भारु कारोबार नहुँदा सीमामा कालोबजारी

कमल पन्थी

बर्दिया — राष्ट्रिय वाणिज्य बैंक गुलरियामा भारतीय रुपैयाँ (भारु) को कारोबार नभएपछि जिल्लाबाट आवश्यक कामका लागि भारत जाने बिरामी लगायत सर्वसाधारण समस्यामा परेका छन् ।

उपचारार्थ जाने बिरामी, तीर्थालु, व्यवसायी र सर्वसाधारण बढी प्रभावित भएका छन् । अभावले यहाँ भारु १ सयको १ सय ७० रुपैयाँ नेपालीमा कारोबार भइरहेको छ । सर्वसाधारणले कालोबजारीमा निर्भर हुनु परेको बताए ।

नियमित स्वास्थ्य जाँचका लागि लखनउ जान लागेका मधुवन नगरपालिका–४ का राजेन्द्र खत्रीले गुलरियास्थित एक पान पसलबाट एक सय रुपैयाँको १ सय ७० का दरले नेपाली रुपैयाँ तिरेर लिनुपरेको बताए । ‘राष्ट्रिय वाणिज्य बैंकले भारु उपलब्ध नगराएकाले कालोबजारी गर्नेसँग खरिद गर्नुपरेको छ,’ उनले भने, ‘बैंकले सर्वसाधारणको मर्का बुझेर चाँडै भारुको कारोबार खुलाओस् ।’

यसरी कालोबजारी गर्ने माथि स्थानीय प्रशासनलेकुनै कारबाही गरेको छैन । चिकित्सकको सिफारिसमा नेपाल राष्ट्र बैंकले १० हजार रुपैयाँ उपलब्ध गराए पनि उक्त रकम अपुग हुने स्थानीयले बताए । त्यो रकम लिन नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको बारबर्दिया नगरपालिका–६ का गोपाल थारूले बताए ।

‘यहाँबाट रिफर गरिएका बिरामीलाई भारत लैजानुपर्दा तत्काल भारु आवश्यक पर्छ,’ उनले भने,’ सर्वसाधारणका लागि बैंकले चाँडै भारु सटहीको व्यवस्था गरोस् ।’ राष्ट्र बैंकले भारु माग्न आउनेलाई नेपाली नागरिकता र अन्य प्रमाणका आधारमा प्रतिव्यक्ति १० हजाररुपैयाँसम्म दिने गरेको छ ।

बिरामीबाहेक भारतमा अध्ययन गर्न जाने विद्यार्थी, तीर्थस्थल, बाबाधाम, गया, वाराणसीलगायत ठाउँमा जाने नेपाली समस्यामा परेको बताउँछन् । गुलरिया नगरपालिका–७ का दिनेश यादवले तीर्थाटन जान लाग्दा भारु नपाएर पीडित बनेको बताए ।

त्यसपछि कालोबजारीयासँग महँगोमा खरिद गर्न बाध्य भएको बताए । ४ वर्षअघि सम्म एक लटमा ४० लाख भारु राष्ट्र बैंकले वाणिज्य बैंक गुलरिया शाखामा पठाउने गरेको थियो । त्यसपछि भारु राष्ट्र बैंकले पठाउन छाडेको छ ।

उद्योग वाणिज्य संघले भारुको व्यवस्था यथा सीघ्र उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरे पनि कार्यान्वयन हुन सकेको छैन । नेपाली विद्यार्थी र वैवाहिक सम्बन्धका लागि भारत जाँदा भारु नपाएर पीडा भोग्नुपरेको उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज यादवले बताए ।

