आफन्तको सम्झनामा शिक्षालयलाई दान

बाबुको मृत्युको ११ औं दिनको तिथि पारेर मैनहिया माविलाई साढे ३५ लाख रुपैयाँ दान
अमृता अनमोल

बुटवल — बाबु–आमाको मृत्युपछि रीतिरिवाज अनुसार पण्डित, लामा वा पुरोहितलगायतलाई दान गर्ने परम्परागत छ । रूपन्देहीमा भने आफन्तको स्मृतिमा शिक्षा क्षेत्रमा दान गर्ने चलन बढेको छ । यसरी दान गर्नेमध्येका हुन्, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारू । गत साता उनका बाबु साधुशरणको मृत्यु भयो । काजकिरिया र दानकर्म गरे । यतिले बाबुको नाम अमर हुने ठानेनन् ।

आफन्तको सम्झनामा शिक्षालयलाई दान

त्यसैले ११ औं दिनको तिथिमा मैनहिया माविलाई साढे ३५ लाख रुपैयाँ दान गरे । अयोध्याका भाइ ढालबहादुर, तपेश्वर र धनिरामले सहमति जनाए ।


परिवारले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद गौतमलाई ३५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । विद्यालयमा प्राविधिक शिक्षा प्रदान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले बाबुको स्मृतिमा विद्यालयलाई दान गरेको उनले बताए । विद्यालयमा अहिले इलेक्ट्रोनिकमा डिप्लोमा पढाइ हुने गरेको छ ।


‘व्यक्तिलाई गरेको दान ती व्यक्तिमा मात्रै सीमित हुने रहेछ,’ अयोध्याले भने, ‘तर, विद्यालयलाई गरेको दानले गरिबका सयौं छोराछोरीले नि:शुल्क प्राविधिक शिक्षा पढ्न पाउने छन् ।’ गरिबका छोराछोरीले गाउँमै नि:शुल्क पढ्न पाउँदा धेरै जनाको धेरै रकम बच्ने उनले बताए । विद्यालयले उक्त चन्दा पाएपछि विद्यालयको नाम समेत चन्दादाताका बाबुको नाम साधुशरण जोडेर राख्ने निर्णय गरेको छ । विद्यालयका प्रधानाध्यापक गौतमले धेरै दान पाएकाले उहाँको नाम विद्यालयको नाममा जोड्ने निर्णय गरेको सुनाए ।


यहाँ माइत भएकी काठमाडौंकी रीता उपाध्यायलाई बाबुको मृत्युपछि धर्मअनुसारको कर्म गरेर मात्र पुण्य मिलेजस्तो लागेन । के गर्ने के ? यस्तै सोचेका बेला उनलाई बाबु राममणि आदिले जग्गा दिएर स्थापना भएका शिक्षालयलाई सहयोग गर्ने जुक्ति फुर्‍यो । यसपछि गत वर्ष चैत २० मा उनी यहाँ आइन् । यहाँका २ शिक्षालयलाई ६५ लाख रुपैयाँ दान गरिन् ।


रीताले तिलोत्तमाको मणिग्राममा सञ्चालित शान्ति नमुना माध्यमिक विद्यालयलाई ५० लाख रुपैयाँ र राममणि बहुमुखी क्याम्पसलाई १५ लाख रुपैयाँको चेक दिइन् । ‘बाबुको स्मृतिमा धर्मअनुसारको संस्कार मात्रै होइन सामाजिक काम पनि गर्नुपर्छ जस्तो लाग्यो,’ उनले भनिन्, ‘त्यसैले यी शिक्षालयको शैक्षिक र भौतिक व्यवस्थापन पनि होस्, बाबाको नाम पनि अझ अमर रहोस् भन्ने उद्देश्यले शिक्षालयमा दान गरें ।’ यसबाट बाबाले शिक्षाको विकासमा पुर्‍याएको योगदानमा इँटा थपिएको उनले बताइन् । विद्यालयका प्राध्यापक कुलप्रसाद लामिछानेका अनुसार रीताले उपलब्ध गराएको ५० लाखमध्ये ४५ लाख रुपैयाँ विज्ञान संकायको भवन तथा ल्याबका लागि खर्च गर्न लागिएको छ । बाँकी ५ लाख गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिमा खर्च गरेको छ । रीताकै बाबुका नामबाट स्थापित राममणि क्याम्पसले दान पाएको रकम भौतिक व्यवस्थापनका लगाएको छ ।


शिक्षा पाउनु बालबालिकाको मौलिक हक हो । मौलिक हक भए पनि विपन्नताका कारण सबै बालबालिकाले अवसर पाएका छैनन् । बीचमा पढाइ छाड्न बाध्य छन् । पछिल्लो समय विपन्नताका कारण पढाइ बीचमै छाड्नुपरेका बालबालिकाका लागि धेरैले सहयोग गरेका छन् । मृतकको स्मृतिमा गरिने यस्तो सहयोगले धेरै विपन्न बालबालिकाले पढ्ने अवसर पाएका छन् । भौतिक पूर्वाधार अभावमा बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालय फेरिएका छन् । सट्टामा विद्यालयमा स्तरीय र सुविधा सम्पन्न भवन बनेका छन् । भौतिक अवस्था सुध्रिँदा विद्यार्थीलाई नियमित गराउन र शैक्षिक अवस्था फेर्न पनि सहज भएको छ । त्यसमध्येको हो, नवीन औद्योगिक मावि ।


पत्नी वियोगले छट्पटिएका बुटवलका कद्दरबहादुर रायमाझीलाई भौतिक शरीर नरहे पनि कसरी पत्नीको नाम सधंै अमर बनाउँmजस्तो लाग्थ्यो । कसैले विद्यालयलाई सहयोग गर्न सुझाव दियो । सुझाव चित्त बुझ्यो । उनले नवीन औद्योगिक माविलाई ०६७ माघ १० मा १० लाख २५ हजार दान गरे । विद्यालयले उनीसँगै पत्नीको नाम नै जोडिदियो । नवीन औद्योगिक मावि नवीन औद्योगिक कद्दरबहादुर रीता मावि बन्यो । ‘उनको नामको दानले विद्यालयमा भवन बन्यो । पूर्वाधार व्यवस्थापनमा सहयोग भयो,’ विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कद्दरबहादुरले भने, ‘विद्यालय पुग्दा सधैं पत्नीसँगै भएजस्तो लाग्छ मलाई पनि निकै राहत भएको छ ।’


जिल्लामा धार्मिक आस्थाका व्यक्ति धेरै छन् । मान्छेमा लुकेर बसेको आध्यात्मिक चेतनालाई शिक्षसँग जोड्दा पनि शिक्षालयमा दान गर्ने व्यक्ति बढेका छन् । यसले आफन्तको स्मृतिमा शिक्षालयमा दान गर्ने चलन र शिक्षालयमा रकम संकलन सहज भएको हो । तिलोत्तमाको शंकरनगर मावि दानकै कारण फेरिएको छ । विसं ०६४ मंसिरमा शंकरनगर माविले महायज्ञ गर्‍यो । महायज्ञमा स्थानीय दुर्गादत्त पाण्डेका नामबाट उनका परिवारले १६ लाख रुपैयाँ बराबरको जमिन दान गरे । यसपछि विद्यालयको नाम नै शंकरनगर दुर्गादत्त मावि बनाइयो । उक्त रकमले विद्यालयमा व्यावसायिक भवन बन्यो । यसले विद्यालयलाई नियमित आम्दानी दिइरहेको छ ।

प्रकाशित : माघ २५, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?