२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

द्वन्द्वपीडितको जीवन–‘छोरा जिउँदो भए घर भरिलो हुन्थ्यो’

वृद्ध दम्पतीका लागि ऊर्जामन्त्री पुनको पहलमा नयाँ घर   िघर पाए पनि उपचारको चिन्ताले सताइरहन्छ 
काशीराम डाँगी

रोल्पा — तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्वका क्रममा छोरा गुमाएका जिल्लाको जेलबाङका ८२ वर्षीय मंगले बुढा अचेल टोलाइरहन्छन् । २२ वर्षको उमेरमा एक्लो छोरो भुवन गुमाएपछि उनी विरक्तिएका हुन् ।

द्वन्द्वपीडितको जीवन–‘छोरा जिउँदो भए घर भरिलो हुन्थ्यो’

बुढेसकालमा एक्लिएपछि मंगले र पत्नी फुर्कीले नीरस जीवन बिताइरहेका छन् । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा छोरा सुरक्षा फौजबाट मारिएका थिए । त्यसबेलादेखि परिवार पीडामा डुबेको छ । ‘छोरा युद्धमा मारियो, छोरीको बिहे भयो,’ ७५ वर्षीया फुर्कीले भनिन्, ‘हामी एक्लै भयौं ।’ उनीहरू अहिले सहाराविहीन छन् ।


पति बिरामी परेर थलिएका छन् । हेरचाह गर्ने उनीबाहेक कोही छैन । त्यसैमा बितेको छ फुर्कीको दैनिकी । आफैं पनि वृद्धा, झन् घर सम्हाल्नुपर्ने जिम्मेवारीले फुर्की पनि तनावमा छिन् । गलेका नाडी चलाउँदै वृद्धा बिहान–बेलुका भान्सामा खटिन्छन् । उनीहरूको दैनिकी कष्टसाथ चलिरहेको छ ।


करिब २ वर्षअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन पहिलोपटक सुनछहरी–४, जेलबाङस्थित उनीहरूको गाउँ पुगे । छोरा गुमाएपछि कष्ट बेहोरेर पुरानो घरमा बस्दै आएका दम्पतीलाई भेटे । उनीहरूको बेहाल देखेर मन्त्री पुन र पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगरले आँसु झारेका थिए ।


पुन दम्पतीको पहलमा करिब ११ लाख रुपैयाँको लगानीमा नयाँ घर निर्माण गरियो । घर निर्माणमा पुन दम्पतीले ६/६ महिनाको तलब खर्च गरेको बताए । अन्य स्रोत दाताबाट जुटाएका थिए । वृद्ध दम्पतीका लागि नयाँ घर त बन्यो तर उनीहरूको हेरचाह र स्वास्थ्य उपचारमा ध्यान दिने कोही छैन । सदरमुकाम लिबाङदेखि २० कोषपूर्वको सुनसान जेलबाङ गाउँमा वृद्ध दम्पती बस्दै आएका छन् ।


छोरा भुवन तत्कालीन संयुक्त सुरक्षा फौजको गोली लागेर ०५९ माघ १९ गते मारिएका थिए । ‘ऊ बाँचेको भए, अहिले नाति–नातिना भइसक्थे,’ ओछ्यान परेका मंगलेले भने, ‘घर भरिलो हुन्थ्यो । रमाइलो हुन्थ्यो ।’


दम्पतीले जति कोसिस गरे पनि पीडा भुल्न सकेका छैनन् । बिहे गरेर गएकी दुई छोरी र भान्जा (मगर समुदायमा ज्वाइँलाई भान्जा भन्ने चलन छ) ले रेखदेख गरे पनि सधैं सम्भव छैन । राजनीतिक विचारप्रति सचेत तर प्रतिक्रिया दिन नसक्ने मंगलेले भने, ‘अनाहकमै यत्रो पीडा भोग्नुपर्‍यो ।’ उनी अहिले बिरामी छन् । थला परेका वृद्धलाई सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले केहीअघि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गराउने प्रबन्ध मिलाएका थिए । उनको रोग पत्ता लागेको छैन ।


पतिलाई सुविधासम्पन्न अस्पतालमा लैजाने क्षमता नभएको फुर्कीले बताइन् । ‘ठूला अस्पताल लगेर जँचाउन पैसा पनि छैन,’ उनले भनिन्, ‘बाटैमा केही भयो भने म एक्लीले के गर्ने ?’ जेलबाङका वडाध्यक्ष टीकाबहादुर बुढाले पनि दम्पतीको उपचारका लागि आर्थिक समस्या भएको बताए । ३ साताअघि जेलबाङ पुगेका मन्त्री पुनले बिसेक नभए राजधानी काठमाडांै ल्याउन निर्देशन दिएर फर्किए । कसले लैजाने, खर्च कसरी जुटाउने चिन्ता छ । आफन्त नभएकाले उपचार गर्ने प्रबन्ध मिलाउने व्यक्ति नभएको स्थानीयले बताए ।


तत्कालीन माओवादीले जिल्लालाई आधार बनाएर सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वबाट थुप्रैलाई मानसिक, शारीरिक, पारिवारिक, आर्थिक र भौतिक क्षति पुगेको छ । गाउँपालिकाका अध्यक्ष पुनले वृद्ध दम्पतीलाई छोरी, ज्वाइँ र आफन्तले हेरचाह गर्दै आएको बताए । छोरा नभए सम्पत्ति टाढाका भाइ–गोत्रलाई बाँड्नुपर्ने परम्परागत चलनले छोरीहरू सकसमा परेको उनले बताए ।


‘छोरा नभए पनि छोरीलाई अंश दिन सकिने र उनीहरूले हेरचाह गर्न सक्नेबारे यसअघि छलफल भएको छ । अब पुन: कचहरी बसेर मिलाउनुपर्नेछ,’ अध्यक्ष पुनले भने । जेलबाङमा तत्कालीन राज्य पक्षबाट ६२ सहित ७३ जनाले ज्यान गुमाएका थिए । खामभाषी मगरको मात्रै बसोबास रहेको जेलबाङमा ४ सय ७२ भन्दा बढी घरपरिवारको बाक्लो बस्ती छ ।


मंगलेजस्ता युद्धका पीडित परिवारले कष्टकर जीवन बिताउँदै आएका छन् । सरकारले पीडितलाई न्याय दिलाउन सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजी आयोग गठन गरे पनि प्रभावकारी बनेको छैन । शान्ति सम्झौतालगत्तै नेताहरूले द्वन्द्वपीडितलाई संक्रमणकालीन न्याय दिलाउने लिखित प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन ।

प्रकाशित : फाल्गुन २, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?