स्थानीय व्यवसायीले बैंक प्रबन्धकको कारण भारू उपलब्ध नहुनु दुर्भाग्य भएको गुनासो पोखेका छन् । चरम अभाव भएकै समय केही कालोबजारीले महँगोमा भारु बेच्ने गरेका छन् । वाणिज्य बैंकका सहायक प्रबन्धक महेशराज भट्टले बैंकबाट खरिद गरेको भारु रकमको दुरुपयोग नरोकिए र यसलाई व्यवस्थित नगरेसम्म कारोबार गर्दा समस्या आउने बताए । ‘आवश्यक भारुको लागि राष्ट्र बैंकलाई पत्रचार गरेका छौ,’उनले भने,’ बिचौलिया हटाएर व्यवस्थित ढंगले भारु सटहीको व्यवस्था गर्न स्थानीय प्रशासनसँग आग्रह गरेका छौं ।’

प्रकाशित : माघ २८, २०७५ ०९:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वन्यजन्तुले हैरानी

सन्धिखर्क र भूमिकास्थान नगरपालिकाका बस्तीमा चितुवाद्वारा १० वर्षमुनिका बालबालिकामाथि आक्रमण
वीरेन्द्र केसी

अर्घाखाँची — गाउँमा चितुवा र भालुले मान्छेमाथि आक्रमण गर्छन् । बँदेल, दुम्सी र बाँदरले खेतबारीको अन्नबाली खाएर हैरान बनाइरहेका छन् । जिल्लामा वन्यजन्तुका कारण मानवीय र बालीनालीमा क्षति बढिरहेको छ ।

आक्रमणमा कमी नआएपछि यहाँका बासिन्दा हैरान छन् । आक्रमणमा अधिकांश बालबालिका परेका छन् । चितुवा आक्रमणबाट ५ वर्षमा १४ जनाले ज्यान गुमाइसके । ११ घाइते भए ।

सन्धिखर्क र भूमिकास्थान नगरपालिकाका बस्तीमा पसेर चितुवाले १० वर्षमुनिका बालबालिकामाथि आक्रमण गरिरहेका छन् । शीतगंगा नगरपालिकामा भालुले घाँस काटदै गरेका र सर्वसाधारण बटुवालाई चिथोरेर घाइते बनाउन छाडेका छैनन् । बँदेल, दुम्सीले अन्नबाली खाएर उठिवास लगाउन थालेको स्थानीय गुनासो गर्छन् । मालारानी, छत्रदेव र पाणिनि गाउँपालिकामा बाँदरको बिगबिगी छ ।

३ महिनाअघि ढिकुराका ४ वर्षीय आर्यन घिमिरेले चितुवाको आक्रमणमा परी ज्यान गुमाए । तीजको दिन दर खान मामाघर जाँदै गर्दा चितुवाको आक्रमणबाट ज्यान गुमाएका घिमिरेका परिवारलाई डिभिजन वनले १० लाख रुपैयाँ राहत दियो । शीतगंगा नगरपालिकामा भालुको आक्रमणबाट घाइते भएका गिरिराज घम, मानबहादुर नेपाली र मुक्तबहादुर सारूलाई उपचार खर्च उपलब्ध गरायो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भए वा घाइते भए सरकारले राहत दिने व्यवस्था छ ।

घिमिरेको ज्यान लिएपछि वन कार्यालयले ढिकुराको पियाँले जंगलमा पासो थापेको थियो । पासोमा परेको घाइते चितुवालाई सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा मृत्यु भयो । त्यसपछि वनले घिमिरे र मृतक चितुवाको डीएनए परीक्षण गर्न रगत, खकार, दिसा काठमाडौं पठायो । उक्त डीएनएले मेल खायो । डेढ वर्षअघि किमडाँडामा पासोमा परेको चितुवालाई स्थानीयले घरेलु हतियार प्रहार गरेर मारेका थिए । फुदबाङमा एउटा चितुवा मृत फेला परेको थियो ।

सन्धिखर्क नगरको कुर, खाँचीकोट, किमडाँडा, भालुखोला र भूमिकास्थान नगरको ढिकुरा, नुवाकोट गाउँमा साँझको बेला बालबालिकामाथि वन्यजन्तुको आक्रमण बढिरहेको छ । डिभिजन वन प्रमुख अजयविक्रम मानन्धरले आहारा नपाएपछि चितुवा बस्तीमा छिर्न थालेको बताए ।

