सामान्य बन्दै रुकुमकोट, हट्यो निषेधाज्ञा

कान्तिपुर संवाददाता

रुकुम पूर्व — रुकुमकोटको अवस्था सामान्य बन्दै गएको छ । अघिल्लो आइतबारदेखि लगाइएको निषेधाज्ञा हटाइएसँगै जनजीवन सामान्य बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालयले चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको थियो । 

‘एक हप्तादेखिको निषेधाज्ञा हटाइएपछि अवस्था सामान्य भइसकेको छ । मान्छेसँगै सवारी साधनको पनि आवतजावत सुरु भएको छ,’ स्थानीय व्यापारी विनोद केसीले भने, ‘सर्वसाधारणले निर्धक्क हिँडडुल तथा दैनिक काम गर्न थालिसकेका छन् ।’

जिल्ला सदरमुकामसम्बन्धी विवाद बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले ठूलो क्षेत्र समेटेर सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा निषेधाज्ञा जारी गरेको थियो । सर्वोच्च अदालतमा चलिरहेको सदरमुकामसम्बन्धी विवादको पेसी तोकिएको दिन नजिकिँदै गर्दा रुकुमकोट पक्षधर र गोल्खाडा पक्षधरले आन्दोलनका कार्यक्रम बढाउँदै आएका थिए । जिल्लाको सदरमुकाम रुकुमकोट हुनुपर्ने माग रुकुमकोट पक्षधरको छ भने गोल्खाडामा हुनुपर्ने माग गोल्खाडा पक्षधरको छ ।

जिल्लाको स्थायी सदरमुकाम गोल्खाडामा कायम गर्ने सरकारको निर्णय कार्यान्वयनको माग गर्दै गोल्खाडावासीले रुकुमकोटमा शान्तिपूर्ण र्‍याली गर्ने तयारी गरेपछि जिल्ला प्रशासनले रुकुमकोट पक्षधर र गोल्खाडा पक्षधरबीच विवाद बढ्ने भन्दै निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले निषेधाज्ञा हटाएपछि सवारीका साधन पनि नियमित भएका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपूर्व नै रुकुमकोटमा सवारी साधन आउजाउ बन्द गरिएको थियो । रुकुमकोट पक्षधरले आन्दोलन स्वरूप अनिश्चितकालीन रुकुमकोट ठप्प गरेसँगै रुकुमकोटमा सवारी साधनको आवतजावत बन्द भयो भने रुकुमकोट भएर चल्ने सवारीका साधन पनि रोकिए । निषेधाज्ञा हटेसँगै प्रशासनले थपेका सुरक्षाकर्मी पनि फर्काउन थालेको छ ।

प्रशासनले जिल्लाको अवस्था जटिल बन्न सक्ने भन्दै प्रदेश ५ को अस्थायी राजधानी बुटवलबाट थप सुरक्षाकर्मी झिकाएको थियो । सर्वोच्चमा विचाराधीन मुद्दा अब संवैधानिक इलजासमा सुनुवाइ हुने गरी आइतबार फैसला भएपछि जिल्लाको समग्र अवस्था सामान्य हुँदै गएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रकाशित : माघ २९, २०७५ १०:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वन्यजन्तु जोगाउन उच्चस्थली

नवीन पौडेल

परासी — अघिल्लो वर्ष नारायणीमा आएको बाढीले चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तु बगायो । गैंडा, बाघ, हरिण, बँदेल लगायत आँखैसामु बगेको सबैले देखे । त्यसरी बगेका प्राणीको तत्काल उद्धार गर्न सकिएन ।

पूर्वी नवलपरासीको गैंडाकोटदेखि पश्चिम नवलपरासीको सुस्तासम्म नदीको बहाव घटेपछि धेरै वन्यजन्तु मृत अवस्थामा भेटिएका थिए । बगेर मर्नेमा दुर्लभ एकसिंगेगैंडा पनि थिए । अधिकांश त्रिवेणी ब्यारेजमा अडकिएका थिए ।

भारत पुगेर अलमलिएका गैंडालाई लामो समयपछि फिर्ता ल्याइएको थियो । एउटा गंैडा सुस्ता हुँदै बच्चासहित निकुञ्जसम्म आइपुग्यो । यहाँ बसेनि बाढीका कारण वन्यजन्तु बग्ने खतरा बढेपछि नवलपुरको देवचुलीमा उच्चस्थली निर्माण गरिएको छ ।

