वन्यजन्तुले हैरानी

सन्धिखर्क र भूमिकास्थान नगरपालिकाका बस्तीमा चितुवाद्वारा १० वर्षमुनिका बालबालिकामाथि आक्रमण
वीरेन्द्र केसी

अर्घाखाँची — गाउँमा चितुवा र भालुले मान्छेमाथि आक्रमण गर्छन् । बँदेल, दुम्सी र बाँदरले खेतबारीको अन्नबाली खाएर हैरान बनाइरहेका छन् । जिल्लामा वन्यजन्तुका कारण मानवीय र बालीनालीमा क्षति बढिरहेको छ ।

आक्रमणमा कमी नआएपछि यहाँका बासिन्दा हैरान छन् । आक्रमणमा अधिकांश बालबालिका परेका छन् । चितुवा आक्रमणबाट ५ वर्षमा १४ जनाले ज्यान गुमाइसके । ११ घाइते भए ।


सन्धिखर्क र भूमिकास्थान नगरपालिकाका बस्तीमा पसेर चितुवाले १० वर्षमुनिका बालबालिकामाथि आक्रमण गरिरहेका छन् । शीतगंगा नगरपालिकामा भालुले घाँस काटदै गरेका र सर्वसाधारण बटुवालाई चिथोरेर घाइते बनाउन छाडेका छैनन् । बँदेल, दुम्सीले अन्नबाली खाएर उठिवास लगाउन थालेको स्थानीय गुनासो गर्छन् । मालारानी, छत्रदेव र पाणिनि गाउँपालिकामा बाँदरको बिगबिगी छ ।


३ महिनाअघि ढिकुराका ४ वर्षीय आर्यन घिमिरेले चितुवाको आक्रमणमा परी ज्यान गुमाए । तीजको दिन दर खान मामाघर जाँदै गर्दा चितुवाको आक्रमणबाट ज्यान गुमाएका घिमिरेका परिवारलाई डिभिजन वनले १० लाख रुपैयाँ राहत दियो । शीतगंगा नगरपालिकामा भालुको आक्रमणबाट घाइते भएका गिरिराज घम, मानबहादुर नेपाली र मुक्तबहादुर सारूलाई उपचार खर्च उपलब्ध गरायो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भए वा घाइते भए सरकारले राहत दिने व्यवस्था छ ।


घिमिरेको ज्यान लिएपछि वन कार्यालयले ढिकुराको पियाँले जंगलमा पासो थापेको थियो । पासोमा परेको घाइते चितुवालाई सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा मृत्यु भयो । त्यसपछि वनले घिमिरे र मृतक चितुवाको डीएनए परीक्षण गर्न रगत, खकार, दिसा काठमाडौं पठायो । उक्त डीएनएले मेल खायो । डेढ वर्षअघि किमडाँडामा पासोमा परेको चितुवालाई स्थानीयले घरेलु हतियार प्रहार गरेर मारेका थिए । फुदबाङमा एउटा चितुवा मृत फेला परेको थियो ।


सन्धिखर्क नगरको कुर, खाँचीकोट, किमडाँडा, भालुखोला र भूमिकास्थान नगरको ढिकुरा, नुवाकोट गाउँमा साँझको बेला बालबालिकामाथि वन्यजन्तुको आक्रमण बढिरहेको छ । डिभिजन वन प्रमुख अजयविक्रम मानन्धरले आहारा नपाएपछि चितुवा बस्तीमा छिर्न थालेको बताए ।


‘जताततै मोटरबाटो खनिए, उसलाई बस्ने ठाउँ डिस्टर्व भयो,’ उनले भने, ‘मोटर बाटोबाट हिँडेर मानव बस्तीमा आउन सहज भयो । जंगलमा खानेकुरा केही नभएपछि भोकाएको चितुवाले मान्छेमाथि आक्रमण गर्छ ।’ चितुवाले आक्रमण गर्दा प्रतिकार गर्न नसक्नेलाई खोज्छ । बच्चाले प्रतिकार गर्न सक्दैनन्, त्यसैले साँझका बेला ढुकेर आक्रमण गर्ने उनले बताए ।


‘चितुवासहित वन्यजन्तुलाई नियन्त्रण गर्ने अधिकार हामीलाई छैन,’ मानन्धरले भने, ‘यहाँको समस्याबारे संघ र प्रदेश मन्त्रालयमा जानकारी पठाएका छौं । कानुनी अधिकार प्राप्त भएमा नियन्त्रण गर्न सकिएला ।’ अहिले प्रचार–प्रसार, चितुवाबाट जोगिने उपाय, तरिका, स्कुलका कक्षाकोठामा प्रशिक्षण दिएर मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने योजना रहेको उनले बताए ।


मानव–वन्यजन्तु द्वन्द्व चर्किंदै गएको उनले बताए । सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले चितुवाबाट बालबालिका जोगाउन नगरले आवश्यक बजेट विनियोजन गर्ने बताए । कानुनले २६ प्रकारका स्तनधारी जीव मार्न नपाइने उल्लेख गरेको छ ।


बाँदरको बिगबिगी

छत्रदेव, पाणिनि र मालारानी गाउँपालिकाका जंगल, खर्‍यान, खेतबारी र घरका छानामा बाँदर बसेको देखिन्छ । छत्रदेवको ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले वर्षामा मकै जोगाउन बारीमा चौकीदारी नबसे एउटा घोंगा पनि भित्राउन नपाइने बताए ।