‘जताततै मोटरबाटो खनिए, उसलाई बस्ने ठाउँ डिस्टर्व भयो,’ उनले भने, ‘मोटर बाटोबाट हिँडेर मानव बस्तीमा आउन सहज भयो । जंगलमा खानेकुरा केही नभएपछि भोकाएको चितुवाले मान्छेमाथि आक्रमण गर्छ ।’ चितुवाले आक्रमण गर्दा प्रतिकार गर्न नसक्नेलाई खोज्छ । बच्चाले प्रतिकार गर्न सक्दैनन्, त्यसैले साँझका बेला ढुकेर आक्रमण गर्ने उनले बताए ।

‘चितुवासहित वन्यजन्तुलाई नियन्त्रण गर्ने अधिकार हामीलाई छैन,’ मानन्धरले भने, ‘यहाँको समस्याबारे संघ र प्रदेश मन्त्रालयमा जानकारी पठाएका छौं । कानुनी अधिकार प्राप्त भएमा नियन्त्रण गर्न सकिएला ।’ अहिले प्रचार–प्रसार, चितुवाबाट जोगिने उपाय, तरिका, स्कुलका कक्षाकोठामा प्रशिक्षण दिएर मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने योजना रहेको उनले बताए ।

मानव–वन्यजन्तु द्वन्द्व चर्किंदै गएको उनले बताए । सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले चितुवाबाट बालबालिका जोगाउन नगरले आवश्यक बजेट विनियोजन गर्ने बताए । कानुनले २६ प्रकारका स्तनधारी जीव मार्न नपाइने उल्लेख गरेको छ ।

बाँदरको बिगबिगी
छत्रदेव, पाणिनि र मालारानी गाउँपालिकाका जंगल, खर्‍यान, खेतबारी र घरका छानामा बाँदर बसेको देखिन्छ । छत्रदेवको ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले वर्षामा मकै जोगाउन बारीमा चौकीदारी नबसे एउटा घोंगा पनि भित्राउन नपाइने बताए ।

‘हिउँदमा गहुँ र तरकारी पनि खाइदिन्छ । घरनजिकै रूखमा बसेको हुन्छ, मान्छेलाई छक्याएर घरभित्र पसेर कसौंडीको भात, कराईको तरकारी, अन्नपात र लत्ताकपडा नोक्सान पारिदिन्छ, हामी त हैरानै भयौं,’ उनले भने । परिवारको एक जना सदस्य त घरभित्र बाँदर छिर्नबाट रोक्न चौकीदारी नै बस्नुपर्ने उनले बताए । मकै जोगाउन स्कुलको पढाइ नै छुटाएर विद्यार्थी लौरो लिएर बारीको छेउमा बस्ने गर्छन् ।

पाणिनि गाउँपालिका सिम्लेका कृषक सीता पौडेलका अनुसार पहिले बाँदरले सुन्तला खान्थेन । सुन्तला फोक्दा बोक्राबाट अमिलो रस झर्छ । उक्त रस आँखामा परेपछि खाँदैनथ्यो । ‘अहिले सुन्तला ढाडपछाडि लगेर बोक्रा फाल्छ, भित्रको खान्छ,’ उनले भनिन्, ‘एक्लै महिला देख्दा झम्टिन खोज्छ । ढुंगाले हानेर लखेटे पनि मान्छेलाई टेर्न छाड्यो । दु:ख गरेर अन्न, तरकारी र फलफूल उत्पादन गर्छौं, त्यो हामीलाई होइन बाँदरको आहारा भएको छ ।’
छत्रदेव गाउँपालिकाले अघिल्लो गाउँसभाबाट प्रत्येक वडामा एक–एक लाख रुपैयाँका दरले बाँदर हेरालु राख्न बजेट विनियोजन गरेको थियो । यसपालि यो कार्यक्रम छैन । ‘बाँदरलाई कसरी नियन्त्रण गर्ने भनेर उपाय खोज्दै छौं, बाँदर विशेषज्ञसँग छलफल गरिरहेका छौं,’ छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘संघ र प्रदेशको वन मन्त्रालय र सांसदसँग नियन्त्रणका लागि कानुन बनाउन माग गरेका छौं । जताततै बगालै बगाल छ । यसरी बढ्दै जाने हो भने बाँदरकै राज्य चल्छ ।’

