कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

स्थानीय जनप्रतिनिधि : उद्घाटन र भाषणमै व्यस्त

नवीन पौडेल

परासी — स्थानीय तहले जनचाहनाअनुसार काम गर्न नसकेको यहाँका बासिन्दाले गुनासो गरेका छन् । पश्चिम नवलपरासीका नगर/गाउँपालिकाका प्रमुख/उपप्रमुख दिनभर कार्यक्रम उद्घाटन र भाषण व्यस्त हुने उनीहरूले बताए ।

स्थानीय जनप्रतिनिधि : उद्घाटन र भाषणमै व्यस्त

यस्तो व्यस्तताले सेवाग्राहीको गुनासो सुन्ने फुर्सद नहुने बताएका छन् । यहाँ आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले जनप्रतिनिधिसमक्ष आफ्ना गुनासा राख्न नपाएको बताएका हुन् ।


पाल्हीनन्दन गाउँपालिका–२ मा आयोजना गरिएको कार्यक्रममा स्थानीयले विकास निर्माण, सेवाप्रवाह लगायतको विषयमा गुनासो पोखेका थिए । स्थानीय जितेन्द्र यादवले जनताको आकांक्षाअनुसार विकास निर्माणले गति लिन नसकेको, राजनीतिक आस्थाका आधारमा फरक व्यबहार गर्ने गरेको र उद्घाटन र भाषणमा मात्र जनप्रतिनिधि सीमित भएको आरोप लगाए । ‘गुरुयोजना निर्माण गरेर विकासको काम गरेको खै ?,’ उनले भने, ‘घोषणापत्र अनुसार काम हुन सकेको छैन । सरकारी सुविधा लिएर पसलदेखि कुलो उद्घाटन गर्न भ्याइ–नभ्याइ छ ।’


लक्षित वर्गको कार्यक्रमलाई पारदर्शी बनाउनुपर्ने, हरपुर क्षेत्रमा सुविधासम्पन्न अस्पताल, उच्च शिक्षा अध्ययनका लागि विद्यालय स्थापनाका लागि पहल गर्नुपर्ने, वैदेशिक पारवहन शुल्क असुली मनपरी भइरहेकाले नियमन गर्नुपर्ने, वडा कार्यालयबाट कर तिर्ने सुविधा दिनुपर्ने, नदीमा तटबन्ध, प्रसूति गृह स्थापना र वडामा जनसंख्या र भूगोलको आधारमा बजेट वितरण गर्नुपर्ने, कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।


जिल्लाका सातवटै स्थानीय तहका सेवाग्राहीको गुनासा समान रहेका छन् । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले स्थानीयको चाहना असीमित भएकाले तत्काल पूरा गर्न नसकिएको जानकारी दिए । क्रमबद्ध रूपमा गाउँपालिकाले विकास, नीति निर्माण र आर्थिक रूपमा फड्को मार्नका लागि योजना ल्याइरहेको उनले बताए ।


‘गाउँपालिकाभित्रका कार्यक्रममा निम्तो आएपछि जानुपर्‍यो,’ उनले भने, ‘आफूले लगानी गरेको क्षेत्रको काम कस्तो भएको छ, अनुगमन पनि गर्नुपर्‍यो ।’ सीमित कर्मचारी र बजेटमा काम गर्नुपर्दा अप्ठेरो परिरहेको उनले बताए । अवैज्ञानिक रूपमा करको दायरा निर्माण गरेपछि सर्वसाधारणलाई मर्का परेको गुनासो गर्छन् ।


आफ्नो गाउँ–नगरको कुल आय, प्रतिव्यक्ति आम्दानीको स्रोतलगायत प्राकृतिक तथा उद्योगको अवस्था हेरेर करको दायरा निर्धारण गर्नुपर्नेमा जथाभावी धमाधम कर निर्धारण भएको सरावलका नरेश रायले बताए । ‘टुक्रे योजना ल्याएर छर्ने काम मात्र भएको छ, दीर्घकालीन फाइदा हुने कामभन्दा पनि जनप्रतिनिधि कर बढाएर आफ्नो सेवा सुविधा थप गर्नमा मात्र लागे,’ उनले भने, ‘सुविधा र अवसर दुवै बढेमा कर तिर्नु नागरिकको कतव्र्य हो तर कर मात्र बढाउँदा हामी मर्कामा परेका छौं । अपेक्षाअनुसार काम हुन सकेन् ।’


जनप्रतिनिधिका बेग्लै गुनासा

जनप्रतिनिधिले योजना अनुसार काम गर्न नपाएको गुनासो गर्न थालेका छन् । नयाँ कर्मचारी राख्न नपाउने र केन्द्रले आवश्यक जनशक्ति नपठाएपछि सेवा प्रवाह प्रभावित बन्ने गरेको छ ।


पश्चिम नवलपरासीका अधिकांश स्थानीय तहमा भौतिक पूर्वाधार र कर्मचारी अभाव छ । सुगम मानिने नगरपालिकामा कम्प्युटर टाइपिस्टदेखि सामाजिक परिचालकसम्मलाई वडा सचिवको जिम्मेवारी दिएर काम गराउनुपरेको छ । एउटै वडा सचिवले ४/५ वटा वडाको काम सम्हालिरहेका छन् । रामग्राम नगरपालिकाले कर्मचारी अभावको कारण सम्पत्ति कर वडाबाट संकलन हुन सकेको छैन । जसको कारण सेवाग्राही टाढा–टाढाबाट परासी आउनुपरेको छ ।


१ सय ३० जना कर्मचारी आवश्यक नगरपालिकामा केन्द्रबाट जम्मा ४० जना मात्र कार्यरत छन् । केही कर्मचारी करारमा राखेर काम चलाएको भए पनि सबै वडा र शाखामा पर्याप्त कर्मचारी नहुनाले समस्या परेको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।


‘जनताको अपेक्षा उच्च छ तर सीमित कर्मचारीको भरमा काम गर्नुपर्दा केही कठिनाइ आएको छ,’ उनले भने, ‘यसको विकल्पका रूपमा हामीले सबै नगरवासीको तथ्यांक अद्यावधिक गरेर अनलाइनबाट कर तिर्ने तथा अन्य काम गर्न सकिने योजना अगाडि ल्याएका छौ ।’ प्रदेश र केन्द्रले आवश्यक कानुन र कर्मचारी तत्काल ल्याउन आवश्यक छ ।

प्रकाशित : माघ २४, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?