बालक जलेर बिरूप

गिरुप्रसाद भण्डारी

प्यूठान — तातो तेलमा जलेर बिरूप बनेका नातिको फोटो देखाउँदै प्यूठान नगरपालिका–३, सेपुङका टोपबहादुर खड्का दम्पती आर्थिक सहयोगका लागि भौंतारिइरहेका छन् । नाबालकको फोटो देख्दा गाउँका धेरै मानिस झस्किन्छन् र आँसु झार्छन् ।

नातिको रूप नै बिग्रेपछि टोपबहादुर दम्पतीको भोकनिद्रा सबै हराएको छ । ‘हजुरको सानो सहयोगले नाति बचाउन सक्छौं कि’ भन्दै हिंड्ने दम्पतीलाई उनका छिमेकीले गच्छेअनुसारको सहयोग गरेका छन् । तर, बालकको उपचार पूरा भएको छैन । ऋण खोजेर जम्मा गरेको १२ लाख रुपैयाँ बढी खर्च भइसकेको छ । उपचार खर्च अझै बढ्ने भएपछि दम्पतीलाई नातिको उपचार कसरी गर्ने भन्ने पिरलो छ ।


गत असार ३ गते पुरी बनाउन उमालिरहेको तातो तेलमा परेर २ वर्षका नाति शिशिर जलेका थिए । अहिले उनको काठमाडांै कीर्तिपुरमा उपचार भइरहेको छ । जिल्ला अस्पताल बिजुवार, बुटवल हुँदै उनलाई कीर्तिपुर पुर्‍याइएको हो । ‘छोरा–बुहारीले नातिको उपचार गर्न उता लगेका छन्,’ टोपबहादुरले भने, ‘हाम्रो ज्यान यता भए पनि मन उतै छ ।’ सुरुमा नातिको जलेको फोटो देख्दा होस हराए पनि हिजोआज फोटो देखाएर सहयोग रकम जुटाउने गरेको टोपबहादुरले बताए ।


छिमेकीको मृत्युपछि तेह्रौं दिनको कार्यक्रममा पुरी पकाउने क्रममा घटना भएको शिशिरकी हजुरआमा देवी खड्काले बताइन् । ‘खसी बेचेर जम्मा भएको ७ हजार रुपैयाँ दिएर उपचार गर्न पठाएका हौं,’ उनले भनिन्, ‘तातो तेलले धेरै जलेको रहेछ । ५ महिनामा पनि निको भएन ।’ उनीहरूले शिशिरको पहिलेको फोटो हेर्नै सक्दैनन् । खड्का परिवारलाई बालकको उपचार गर्न सबैले दक्षअनुसारको सहयोग गरेको छिमेकी मीनबहादुर कुँवरले बताए । ‘अनौठो घटना भयो,’ उनले भने, ‘उम्लिरहेको तेलमा बालक पर्दा सबै निराश भयौं ।’


साथीसँग खेलिरहेका शिशिर उछिट्टिएर पुरी पकाउन उमालिरहेको तेलमा परेका थिए । पानी लिन गएकी आमा फर्केर आउँदा छोराको त्यो अवस्था देखेर त्यहीं ढलिन् । भारतमा रहेका बुबा राजु खबर पाएको केही दिनमै घर फर्केर उपचारमा लागेका छन् । ‘चरण–चरणको शल्यक्रियाले शिशिरलाई यो अवस्थामा ल्याउन सकियो,’ उनले टेलिफोनमा भने, ‘छोराको ज्यान त बच्यो तर त्यो सुन्दर अनुहार र शरीर बिरूप भो ।’


उनले कान, नाक गालालगायतमा शल्यक्रिया गर्नुपर्ने भएकाले अझै ४/५ महिना लाग्ने चिकित्सकले बताएको सुनाए । ५ महिना अस्पतालमा बसेपछि अहिले उनीहरू काठमाडौंमै डेरामा बसेर उपचार गराइरहेका छन् ।


‘छोराको उपचारमा १ लाख ८० हजार रुपैयाँ सहयोग जुटेको छ,’ उनले भने, ‘दु:ख परेका बेला नचिनेकाले पनि सहयोग गर्दा रहेछन् ।’ दुर्घटनापछि शिशिर झनक्क रिसाउने भएको आमा यशोदाले बताइन् । ‘आफ्नो अनुहार ऐनामा हेरेपछि भूत आयो भनेर चिच्याउन थाल्छ,’ उनले भनिन्, ‘कतैबाट सहयोग जुट्यो भने शिशिरले देख्ने भूतको अनुहार मान्छेको बनाउने हाम्रो सपना छ ।’

प्रकाशित : फाल्गुन २, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?