३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उराठ बन्दै सदरमुकाम गुलरिया, व्यावसायिक कारोबार प्रभावित

कमल पन्थी

बर्दिया — स्थानीय तहमा कार्यालय स्थानान्तरण हुँदै गएपछि सदरमुकाम गुलरियाको चमक हराउँदै गएको छ । सुनसान र उराठ देखिन थालेको गुलरियामा व्यापारिक कारोबार पनि प्रभावित भएको छ ।

गाउँ–गाउँबाट आउने सेवाग्राहीले स्थानीय तहबाटै सेवा पाउन थालेपछि सदरमुकामको चहलपहल र रौनक हराउँदै गएको हो ।


बढी भीडभाड हुने मालपोत र नापी कार्यालयका शाखा राजापुरमा स्थापना भएको करिब डेढ वर्ष भयो । इलाका प्रशासन कार्यालय राजापुर र बाँसगढीमा स्थापना भएको छ । बैंकिङ सेवा पनि जिल्लाका आठै स्थानीय तहमा पुगेको छ । विस्तारै सबै कार्यालयका सम्पर्क कार्यालय स्थानीय तहमा खुल्न थालेपछि यहाँका व्यापारिक प्रतिष्ठानको कारोबार खस्किंदै गएको व्यवसायीहरू बताउँछन् । स्थानीय पुराना थोक व्यवसायी नन्दकिशोर गुप्ताले व्यावसायिक कारोबार घट्दै गएको गुनासो गरे । सदरमुकामका होटल व्यवसायी पनि कारोबार घट्दै गएकामा चिन्ता व्यक्त गर्छन् ।


स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसक्यो । एकै वर्षमा सदरमुकाम गुलरियाको विकासले गति लिने आशामा बसेका यहाँका बासिन्दा अहिले निराश बनेका छन् । जिल्लाको पुरानो बजार गुलरिया आउने जोसुकैले सुनसान सदरमुकाम देखेर आश्चर्य मान्छन् । पूर्वाधार र विकासमा सदरमुकाम निकै पछाडि परेको छ ।


सदरमुकामको लाइफ लाइन मानिने हुलाकी सडक अस्तव्यस्त छ । प्रहरीचोकदेखि सहिदगेटसम्मको सडकमा जताततै खाडलै खाडल छन् । नगरपालिका र जिल्ला प्रशासन कार्यालयअगाडि हुलाकी सडक भत्किएर पानी जम्न थालेको वर्षाैं भयो तर मर्मतसम्भार अझै हुन सकेको छैन । धूलाम्य सडकमा सवारी साधन गुड्नासाथ सर्वसाधारण मुख छोपेर हिँड्न बाध्य छन् ।


५ वर्षअघि निर्माण भएको ढल पुरिएर निकाससमेत बन्द हुँदा दुर्गन्धले बसिसक्नु छैन । जनप्रतिनिधिहरू विकासभन्दा छलफल र गोष्ठीमा मात्रै सीमित भएको नगरवासीको गुनासो छ । गत वर्षका विकास योजनाका काम सुरु भए पनि अपूरा छन् । गुलरिया बजार अतिक्रमणको पनि चपेटामा परेको छ । सडक ओगटेर राखिएका टहरासहितका पसल र ठेलाले आउजाउमा समस्या परेको छ ।


सदरमुकामको पुरानो बजार भन्सार रोड, प्रहरी चोक हुँदै बसपार्कसम्म सडक अतिक्रमणले यातायातका साधन र पैदल यात्रुलाई आउजाउमा समस्या परेको स्थानीयले बताए । विगतमा अतिक्रमण गरी बनाइएका टहरा र ठेला नगरपालिकाले हटाउने प्रयास गरे पनि अहिले फेरि जस्ताको त्यस्तै भएको छ । सडकमा बनाइएका नालीबाहिर टहरा वा सवारी आवागमन र आउजाउमा बाधा नहुने गरी व्यवसाय चलाउन नगरपालिकाले दिएको निर्देशन व्यवसायीले अटेर गरेको नगरपालिकाका एक कर्मचारीले बताए ।


नगरपालिका र स्थानीय प्रशासनले खासै चासो नदिएका कारण पनि सडक अतिक्रमण बढ्दै गएको गुनासो स्थानीयको छ ।

‘नगरपालिकाको आफ्नै हालत अस्तव्यस्त छ । सदरमुकामको अवस्था हेर्दै दिक्क लाग्छ,’ बगलामुखी राधाकृष्ण थारू माविका शिक्षक सूर्य चौधरीले भने । निर्वाचनको समयमा मतदातासँग वाचा गरे पनि सत्तामा पुगेपछि बिर्सिने गरेको उनले बताए ।


‘नागरिकको आवाज नपुगेकाले पनि यस्तो अवस्था आएको हो,’ उनले भने । नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले हुलाकी सडकमा भएको अतिक्रमण स्थानीय प्रशासन र राजनीतिक दलको सहयोगमा हटाइने बताए । सडक अतिक्रमण हटाएपछि ढल निकासलाई व्यवस्थित गर्ने, दुवै किनारामा रूख लगाई हराभरा पार्ने र सहरलाई सफा बनाउने योजना रहेको उनले सुनाए । ‘बाढीले २ महिना काम गर्न पाइएन,’ उनले भने, ‘लगत्तैको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण विकास निर्माणले गति लिन नपाएको हो ।’


६० हजार जनसंख्या रहेको गुलरिया नगरपालिकामा ७५ प्रतिशत ग्रामीण क्षेत्र छ । उद्योग, कलकारखानासमेत नरहेको सदरमुकाम गुलरियालाई बबई नदीको कटान र बर्सेनि आउने बाढीले सताएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?