कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

कृषिको बजारीकरणका लागि मेला

बुटवल — कृषि उत्पादन बढाउन, त्यसको व्यावसायीकरण र बजारीकरण गर्ने उद्देश्यले सोमबारदेखि यहाँ कृषि मेला सुरु भएको छ । कृषि तथा सहकारी मन्त्रालय र उद्योग वाणिज्य संघले बुटवल मण्डपमा मेला आयोजना गरेका हुन् । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत र निर्वाहमुखी कृषिका कारण मुलुकको अर्थतन्त्र बदल्न नसकिएको बताए ।

‘कृषिको विकासका लागि किसानको आवश्यकताबमोजिमका सीप, सेवा र पहुँचका कार्यक्रम गर्नुपर्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘किसानका आवश्यकतालाई कार्यक्रमले जोड्न सके मात्र किसानको आर्थिक हैसियत बढाउन र कृषि उत्पादन बढाउन सकिनेछ ।’

अहिलेसम्म भएका धेरै कृषि कार्यक्रम किसानको आवश्यकता र पहुँचका नभएको उनले बताए । कृषिमा ठूला व्यवसायीले लगानी गर्नुपर्ने उनले बताए । ‘उद्योगी, व्यवसायीले कृषि फार्म सञ्चालन गरेमा किसान पनि व्यावसायिक बन्न सिक्छन्,’ उनले भने,‘ उत्पादन बढाउन र प्रविधिको प्रयोग बढाउन सकिनेछ ।’


भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले किसानको उत्पादनलाई बजारसँग जोड्न मेलाले पुलको काम गर्नुपर्ने बताइन् । पछिल्लो पटक बजारमा आएका नयाँ प्रविधि र सीप सिकाएर किसानलाई व्यावसायिक बनाउन सकिने बताइन् । ‘हामी कृषिमा व्यवसायीकरण, यान्त्रीकरण र प्रतिस्पर्धा चाहन्छौं ।


यसले मात्रै कृषि उत्पादन बढाउन र किसानको हैसियत बढाउन सकिन्छ,’ उनले भनिन्, ‘मेलाले किसानलाई हौसला र क्षमता दुवै बढाउनेछ ।’ सरकारी अनुदान र सहयोगका कार्यक्रम धेरै भए पनि वास्तविक किसानसामु नपुगेको भन्दै अब राहत वितरण र सूचना प्रणालीलाई व्यवस्थित गर्ने बताइन् ।


मेलामा ४५ जिल्लाका किसानबाट उत्पादित कृषि उपज राखिएका छन् । तिनमा दुग्ध, मत्स्य, पुष्प, पोल्टी, पशु ,कृषि प्रविधि, जडीबुटी, कृषि, माटो परीक्षण, सूचनालगायतका १ सय २५ वटा स्टल छन्् । किसानको सहजताका लागि कृषि उपज, बीउबिजन, हाइड्रो, उपकरण, सूचनालगायतलाई छुट्टा–छुट्टै पेभेलियनमा राखेर प्रदर्शन गरिएको छ ।


मेलाका अवसरमा विधि विज्ञान प्रयोगशालाबाट ल्याइएको मोबाइल भ्यानद्वारा माटो परीक्षणको व्यवस्था गरिएको छ । मेला संयोजक खिमबहादुर हमालले मेलामा कृषिविज्ञबाट उन्नत खेती प्रविधि, अर्गानिक खेती, बीउ भण्डारण, कीरा तथा रोग नाशक सरल उपायलगायतका बारेमा समेत परामर्श गराउने बताए । किसान समूहबीच कृषिको व्यवसायीकरण र प्रवद्र्धन तथा लगानीबारे दैनिक अन्तरक्रिया र छलफल गरिनेछ ।


सरकारद्वारा प्रदान गरिने कृषि कर्जा तथा बिमाबारेमा समेत प्रशिक्षण तथा सहजीकरण हुनेछ । त्यसका लागि मेलामा कृषि उत्पादक, कृषक समूह र प्रविधि प्रदर्शकलाई नि:शुल्क प्रवेश गराइएको छ । मेलामा कृषि प्रविधिका बारेमा नाचगान, वक्तृत्वकला र अन्तरक्रियालगायतका कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : माघ २३, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?