानजिक वसन्तपुर पनौनी गाउँका जमिनदार थिए । एक शताब्दीअघि डाँका लागेपछि परिवारले गरिबी सहनुपर्‍यो । डाँकाले सम्पत्ति लुटेर बयलगाडामा लगेको राधेश्याम सुनाउँछन् । त्यसपछि गुजाराका लागि जग्गा बेच्नुपरेको उनले बताए । उनका बाबु मोतीलाल मिठाई व्यवसाय गर्न सीमावर्ती सुनौली बजार गए तर सफल भएनन् । आमातर्फकी हजुरआमा करमदानीले छोरीका परिवारको दु:ख देख्न नसकेर नाति राधेश्यामलाई भैरहवा बोलाइन् ।


हजुरआमासँग चिया, खाजा र मिठाई बनाउन सिके । हजुरआमाको निधनपछि १७ वर्षको उमेरमा राधेश्यामले ०२५ सालमा छाप्रोबाट मिठाई पसल सुरु गरे । त्यसको २ वर्षपछि जन्मिएका छोराको नामबाट ‘पवन मिष्ठान्न भण्डार’ नामकरण गरेका हुन् । ०५६ मा साढे ३ करोड रुपैयाँको लगानीमा होटल पवन इन्टरनेसनल सञ्चालन गरे । त्यसको आधा भागमा पवन मिष्ठान्न भण्डार छ ।


०५८ मा बुटवलमा शाखा सञ्चालन भयो । ‘४ सय रुपैयाँ मूल्य पर्ने साइकल किन्न नसकेको पीडाले मलाई सफल व्यवसायी बन्ने प्रेरणा मिल्यो,’ राधेश्यामले भने ।

प्रकाशित : माघ १७, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?