‘हिउँदमा गहुँ र तरकारी पनि खाइदिन्छ । घरनजिकै रूखमा बसेको हुन्छ, मान्छेलाई छक्याएर घरभित्र पसेर कसौंडीको भात, कराईको तरकारी, अन्नपात र लत्ताकपडा नोक्सान पारिदिन्छ, हामी त हैरानै भयौं,’ उनले भने । परिवारको एक जना सदस्य त घरभित्र बाँदर छिर्नबाट रोक्न चौकीदारी नै बस्नुपर्ने उनले बताए । मकै जोगाउन स्कुलको पढाइ नै छुटाएर विद्यार्थी लौरो लिएर बारीको छेउमा बस्ने गर्छन् ।


पाणिनि गाउँपालिका सिम्लेका कृषक सीता पौडेलका अनुसार पहिले बाँदरले सुन्तला खान्थेन । सुन्तला फोक्दा बोक्राबाट अमिलो रस झर्छ । उक्त रस आँखामा परेपछि खाँदैनथ्यो । ‘अहिले सुन्तला ढाडपछाडि लगेर बोक्रा फाल्छ, भित्रको खान्छ,’ उनले भनिन्, ‘एक्लै महिला देख्दा झम्टिन खोज्छ । ढुंगाले हानेर लखेटे पनि मान्छेलाई टेर्न छाड्यो । दु:ख गरेर अन्न, तरकारी र फलफूल उत्पादन गर्छौं, त्यो हामीलाई होइन बाँदरको आहारा भएको छ ।’

छत्रदेव गाउँपालिकाले अघिल्लो गाउँसभाबाट प्रत्येक वडामा एक–एक लाख रुपैयाँका दरले बाँदर हेरालु राख्न बजेट विनियोजन गरेको थियो । यसपालि यो कार्यक्रम छैन । ‘बाँदरलाई कसरी नियन्त्रण गर्ने भनेर उपाय खोज्दै छौं, बाँदर विशेषज्ञसँग छलफल गरिरहेका छौं,’ छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘संघ र प्रदेशको वन मन्त्रालय र सांसदसँग नियन्त्रणका लागि कानुन बनाउन माग गरेका छौं । जताततै बगालै बगाल छ । यसरी बढ्दै जाने हो भने बाँदरकै राज्य चल्छ ।’


छत्रदेवमा गाउँलेले समूह बनाएरै बाँदर खेतबारीबाट लेखट्छन् । उतिबेलै फर्केर आइहाल्छ । बाँदरले अन्नबाली सखाप पारिदिन्छ । ‘बाँदरका कारण मैले सुरु गरेको कृषि, पशुपालन र उत्पादनबाट समृद्ध गाउँपालिका बनाउने योजना धरापमा परेको छ,’ उनले भने । छत्रदेव, पाणिनि र मालारानीसँग सीमा जोडिएकाले त्यता पनि बाँदर पस्न थालेको छ ।


भालु, दुम्सी र बँदेल

भालुको आक्रमणबाट शीतगंगामा ४ वर्षमा ६ जना घाइते भए । सिद्धाराका मुक्तबहादुर सारूलाई ६ महिनाअघि वनमा गोरु चराउँदै गर्दा झाडीमा लुकेको भालुले आक्रमण गर्‍यो । प्रतिकार गरेर ज्यान जोगाए । शरीरभर चिथोरेर घाइते बनायो । बेला–बेला आक्रमण प्रयास भएको थियो । यस क्षेत्रमा घना जंगल क्षेत्र धेरै र बस्ती थोरै छ ।


यहाँ भालुको संख्या धेरै छ । जंगलको लामो बाटो पैदल हिँडनुपर्छ । शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले भालु, बँदेल र दुम्सीले मानव बस्तीमा आतंक मच्याएको बताए । ‘जनताले धपाइदिन पर्‍यो भनेर माग गर्छन्,’ उनले भने, ‘नियन्त्रण गर्न वा मार्न कानुनले मिल्दैन । अब मानव बस्ती जोगाउने सकस छ ।’


किसानले दु:ख गरेर खेतीपाती गरेका हुन्छन् । ‘रातिमा आएर बँदेल र दुम्सीले खाइदिएर सखाप पार्छ अनि के खाएर मान्छे बाँच्ने ? आपतै छ,’ उनले भने । अन्न खेतीजति सबै जंगली जनावरले खाइदिएपछि परिवार पाल्न विस्थापित हुने अवस्था आएको उनले बताए ।


सधैं चुनावी नारा

चुनावमा दलका नेताले सम्बन्धित वन्यजन्तु प्रभावित क्षेत्रका गाउँलेसित पूरै नियन्त्रण गरिदिन्छौं, हामीलाई भोट दिनूस् भन्न कसैले छुटाउँदैनन् । जितेपछि कानुनले दिँदैन भनेर उम्किन्छन् ।


‘कि त हामीलाई अन्यत्रै बसाइँसराइ गरिदिनु पर्‍यो, नत्र हामी के खाएर बस्ने ? हामीले उब्जनी गरेको सबै वन्यजन्तुले खाइदिन्छन्,’ सिद्धाराकी पुतला थापाले भनिन् । सांसद र नगरपालिकाको चुनावमा ‘चिन्ता नगर्नूस्– दुम्सी, बँदेल एउटा पनि देख्न पाउनुहुन्न, सबै समस्या समाधान गरिदिन्छौं’ भन्ने नेताले अहिले वास्ता नगर्ने उनले बताइन् ।


‘मानव–वन्यजन्तु द्वन्द्वले ठूलो नोक्सानी पुर्‍याएकाले यसको नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ,’ प्रदेश सांसद रामजीप्रसाद घिमिरेले भने, ‘अब छिट्टै अर्घाखाँचीको वन्यजन्तु समस्याबारे प्रदेशका वनमन्त्री र मुख्यमन्त्रीसँग कुरा गर्छु ।’

प्रकाशित : माघ २८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?