कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

परामर्श लिँदै योजना आयोग

रूपन्देही — राष्ट्रिय योजना आयोगको प्रदेशस्तरीय परामर्श बैठक आइतबारदेखि यहाँ सुरु भएको छ । दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधारपत्र तयार गरिरहेको आयोगले ३ वटा प्रदेशमा सुझाव संकलनपछि प्रदेश ५ मा कार्यक्रम गरेको हो ।

प्रदेशस्तरीय बैठक एवं अन्तक्र्रिया कार्यक्रममा प्रदेश ५ का १ सय ९ वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, समन्वय समिति प्रमुख, प्रदेश सरकारका मन्त्री र सचिव, प्रदेश योजना आयोग, सभामुख, प्रदेशसभाका विषयगत समितिका सभापति, विपक्षी दलका नेतासहितको उपस्थिति छ ।


बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले १५ औं योजनाले स्थानीय सरकारलाई सबल र सक्षम गराउने गरी नीति तयार गर्न सकेमा मात्र योजना कार्यान्वयन सफल हुने बताए । उनले संघीयतामा आधारित रहेर योजना तयार गर्दा जनताका इच्छा र आकांक्षा अनुसार गर्न सुझाव दिए ।


‘अहिलेसम्म केन्द्रका अर्थमन्त्रीको सोचका आधारमा योजना तयार हुने र कार्यान्वयनमा जाँदा मन्त्री र कर्मचारी हाबी हुने अवस्था थियो,’ उनले भने, ‘अब त्यो अवस्थाको अन्त्य भएर स्थानीयकै माग र आवश्यकताका आधारमा तोकिएकै समयमा योजना सम्पन्न हुने गरी नीति बन्नुपर्छ ।’ त्यसले मात्र उपलब्धि हासिल गर्न सक्ने उनको सुझाव थियो ।


उनले संघीयताको मर्मअनुसार आमजनताको बीचमा सहजै पुग्ने स्थानीय सरकार भएकाले १५ औं योजनामा त्यहीअनुसार स्थानीय तहलाई सक्षम बनाउने गरी योजना निर्माण गर्नुपर्ने बताए ।


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले ५ वर्षभित्रै २ अंकको आर्थिक वृद्धिदरको लक्ष्यसहित ५ महिना लामो गृहकार्यपछि १५ औं योजनाका आधारपत्र तयार गरिएको बताए । उनले स्थानीय सरकारलाई सेवा प्रदायक, प्रदेश सरकारलाई परियोजना कार्यान्वयन र संघीय सरकारलाई नीति निर्माणको भूमिकामा राख्ने गरी नीति र योजना तयार भइरहेको जानकारी दिए ।


‘अबका योजना अहिलेका जस्ता वर्षौंसम्म पूरा हुन नसक्ने हुँदैनन्,’ उनले भने, ‘तोकिएको समय र तोकिएको रकममै सम्पन्न गर्ने गरी नीति बन्नेछ ।’ त्यसमा स्थानीय सरकारले अहिलेसम्म गरेका अनुभव र ज्ञानसमेत समेटिने भएकाले परामर्श बैठक राखिएको उनले बताए ।


२ दिनसम्म चल्ने बैठकमा पहिलो दिन १५ औं योजनाको समष्टिगत अर्थतन्त्र क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, लोकतन्त्र र सुशासन, उद्योग, पर्यटन, वन तथा वातावरणका क्षेत्रमा समूहगत छलफल सुरु भएको छ । त्यही समूहगत छलफलबाट निस्केको निष्कर्षलाई सोमबार प्रस्तुत गरेर अन्तिम रूप दिइने आयोगका सहसचिव खोमराज कोइरालाले बताए ।


बैठकमा कोइराला र प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले आधारपत्र प्रस्तुत गरेका थिए । प्रदेश ५ ले पनि आवधिक योजना निर्माणका लागि आधारपत्र तयार गरेर सुझाव संकलन गरी अन्तिम रूप दिने तयारीमा छ । सबै प्रदेशले तयार गरेका आधारपत्र आयोगले अध्ययन गरेको र आयोगको आधारपत्र प्रदेशका योजना आयोगलाई उपलब्ध गराएर परामर्श र सुझाव संकलन भइरहेको छ ।


आयोगको फागुनभित्रै १५ औं योजना सार्वजनिक हुने र त्यसकै आधारमा सबै प्रदेशले आवधिक योजनलाई अन्तिम रूप दिने गरी कार्ययोजना बनाएर काम भइरहेको कोइरालाले बताए ।

प्रकाशित : माघ २१, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?