नारायणी किनारमा अग्लो स्थान निर्माण गरिएको छ । बाढी आउँदा होस् या अन्य खतराका बेला वन्यजन्तु त्यही अग्लो स्थानमा आएर बस्न सकून् भन्ने उद्देश्यले उक्त स्थान बनाइएको हो । तराई भू–परिधि कार्यक्रम (ताल), मध्यवर्ती क्षेत्र र स्थानीय उपभोक्ताको पहलमा साढे ११ लाख रुपैयाँ लगानीमा मुलुकमा पहिलो पटक उच्चस्थली निर्माण गरिएको हो ।

बाढीले गैंडासँगै अन्य वन्यजन्तु बगाएर भारत पुर्‍याउने हुँदा सुरक्षाका लागि उक्त क्षेत्र बनाइएको उच्चस्थली निर्माण समितिका संयोजक नेत्र पाण्डेले बताए । ‘वन्यजन्तु हाम्रा सम्पत्ति हुन्, यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ उनले भने, ‘नारायणी वरपरका वन्यजन्तु बर्सेनि बगेर भारत पुग्ने गरेका छन् । धेरै त मर्छन् । त्यसैले सुरक्षाका लागि यस्तो उपाय अनपाएका हौं ।’ यो उपाय सफल भएमा अन्य स्थानमा पनि निर्माण गरिने बताए । अघिल्लो वर्ष आएको बाढी निकुञ्जभित्र पसेको थियो । त्यस क्रममा सुरक्षित स्थान अभावमा धेरै वन्यजन्तु बगेका थिए ।

जमिनबाट २ मिटर उचाइमा उच्चस्थलीमा निर्माण गरिएको छ । यसको मुख्य उद्देश्य गैंडा जोगाउने रहेको छ । गैडासँगै अन्य वन्यजन्तु आएर बस्न सक्छन् । निर्माण पूरा भएको तीन महिनामै गंैडा आएर आराम गर्न थालेको छ । त्यसमा अन्य वन्यजन्तु पनि रमाउने गरेको स्थानीय ढुण्डीराज केसीले बताए । ‘मानिसलाई बाढी बाट जोगाउन पूर्वतयारी आवश्यक परेजस्तै वन्यजन्तु र र त्यसमा पनि लोपोन्मुख जनावरको संरक्षणमा पूर्वतयारी आवश्यक देखियो,’ उनले भने,‘ मुलुकभरका ठूला नदी किनारमा यस्तो स्थल निर्माण आवश्यक छ ।’

खानेपानी योजना
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगत गुन्द्रही ढकाहा सामुदायिक वनभित्र वन्यजन्तुका लागि पानी तान्ने बोरिङ गाडिएको छ । मध्यवर्ती वनमा पहिलोपटक स्वचालित पानी तान्ने बोरिङ जडान गरिएको हो ।

वन्यजन्तुको स्थायी बासस्थान निर्माणका लागि वनभित्र सौर्य ऊर्जाबाट सञ्चालन हुने बोरिङ गाडिएको हो । आवाज नआउने भएकाले वन्यजन्तुलाई असर नगर्ने संरक्षणकर्मीले बताए । करिब ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी योजनाले सुक्न लागेका सिमसार क्षेत्रको अस्तित्व जोगाएको छ । घाम लाग्न सुरु भएपछि यसले लगातार पानी फ्याँकिरहन्छ ।

गर्मी तथा हिउँद याममा वनभित्रका सिमसार क्षेत्रमा पानी सुक्न जाँदा वन्यजन्तुका लागि पानीको अभाव हुन जान्छ । वन्यजन्तु पानीका लागि भौंतारिन नपरोस् भन्ने उद्देश्यले खानेपानी योजना सञ्चालन गरिएको स्थानीय नरबहादुर महतोले बताए । ‘मानवलाई जस्तै वन्यजन्तुलाई पनि पर्याप्त पानी र सिमसार क्षेत्रको आवश्यकता छ । ‘वन्यजन्तु देखाएर पर्यटन व्यवसाय चलाएका छौं ।त्यसैले तनका लागि उपयुक्त वातावरण बनाउनु आवश्यक छ ।’ पानी भएको स्थानमा गंैडा, मृगजस्ता प्राणी आउने भएकाले जंगल सफारी गर्ने पर्यटकले सजिलै हेर्न पाएको उनले बताए ।

प्रकाशित : माघ २९, २०७५ १०:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT