कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्मार्ट कृषि गाउँ छनोट

माधव अर्याल

पाल्पा — प्रदेशका ४ वटै निर्वाचन क्षेत्रमा स्मार्ट कृषिगाउँ छनोट गरिएको छ । प्रदेशसभा सदस्य युवराज खनालले रामपुर नगरपालिका–१० गेझा, नारायण आचार्यले रम्भा–१ हुँगी, वसन्त घर्तीमगरले तिनाउ–२ झ्याङ्ला र डाक्टर पुरनमान वज्राचार्यले तानसेन नगरपालिका–१४ अर्गलीलाई छनोट गरेका हुन् ।

स्मार्ट कृषि गाउँ छनोट

अवसर र सुविधा नपाएका गाउँका किसानलाई सहयोग गर्ने र उत्पादनमा गाउँलाई आत्मनिर्भर गराई बजारीकरणसमेत गर्ने उद्देश्यसहित प्रदेश सरकारले स्मार्ट कृषिगाउँ अभियान सुरु गरेको हो । ४ निर्वाचन क्षेत्रमध्ये तीनवटामा कार्यक्रम सुरु भइसकेको र तानसेन नगरपालिकाको अर्गलीमा अर्को सरकारी कार्यक्रम पनि रहेकाले निर्णय नभएको कृषि ज्ञान केन्द्र प्रमुख किशोरमान श्रेष्ठले बताए । छनोट भइसकेका हुँगी, गेझा, झ्याङ्लामा किसानसँगको पहिलो चरणको बैठक सकिएको छ । अर्गलीमा विवाद रहेको छ ।


‘अर्गलीका विषयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यालयमार्फत पनि चलेकाले निर्णय भइसकेको छैन,’ प्रमुख श्रेष्ठले भने, ‘कार्यविधि नआउँदा अहिलेसम्म बैठक बस्न र स्थान छनोट गर्न पनि सकिएको छैन ।’ कृषिमा यान्त्रिकीकरण गर्दै सिँचाइ, उन्नत बीउबिजनमा सहुलियत दिएर उत्पादकत्व वृद्धि गर्ने योजना कार्यक्रमको कार्यविधिमा छ ।


खाद्यान्नमा आत्मनिर्भर बनाउँदै कृषिलाई पर्यटनसँग जोड्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रदेससभा सांसद वसन्त घर्तीमगरले बताए । ‘प्रमुख खाद्यान्न तथा अन्य बालीको उत्पादन १० वर्षमा कम्तीमा दोब्बर बनाउने लक्ष्य हो,’ उनले भने, ‘सोहीअनुसार कार्यक्रम अघि बढेको छ ।’ कार्यक्रम सञ्चालनका लागि कार्यविधि भने ढिला बनेको छ । जमिनको प्रकृति, किसानको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर कार्यविधि तयार भएको छ । स्मार्ट कृषिगाउँ कार्यक्रममा प्रतिगाउँ सय किसान परिवार समेटिनेछन् ।


प्रारम्भिक चरणमा सम्बन्धित क्षेत्रको माटो परीक्षण गरी उपयुक्त बालीका लागि किसानलाई प्रोत्साहन गरिनेछ । विद्युत्, खानेपानी, सिँचाइ, सडकजस्ता आवश्यक पूर्वाधार निर्माण गरी कृषिगाउँलाई आधुनिक प्रविधिसँग पनि जोड्न यो कार्यक्रम लागू गरिएको प्रदेशसभा सदस्य नारायण आचार्यले बताए । ‘कार्यक्रम लागू भएको क्षेत्रमा प्राविधिक जनशक्ति खटाइनेछ,’ उनले भने, ‘माटो परीक्षण गरी कुन बाली उपयुक्त हुन्छ भन्ने सम्बन्धमा विज्ञबाटै जानकारी दिइने योजना हो ।’ जलवायु परिर्वतन र यसले कृषिमा पार्ने असर, उपयुक्त बाली छनोटजस्ता विषयमा समयमा किसानलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइनेछ ।


प्रदेश सांसद डा. पुरनमान वज्राचार्यले छनोट गरेको तानसेन नगरपालिका–१४ अर्गली विवादित बनेको छ । अर्गलीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यालयमार्फत कार्यक्रम चलिरहेको छ । जसले गर्दा कार्यक्रममा दोहोरोपना हुने सरोकारवालाले बताए । कृषि ज्ञान केन्द्रले वार्षिक बजेट सार्वजनिक गर्न राखेको कार्यक्रममा स्थानीय तहका प्रमुख, राजनीतिक दल र सञ्चारकर्मीले यस विषयमा दोहोरोपना आउने गरी नगर्न सुझाव दिए । स्थानीय तहका प्रमुखहरूले प्रदेशसभा सदस्यले आफूहरूसँग छलफल नै नगरी क्षेत्र छनोट गरेको बताएका छन् ।


नेकपाका नेता धनेन्द्रराज घिमिरेले कार्यक्रममा दोहोरोपना आउने गरी नगर्न सुझाव दिए । प्रदेश सरकारबाट स्मार्ट कृषिगाउँका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रकाशित : माघ २५, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?