मदारबाबा थानमा स्वामित्व विवाद

नवीन पौडेल

परासी — मुस्लिम र हिन्दु समुदायको आस्थाको केन्द्र मानिने नवलपरासीको मदारबाबा थानको स्वामित्व कसले लिने भन्नेमा विवाद उत्पन्न भएको छ ।

मेला सञ्चालन गर्ने समिति पश्चिम नवलपरासीमा दर्ता भएको र मेला स्थल पूर्वी नवलपरासीमा परेपछि विवाद बढेको हो । पूर्वी नवलपरासीका स्थानीय र पश्चिम नवलपरासीका स्थानीयले मेला आयोजनाका लागि आ–आफ्नो दाबी पेस गरेपछि किचलो बढेको छ ।


भौगोलिक रूपमा मदारबाबा थान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीको भनाइ छ । मदारबाबा थान यसअघि एउटै जिल्ला हुँदा साबिकको कुडिया गाविसमा रहेको थियो ।


मदारबाबा थानमा हरेक वर्ष फागुन महिनामा मेला लाग्ने गर्छ । यस वर्ष पनि आउँदो फागुन १२ गतेबाट मेला सुरु हुनुपर्ने हो । तर, मेलाको व्यवस्थापन पूर्वी नवलपरासीअन्तर्गत रहेको व्यवस्थापन समिति र पश्चिम नवलपरासीको समितिले गर्ने दाबी

नछाडेपछि अन्योल बढेको छ ।


मदारबाबा थानको संरक्षण र विकासका लागि दुईवटा व्यवस्थापन समिति गठन भएका छन् । जिल्ला एउटै हुँदा निर्माण गरिएको समितिले नै मेलाको व्यवस्थापन गर्दै आएको थियो तर नवलपरासी विभाजित भएपछि पूर्वी नवलपरासीमा बसोवास गर्दै आएका स्थानीयले ६ महिनाअघि जमालुद्दिन अन्सारीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेका थिए । सोही व्यवस्थापन समितिले मेलाको व्यवस्थापन गर्न पाउनुपर्ने माग गर्दै आए पनि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले बेवास्ता गर्दै आएको

स्थानीयको आरोप छ ।


वैधानिक रूपमा नै समिति दर्ता गर्न ६ महिनादेखि जिल्ला प्रशासन धाए पनि प्रशासनले विभिन्न बहानामा आलटाल गर्दै आएको अध्यक्ष जमालुद्दिन अन्सारीको आरोप छ । मेला लाग्ने समय नजिकै आइसकेकाले मेलाको तयारीका लागि समेत समय अभाव हुने भएकाले यस विषयलाई छिट्टै टुंगो लगाउन स्थानीयले आग्रह गरेका छन् । मेला व्यवस्थापनको जिम्मा आफूहरूले नपाएमा अरूलाई पनि काम गर्न नदिने दुवै समितिले चेतावनी दिएका छन् ।


मदार बाबाको मुख्य स्थल अहिले सुस्ता गाउँपालिकाको महलबारी बजारबाट करिब ९ किलोमिटरको दूरीमा पहाडी क्षेत्रमा पर्छ । मेलामा हरेक वर्ष १० लाखभन्दा बढी भक्तजन आउने गर्छन् ।


मुस्लिम र हिन्दु धर्म मान्ने छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य संख्यामा भक्तजन मेला भर्न आउने गरेका छन् । हरेक वर्ष लाखौं रुपैयाँ दान र भेटीबापत संकलन हुने हँुदा व्यवस्थापनका लागि हानथाप बढिरहेको छ ।


विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले मदार बाबा थान जिल्ला विभाजनपछि विनयी त्रिवेणीमा पर्ने भएकाले त्यसको स्वामित्व लिनका लागि पहल गरिरहेको बताए । गत वर्ष पश्चिम नवलपरासीअन्तर्गतको समितिले मेला सञ्चालन गरे पनि यस वर्ष आफूहरूले नै मेला संचालन गर्ने उनको भनाइ छ ।


पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले यस विषयमा बिहीबार छलफल गरेर टुंगो लगाउने बताए । पहिलेदेखि नै पश्चिम परासीमा दर्ता गरेको समिति भएकाले एउटै संस्थामा दुईवटा समितिलाई मान्यता दिन नसकिएको उनले बताए ।


पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पूर्वी र पश्चिम नवलपरासीको सिमाना अझै पनि स्पष्ट नभएकाले यो विवाद जिल्लाको नभई प्रदेशको भएको बताए । ‘मेलास्थल जाने बाटो, व्यवस्थापन सबै प्रदेश ५ को सुस्तामा पर्ने र मुख्य दर्शन गर्ने स्थान पहाडको फेदीमा भएकाले यसको सीमांकनमा समस्या देखिएको उनले बताए । ‘आधिकारिक रूपमा दर्ता भएको संस्था पश्चिम नवलपरासीमा रहेकाले अहिले पनि त्यसै समितिले मेला सञ्चालन गर्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?