कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भारु कारोबार नहुँदा सीमामा कालोबजारी

कमल पन्थी

बर्दिया — राष्ट्रिय वाणिज्य बैंक गुलरियामा भारतीय रुपैयाँ (भारु) को कारोबार नभएपछि जिल्लाबाट आवश्यक कामका लागि भारत जाने बिरामी लगायत सर्वसाधारण समस्यामा परेका छन् ।

उपचारार्थ जाने बिरामी, तीर्थालु, व्यवसायी र सर्वसाधारण बढी प्रभावित भएका छन् । अभावले यहाँ भारु १ सयको १ सय ७० रुपैयाँ नेपालीमा कारोबार भइरहेको छ । सर्वसाधारणले कालोबजारीमा निर्भर हुनु परेको बताए ।


नियमित स्वास्थ्य जाँचका लागि लखनउ जान लागेका मधुवन नगरपालिका–४ का राजेन्द्र खत्रीले गुलरियास्थित एक पान पसलबाट एक सय रुपैयाँको १ सय ७० का दरले नेपाली रुपैयाँ तिरेर लिनुपरेको बताए । ‘राष्ट्रिय वाणिज्य बैंकले भारु उपलब्ध नगराएकाले कालोबजारी गर्नेसँग खरिद गर्नुपरेको छ,’ उनले भने, ‘बैंकले सर्वसाधारणको मर्का बुझेर चाँडै भारुको कारोबार खुलाओस् ।’


यसरी कालोबजारी गर्ने माथि स्थानीय प्रशासनले कुनै कारबाही गरेको छैन । चिकित्सकको सिफारिसमा नेपाल राष्ट्र बैंकले १० हजार रुपैयाँ उपलब्ध गराए पनि उक्त रकम अपुग हुने स्थानीयले बताए । त्यो रकम लिन नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको बारबर्दिया नगरपालिका–६ का गोपाल थारूले बताए ।


‘यहाँबाट रिफर गरिएका बिरामीलाई भारत लैजानुपर्दा तत्काल भारु आवश्यक पर्छ,’ उनले भने,’ सर्वसाधारणका लागि बैंकले चाँडै भारु सटहीको व्यवस्था गरोस् ।’ राष्ट्र बैंकले भारु माग्न आउनेलाई नेपाली नागरिकता र अन्य प्रमाणका आधारमा प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म दिने गरेको छ ।


बिरामीबाहेक भारतमा अध्ययन गर्न जाने विद्यार्थी, तीर्थस्थल, बाबाधाम, गया, वाराणसीलगायत ठाउँमा जाने नेपाली समस्यामा परेको बताउँछन् । गुलरिया नगरपालिका–७ का दिनेश यादवले तीर्थाटन जान लाग्दा भारु नपाएर पीडित बनेको बताए ।


त्यसपछि कालोबजारीयासँग महँगोमा खरिद गर्न बाध्य भएको बताए । ४ वर्षअघि सम्म एक लटमा ४० लाख भारु राष्ट्र बैंकले वाणिज्य बैंक गुलरिया शाखामा पठाउने गरेको थियो । त्यसपछि भारु राष्ट्र बैंकले पठाउन छाडेको छ ।


उद्योग वाणिज्य संघले भारुको व्यवस्था यथा सीघ्र उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरे पनि कार्यान्वयन हुन सकेको छैन । नेपाली विद्यार्थी र वैवाहिक सम्बन्धका लागि भारत जाँदा भारु नपाएर पीडा भोग्नुपरेको उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज यादवले बताए ।


स्थानीय व्यवसायीले बैंक प्रबन्धकको कारण भारू उपलब्ध नहुनु दुर्भाग्य भएको गुनासो पोखेका छन् । चरम अभाव भएकै समय केही कालोबजारीले महँगोमा भारु बेच्ने गरेका छन् । वाणिज्य बैंकका सहायक प्रबन्धक महेशराज भट्टले बैंकबाट खरिद गरेको भारु रकमको दुरुपयोग नरोकिए र यसलाई व्यवस्थित नगरेसम्म कारोबार गर्दा समस्या आउने बताए । ‘आवश्यक भारुको लागि राष्ट्र बैंकलाई पत्रचार गरेका छौ,’उनले भने,’ बिचौलिया हटाएर व्यवस्थित ढंगले भारु सटहीको व्यवस्था गर्न स्थानीय प्रशासनसँग आग्रह गरेका छौं ।’

प्रकाशित : माघ २८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?