छत्रदेवमा गाउँलेले समूह बनाएरै बाँदर खेतबारीबाट लेखट्छन् । उतिबेलै फर्केर आइहाल्छ । बाँदरले अन्नबाली सखाप पारिदिन्छ । ‘बाँदरका कारण मैले सुरु गरेको कृषि, पशुपालन र उत्पादनबाट समृद्ध गाउँपालिका बनाउने योजना धरापमा परेको छ,’ उनले भने । छत्रदेव, पाणिनि र मालारानीसँग सीमा जोडिएकाले त्यता पनि बाँदर पस्न थालेको छ ।

भालु, दुम्सी र बँदेल
भालुको आक्रमणबाट शीतगंगामा ४ वर्षमा ६ जना घाइते भए । सिद्धाराका मुक्तबहादुर सारूलाई ६ महिनाअघि वनमा गोरु चराउँदै गर्दा झाडीमा लुकेको भालुले आक्रमण गर्‍यो । प्रतिकार गरेर ज्यान जोगाए । शरीरभर चिथोरेर घाइते बनायो । बेला–बेला आक्रमण प्रयास भएको थियो । यस क्षेत्रमा घना जंगलक्षेत्र धेरै र बस्ती थोरै छ ।

यहाँ भालुको संख्या धेरै छ । जंगलको लामो बाटो पैदल हिँडनुपर्छ । शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले भालु, बँदेल र दुम्सीले मानव बस्तीमा आतंक मच्याएको बताए । ‘जनताले धपाइदिन पर्‍यो भनेर माग गर्छन्,’ उनले भने, ‘नियन्त्रण गर्न वा मार्न कानुनले मिल्दैन । अब मानव बस्ती जोगाउने सकस छ ।’

किसानले दु:ख गरेर खेतीपाती गरेका हुन्छन् । ‘रातिमा आएर बँदेल र दुम्सीले खाइदिएर सखाप पार्छ अनि के खाएर मान्छे बाँच्ने ? आपतै छ,’ उनले भने । अन्न खेतीजति सबै जंगली जनावरले खाइदिएपछि परिवार पाल्न विस्थापित हुने अवस्थाआएको उनले बताए ।

सधैं चुनावी नारा
चुनावमा दलका नेताले सम्बन्धित वन्यजन्तु प्रभावित क्षेत्रका गाउँलेसित पूरै नियन्त्रण गरिदिन्छौं, हामीलाई भोट दिनूस् भन्न कसैले छुटाउँदैनन् । जितेपछि कानुनले दिँदैन भनेर उम्किन्छन् ।

‘कि त हामीलाई अन्यत्रै बसाइँसराइ गरिदिनु पर्‍यो, नत्र हामी के खाएर बस्ने ? हामीले उब्जनी गरेको सबै वन्यजन्तुले खाइदिन्छन्,’ सिद्धाराकी पुतला थापाले भनिन् । सांसद र नगरपालिकाको चुनावमा ‘चिन्ता नगर्नूस्– दुम्सी, बँदेल एउटा पनि देख्न पाउनुहुन्न, सबै समस्या समाधान गरिदिन्छौं’ भन्ने नेताले अहिले वास्ता नगर्ने उनले बताइन् ।

‘मानव–वन्यजन्तु द्वन्द्वले ठूलो नोक्सानी पुर्‍याएकाले यसको नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ,’ प्रदेश सांसद रामजीप्रसाद घिमिरेले भने, ‘अब छिट्टै अर्घाखाँचीको वन्यजन्तु समस्याबारे प्रदेशका वनमन्त्री रमुख्यमन्त्रीसँग कुरा गर्छु ।’

प्रकाशित : माघ २८, २०७५ ०९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT