१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काठमाडौं जोड्ने फेरिएको बाटो

सजिलो मध्यपहाडी लोकमार्ग
हरि गौतम

रुकुमपूर्व — पछिल्लो समय सिस्ने गाउँपालिका–६ का मोहनकुमार केसीको काठमाडौं आउजाउ गर्ने बाटो फेरिएको छ । केही समयअघिसम्म उनी घरदेखि पश्चिम हुँदै काठमाडौं आउजाउ गर्थे । पछिल्लो समय घरदेखि पूर्व भएर काठमाडौं आउजाउ गर्न थालेका छन् ।

काठमाडौं जोड्ने फेरिएको बाटो

पहिले हिँडेको भन्दा अहिले हिँड्ने बाटो उनलाई छोटो त लाग्छ नै रमाइलो र सजिलो पनि लाग्न थालेको छ । केसी मात्रै होइन जिल्लाका अधिकांश अहिले संघीय राजधानी जान यही बाटो प्रयोग गर्छन् ।


यसअघि मध्यपहाडी लोकमार्ग, राप्ती लोकमार्ग र महेन्द्र राजमार्ग हुँदै काठमाडौं पुग्ने जिल्लावासी पछिल्लो समय मध्यपहाडी लोकमार्ग, पृथ्वी राजमार्ग भएर नारायणगढ हुँदै काठमाडौं जान थालेका हुन् । निर्माणाधीन मध्यपहाडी लोकमार्गसँग जिल्ला जोडिएपछि जिल्लावासी बागलुङ, पर्वत, कास्की, तनहुँ हुँदै चितवन भएर काठमाडौं जान थालेका छन् ।


यो रुट जिल्लावासीका लागि अघिल्लो रुटभन्दा छोटो छ । रुकुमपश्चिम, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, चितवन हुँदै काठमाडौं पुग्ने यसअघिको रुटभन्दा हाल प्रयोग भइरहेको रुट झन्डै २ सय किमि छोटो छ । बागलुङ, पर्वत, कास्की, तनहुँ हुँदै चितवन भएर काठमाडौं पुग्न ४ सय २८ किमि पार गर्नुपर्छ भने पहिलेको रुकुमपश्चिम, सल्यान, दाङ हुँदै काठमाडौं पुग्न ६ सय ३८ किमि यात्रा तय गर्नुपथ्र्यो । छोटो बाटो, रमाइलो अनि खानपानसमेत राम्रो हुने भएपछि जिल्लावासी नयाँ रुट हुँदै काठमाडौं जान थालेका हुन् ।


‘सबै हिसाबले पूर्वपट्टिको नयाँ रुटबाट काठमाडौं जान हामीलाई सजिलो छ,’ केसीले भने, ‘जिल्लाका अधिकांश मानिस यही रुट भएर काठमाडौं जान्छन् ।’ रुट छोटो, सडक रमाइलो भएकाले अधिकांश यात्रु गाडी रिजर्भ गरेर नै उक्त रुटबाट आउजाउ गर्ने गरेको उनले बताए । मध्यपहाडी यस लोकमार्गमा सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेकाले वर्षायाममा समेत सडक सञ्चालन हुने उनले बताए ।


सिस्ने गाउँपालिकाको कैचीमोडदेखि भूमे गाउँपालिका १ को पातिहाल्ने र बाग्लुङ जिल्लाको सीमासम्म ४५ किमि मध्यपहाडी लोकमार्ग छ । उक्त खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ । सडक कालोपत्रे भएपछि पोखरा, काठमाडौं आउजाउमा धेरै सजिलो हुने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।


राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जिल्लालाई सहरसम्म जोडन महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष बुढाको भनाइ छ । मध्यपहाडी लोकमार्ग स्तरोन्नतिको काम सकिएपछि जिल्लामा उत्पादित वस्तु बाहिर पठाउन तथा बाहिरबाट ल्याउनुपर्ने सामान भित्र्याउन सजिलो हुने उनले बताए ।


‘मध्यपहाडीले समग्र रूपमा जिल्लावासीलाई सजिलो बनाउँदै लगेको छ,’ अध्यक्ष बुढाले भने, ‘अब हामीले सडकको अधिकतम उपयोग गरेर यसबाट धेरै फाइदा लिन सक्नु नै सडकसँग जोडिएको औचित्य हुन्छ ।’


मध्यपहाडी लोकमार्गले सिस्ने र भूमे गाउँपालिकाका महत्त्वपूर्ण क्षेत्र छोएको छ भने पुथाउत्तरगंगा गाउँपालिकाको सहायक सडकसँग जोडिएकाले जिल्लाका अधिकांश ठाउँको पहुँचमा मध्यपहाडी लोकमार्ग छ । हाल भूमे गाउँपालिकाको लुकुमबाट काठमाडौंका लागि नियमित बस छुट्छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?