कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रदेशसभाको एक वर्ष– ‘समृद्धिको आधार वर्ष’

कान्तिपुर संवाददाता

रूपन्देही — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले विकासको गति लिन नसके पनि जनतामा आशा र भरोसा पैदा गर्ने काम गरेको बताएका छन् । सरकार शून्यबाट अघि बढेकाले प्रदेश सरकारको आधार तयार भएको र आउने वर्ष विकासमा रोलमोडल र समृद्धिको वर्ष हुने बताए । 

प्रदेशसभाको एक वर्ष– ‘समृद्धिको आधार वर्ष’

सरकार गठनको १ वर्ष पुगेको दिन फागुन ३ गतेलाई प्रदेश सरकारले दिवसका रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदासमेत दिएको छ ।

सोही अवसरमा आयोजित प्रभातफेरीपछिको सभामा पोखरलेले संघीय सरकारबाटै साझा सूचीका कानुन निर्माण र संविधानसँग बाझिएका कतिपय संशोधन गर्नुपर्ने कानुन संशोधनमा विलम्ब हुँदा त्यसको असर प्रदेश सरकारमा परेको बताए । ‘संघीयताको प्रमुख आधार प्रदेश सरकार हो भन्ने स्थापित गराउन सरकार सफल भएको छ,’ उनले भने, ‘तर, संघीय सरकारबाटै कानुन निर्माणमा भएको विलम्बले प्रदेश सरकारले जनअपेक्षाअनुरूप गति लिन सकेको छैन ।’

मन्त्रायलका कुर्सीदेखि भवन व्यवस्थापनसम्मका सबै काम सरकार गठनपछि मात्र सुरु भएको भन्दै न्यून कर्मचारी समस्याबीच केही तर महत्त्वपूर्ण काम गरेको बताए । उनले प्रदेशका ३४ स्थानीय तहमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, ५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम, भूमिहीन किसानलाई करार खेती योजना, प्रदेशका सबै स्थानीय तहमा खेल मैदान, एक पालिका एक बहुउद्देश्यीय भवन, खरको छानो हटाउने अभियानलाई समेत महत्त्वपूर्ण उपलब्धि र जनतामा प्रदेश सरकार चिनाउने प्रयास भएको बताए । प्रदेश सरकारले कृषिलाई समृद्धिको आधार बनाएको छ । कृषि क्षेत्रको आधुनिकीकरण र त्यसको समग्र विकासपछि समृद्धिको दीर्घकालीन आधार पर्यटनलाई बनाउने नीति छ ।

मुख्यमन्त्री पोखरेलले त्यसका लागि लुम्बिनी क्षेत्रको विकासका लागि सरकारले आवश्यक सबै तयारी गरिरहेको भन्दै मोनोरेलको सम्भाव्यता अध्ययनका लागि विभिन्न देशसँग छलफल जारी रहेको बताए । उनले ०७६ को बुद्ध पूर्णिमाको दिन लुम्बिनी भ्रमण वर्ष सुरु गर्ने तयारीमा रहेको जानकारी गराए । चालु वर्षकै बजेट १० प्रतिशत मात्र खर्च भएको अवस्थामा प्रदेश सरकार लगानी सम्मेलन गर्ने तयारीमा छ । ‘हामी स्रोत जुटाउन विभिन्न दाताको उपस्थितिमा लगानी सम्मेलनको तयारीमा छौं,’ उनले भने, ‘त्यसले पनि विकासमा गति दिन सहयोग गर्नेछ ।’

उनले शुक्रबारको कार्यक्रममा पनि प्रदेश सरकारले राजधानी तोक्न नसकेको विषयमा प्रस्टयाए । राजधानी कहाँभन्दा पनि कस्तो बनाउने भन्ने विषयमा बहस चलाउन आग्रह गर्दै आएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको अधिकारको विषय र समिति बनेर काम गरिरहेकाले अहिले सडकमा बहसको विषय बनाउनु जरुरी नरहेको बताए । ‘स्थायी राजधानी र नामकरण ठाउँ विशेषको आग्रहबाट होइन,’ उनले भने, ‘भूगोल र विकासका दृष्टिले उपयुक्त स्थानको छनोट हुनुपर्छ ।’

दिवसको अवसर पारेर प्रदेश प्रमुख उमाकान्त झाले सरकारले १ वर्षको अवधिमा गरेका गतिविधि समेटिएको ‘प्रदेश स्थापनाको १ वर्ष’ नामक पुस्तक विमोचन गरेका छन् । प्रदेश स्थापनाको १ वर्ष र बुटवल उपमहानगरपालिकाको ६० औं स्थापना दिवसको अवसर पारेर दुवै संस्थाले शुक्रबार संयुक्त प्रभातफेरीसहित कार्यक्रम गरेका थिए ।

बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको र्‍याली बुटवल मण्डपमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा प्रदेशको कला, संस्कृति र रहनसहन झल्कने विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?