२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नियम पालनाभन्दा मिच्नमै ध्यान

माधव अर्याल

पाल्पा — नयाँ संविधानसँगै स्थानीय तह चुनाव भयो । साबिकका गाविसमा आउने बजेट सीधै स्थानीय तहमा गयो । घर(घरमा सिंहदरबारको नारा लगाए पनि जनप्रतिनिधि कानुन मान्न तयार छैनन् । कानुन कार्यान्वयन गराउने निकायले चासो दिएको छैन ।

नियम पालनाभन्दा मिच्नमै ध्यान

जनप्रतिनिधिको ध्यान कानुन मान्ने भन्दा मिच्नमा केन्द्रित छ । स्थानीय तहले लगानी गरेका सडकको प्रारम्भिक वातावरणीय मूल्यांकन (आईई) र वातावरणीय प्रभाव मूल्यांकन (ईआए) पूरा गरिएको छैन । युवालाई रोजगार दिनेभन्दा डोजर संस्कृति मौलाउन थालेको छ । जनप्रतिनिधि डोजर व्यवसायी बनेका छन् ।


तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले अहिलेसम्म स्थानीय तहमा आईई र ईआईए गर्ने प्रचलन नरहेको बताए । नगरपालिकाले गौरवका योजनाका रूपमा निर्माण गरिरहेका सडकमा यस्तो पक्रिया पूरा नगरिएको बताए । ‘अहिलेसम्म स्थानीय तहमा आईई गर्ने गरिएको छैन,’ उनले भने, ‘त्यस्तो नियम नभएकाले नगरिएको हो ।’


नियमत: छोटो दूरीका सडक डोजर लगाएर खन्दा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्छ । लामो दूरीका सडक खन्दा वातावरणीय प्रभाव मूल्यांकन गनुपर्ने हुन्छ । तानसेन नगरपालिकाले गत आर्थिक वर्षमा ८० लाख रुपैयाँ खर्चेर तानसेन(गुफाचौर साथै ९० लाख रुपैयाँभन्दा बढी खर्चेर तानसेन-बौघागुम्हा सडक बनायो । सडक चौडा गर्दा वातावरणीय क्षति पुगेको छ । तानसेन नगरपालिकका मेयर अशोककुमार शाही नगरका गौरवपूर्ण योजनाका रूपमा बजेट विनियोजन गरेको बताए । यस्ता सडक खन्दा वातावरणीय प्रभाव र प्रारम्भिक वातावरणीय परीक्षण नगरी खनेका छन् ।


उपभोक्ता समितिमार्फत् खनिएका सडकबाट वन क्षेत्रमा क्षति पुगेको छ । जिल्लाका सबै स्थानीय तहले वन क्षेत्र, अन्य आवादी क्षेत्रका साथै पुराना सडक चौडा बनाउन ठूलो बजेट खर्च गरेका छन् । त्यसबाट हुने वातावरणीय क्षतिको प्रवाह नगरी खनेका छन् । गत वर्ष स्थानीय तहले मात्रै ४२ करोड ५० लाख रुपैयाँबाट सडक चौडा गर्ने र नयाँ ट्रयाक खोल्ने काम गरेका छन् । गाउँ र नगर मात्र होइन, वडा कार्यालयले पनि सडक चौडा गरिरहेका छन् ।


गत वर्ष तानसेन नगरपालिकाले १०, रामपुर नगरपालिकाले ६, माथागढी गाउँपालिकाले ४ करोड ५० लाख, रैनादेवी छहरा गाउँपालिकाले ४, तिनाउले ३ करोड ६३ लाख, पूर्वखोलाले ३ करोड ६ लाख, बगनासकालीले ३ करोड, रम्भाले २ करोड ६८ लाख, रिब्दीकोटले २ करोड २५ लाख रुपैयाँ सडक खन्न खर्चेका छन् । यसवर्ष सडकलाई ध्यान दिएर बजेट विनियोजन गरेका छन् ।


वातावरण डोजरमय

सदरमुकाम र ग्रामीण भेगमा स्थानीय तहका जनप्रतिनिधिले डोजरमय वातावरण बनाएको स्थानीयको आरोप छ । ‘हामीलाई त्यस्ता नियमबारेमा थाहा भएन,’ तानसेन(छेर्लुङ मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष लीला भट्टराईले भने, ‘उपभोक्ता समितिमार्फत् खन्न भनियो सोहीअनुसार गरेका हौं ।’ स्थानीय सरकारले आ(आफ्ना कार्ययोजना बनाएर काम गर्ने क्रममा डोजर लगाएर पहाड भत्काउने योजनालाई बढी प्राथमिकता दिएका छन् ।


‘युवा र गाउँका बासिन्दालाई स्वरोजगार बनाउने भन्दा पनि डोजरलाई पैसा खर्च गर्नमै उद्यत देखिएका छन्,’ निस्दी(४ मित्यालका केशबहादुर सारूले भने, ‘यस्ता विषयमा जनप्रतिनिधि गम्भीर हुनपर्ने हो तर पनि देखिएनन् ।’ जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिकाका स्थानीय सरकारहरूले विकासको मेरुदण्ड ठानिने सडकलाई पहिलो प्राथमिकता दिएका हुन् ।


निर्वाचित जनप्रतिनिधिले, सडकको स्तरोन्नतितर्फभन्दा नयाँ ट्रयाक खोल्नतर्फ धेरै बजेट विनियोजन गरेका छन् । गाउँ र नगरमा प्राविधिक कमी छन् तर योजना धेरै सडकका हुन्छन् । तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले प्रक्रिया पूरा गर्न कठिन भएकाले पनि वातावरणीय प्रभाव मूल्यांकनतिर नलाग्ने बताए । उनका अनुसार बजेट तथा नीति कार्यक्रम निर्माण, कार्यान्वयनका लागि पूर्ण अधिकारसहित सबै स्थानीय तहमा प्राविधिकहरूको व्यवस्था हुनुपर्छ । धेरै पैसा खर्च हुने भएकाले पनि नगराउने प्रचलन रहेको उनले बताए ।


‘ठूला आयोजनामा वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरणीय परीक्षण गरिन्छ,’ उनले भने, ‘तर साना योजनामा गरिएको छैन ।’ रिब्दीकोटको हार्थोक(देउराली(डम्बक र रैनादेवी छहराको तीनगिरे(जुठापौवा(चहला(सत्यवती(बल्ढेङगढी मोटरबाटोमा अत्यधिक पहिरो खसेका छन् ।


अत्यधिक डोजरले भूक्षय निम्त्याएको छ । वरिपरिको वातावरणलाई विनाश गरेको स्थानीयको गुनासो छ । स्थानीय तहले सूचीकृत गरेका डोजर गाउँमा उपभोक्ताले लग्ने गरेका छन् ।

प्रकाशित : माघ २६, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?