१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

घरमै सेनेटरी प्याड

नवीन पौडेल

परासी — महिनावारीका बेला यहाँका महिलाले फालिएका कपडाका टुक्रा प्रयोग गर्थे । ती सफा हुन्थेनन् । त्यसले विभिन्न संक्रमणको खतरा हुन्थ्यो । झन्झटिलो हुन्थ्यो ।

घरमै सेनेटरी प्याड

पश्चिम नवलपरासीका किशोरी र महिलालाई अहिले त्यसबाट छुट्कारा मिलेको छ । घरमै सुरक्षित सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेका छन् । सेनेटरी प्याड किन्न लाज मान्ने र खर्चिलो हुने भएपछि उनीहरूले आफैं तयार पारेर प्रयोग गर्न थालेका हुन् ।


विभिन्न संघसंस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय तहले स्वस्थ रहन सुरक्षित सेनेटरी प्याड प्रयोग गर्नुपर्ने अभियान सञ्चालन गरेपछि पुराना र थोत्रा कपडाका टालाको सट्टा आफंैले तयार गरेर प्रयोग गर्न थालेका हुन् । यहाँको पाल्हीनन्दन गाउँपालिकाकी कलावती मुसहरले महिनावारी भएको जानकारी घरका सदस्य र आफन्तलाई गराउन सकिनन् ।


त्यस्तो बेलामा फालिएका कपडालाई बेरेर प्याडका रूपमा प्रयोग गर्थिन् जसले गर्दा काम गर्न असहज र स्वास्थ्यमा असर पुगेको थियो । बजारमा उपलब्ध हुने सेनेटरी प्याड किन्न पैसा पनि हुन्थेन ।


जसोतसो रकमको जोहो गरे पनि गाउँका पसलमा प्याड बेच्न राख्दैनथे । बजारसम्म धाउनुभन्दा पुरानै कपडाले काम चलाउँथिन् । अहिले बनाउन जानेपछि खुसी छिन् । ‘पुराना टालाले स्वास्थ्यमा असर पुग्दोरहेछ । पहिले यसबारे जानकारी थिएन । अहिले थाहा पाएपछि झसंग भएँ,’ उनले भनिन्, ‘घरमा बसेर सेनेटरी प्याड बनाउन जानेपछि स्वास्थ्यसँगै रकम पनि बचत भएको छ । गाउँका अरू महिलालाई यसबारे बताउने गरेकी छु ।’


जनचेतनाका लागि अहिले गाउँ–गाउँमा यसबारे तालिम र प्रशिक्षण दिन सुरु गरिएको छ । पाल्हीनन्दन–२ का स्थानीय महिलाले तालिम लिएर धमाधम प्याड बनाइरहेका छन् । गाउँका ४४ महिलाले एकैपटक तालिम लिएका हुन् । उनीहरूले साथीहरूलाई यसको महत्त्व र प्रयोगबारे सिकाइरहेका छन् ।


प्याड नहुँदा फोहोर कपडाको प्रयोगले रोगको संक्रमण र पाठेघरमा पुग्ने असरबारे तालिममा सिकाइएको थियो । केहीले व्यावसायिक रूपमा उत्पादन गर्ने सोच बनाएका छन् । उक्त गाउँपालिका महिलाले मात्र होइन, देवचुलीका किशोरीले आफ्ना लागि आफैं प्याड बनाउँछन् ।


बजारमा पाइने प्याड एकपटक प्रयोग गरेपछि फाल्नुपर्ने र खर्चिलो हुने भएकाले उनीहरूले घरमा सुतीको कपडा, धागो प्रयोग गरेर आरामदायी प्याड तयार गर्ने गरेका छन् । किशोरी अवस्थादेखि सुरक्षित र स्वस्थकर प्याड प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले आफैं अभियानमा सहभागी भइरहेका छन् । उनीहरूले प्याड बनाउने मात्र होइन, पहिलो पटक महिनावारी हुँदाका क्षणबारे पनि सबै साथीहरूसँग अनुभव साटासाट गर्ने र महिनावारी हुने उमेर पुगेकालाई यसबारे जानकारी गराउने गर्छन् ।


देवचुलीकी १५ वर्षीया प्रभा वाग्ले घरमै प्याड बनाउँछिन् । पहिलो, दोस्रो पटक महिनावारी हुँदा किशोरी यसबारे खुलेर गफ गर्न हच्किन्थे । बजारमा गएर सेनेटरी प्याड किन्न लाज मान्ने भएकाले विभिन्न संघसंस्थाको सहयोगमा प्याड बनाउने तालिम सञ्चालन गरेपछि सहज भएको छ ।


‘अझै पनि महिनावारीलाई सहज रूपमा लिने गरिँदैन । यस्तो समयमा पुराना कपडा प्रयोग गर्दा विभिन्न संक्रमण हुने सम्भावना हुन्छ,’ वाग्लेले भनिन्, ‘अहिले रकमको बचत, प्याड किन्न बजार जानुपर्ने बाध्यता हट्नुका साथै फाइदा भएको छ ।’


अभियान मुलुकभरका स्थानीय तहले सञ्चालन गर्न सक्ने हो भने किशोरी तथा महिलामा यौन रोगसम्बन्धी संक्रमण कम हुनुका साथै महिनावारीबारे समाजमा रहेको नकारात्मक दृष्टिकोण हटेर जाने सरोकारवालाले बताए ।

प्रकाशित : माघ २९, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?