कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरको ठेक्कामा ढिलासुस्ती

कमल पन्थी

बर्दिया — हुलाकी मार्गअन्तर्गत भुरीगाउँ–बेलवा खण्डको निर्माणको ठेक्का डडेलधुरास्थित परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदको कम्पनीले लिएको खुलेको छ । उक्त खण्डमा ढिलासुस्तीले काम छिटो हुन सकेको छैन ।

मेयरको ठेक्कामा ढिलासुस्ती

उक्त खण्डको १७ किलोमिटर निर्माणका लागि साउदको राजेन्द्र जेभी निर्माण कम्पनीले २८ करोड ३१ लाख १५ हजार रुपैयाँमा ठेक्का लिएको हो । कम्पनीका धनी परशुराम नगरपालिकाका मेयर भएको हुलाकी सडक आयोजना नेपालगन्जका प्रमुख युवराज पोखरेलले बताए ।


सम्झौताअनुसार यस खण्डको निर्माण असार मसान्तभित्र पूरा गरिसक्नु पर्छ । अहिले कामले गति लिन नसकेको आयोजना प्रमुख पोखरेलले बताए । सडकको ०७३ साल माघ ८ गते तात्कालीन यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेका थिए ।


जिल्लाभित्र रहेको हुलाकी सडकलाइ तीन खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । जसअन्तर्गत मधुवन–गुलरिया १८ किमि खण्ड निर्माण भइरहेको छ । अर्को बेलवा–राजापुर खण्डको २२ किमि सडक आशिष जेभीले निर्माण गरिरहेको छ ।


मेयर साउदले कामको जिम्मा प्रकाश विश्वकर्मालाई दिएका छन् । साउदको बबई सिँचाइ आयोजना र हुलाकी सडक गरेर झन्डै १ अर्ब रुपैयाँको ठेक्का सञ्चालनमा छ । साउदले आगामी फागुन १ गतेबाट सडक कालोपत्रेको काम सुरु हुने बताए ।


‘छिट्टै कालोपत्रेको कामका लागि बेस निर्माणको काम सुरु गरिएको छ,’ उनले भने, ‘सम्झौता अवधिमा काम सम्पन्न गरेर हस्तान्तरण पनि गर्नेछौं ।’ मधुवन–गुलरिया खण्डमा कालोपत्रेको काम भइरहेको छ । खैरापुरदेखि गुलरियासम्मको १० किमि खण्डमा कामले गति लिएको छैन । गुलरिया बजारभित्रका संरचना हटाउने काम भएको छैन । विद्युत्, टेलिफोन, खानेपानीका पाइप स्थानान्तरण गरिएका छैनन् ।


त्यसले कामले गति नलिएको गणपति निर्माण सेवाका सञ्चालक तुलसी भण्डारीले बताए । हुलाकी आयोजनाले विद्युत्, टेलिफोन र खानेपानीका पाइप अन्यत्र स्थान्तरण गर्नुपर्ने रकम उपलब्ध नगराउँदा ढिलासुस्ती भएको उनले बताए । ग्रामीण क्षेत्रमा ७ किमि चौडा कालोपत्रे निर्माण हुनेछ । सहरी क्षेत्रमा ११ मिटर चौडा कालोपत्रे निर्माण हुनेछ ।


अहिलेसम्म ८० प्रतिशत निर्माण पूरा भएको हुलाकी सडक आयोजनाले जनाएको छ । ०७३ साल असारबाट सुरु भएको उक्त सडक निर्माण ०७६ साल असार २२ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । राजापुर र भुरीगाउ‘ सडक खण्डमा कालोपत्रेको काममा ढिलासुस्ती भएको छ ।

प्रकाशित : माघ १७, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?