१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रदेश खोज्दा भेटिने बनाएका छौँ : मुख्यमन्त्री पोख्रेल

दुर्गालाल केसी

दाङ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अरूभन्दा महत्त्वपूर्ण काम गरेर प्रदेश खोज्दा भेटिने बनाएको बताएका छन् । प्रेस सङ्गठनले शनिवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले एक वर्षको अवधिमा उल्लेखनीय काम गरेको बताए ।

प्रदेश खोज्दा भेटिने बनाएका छौँ : मुख्यमन्त्री पोख्रेल

प्रदेशका आधारभूत संरचना निर्माण, संसदीय अभ्यासका लागि आवश्यक समिति गठन, आवधिक योजनाको थालनी र विकासको योजनाबद्ध सुरुवात गरेको पोख्रेलले बताए । प्रदेश सरकार कता छ भनेर खोज्दा सजिलै भेटिने अवस्था सिर्जना गरेको उनले दाबी गरे । ‘हामी अन्य प्रदेशभन्दा अगाडि बढेका छौँ । हाम्रो काममा जनताको उत्साहजनक साथ छ,’ उनले भने,‘प्रदेश दिवस मनाउँदा ६ ठाउँबाट सुरु गरिएको सरसफाइ अभियानमा जनताको उल्लेख्य सहभागिता रह्यो । हामी जनतासँग सडकमै भेटिएका छौँ ।’


काठमाडौँ केन्द्रित शासन व्यवस्थाको अभ्यास गर्दै आएका नेताहरूलाई सङ्घीयताको विकेन्द्रीत अभ्यास गर्न कठिन हुनुपर्नेमा त्यसो हुन नदिएको उनले बताए । ‘वर्षौँदेखि शक्ति एक ठाउँमा केन्द्रित गरेर बस्ने बानी बस्यो,’ उनले भने,‘पहिलोपटक शक्ति विकेन्द्रित गरेर काम गर्दा गाह्रो हुनुपर्ने हो तर त्यस्तो हुन पाएको छैन । हामीले सबै सम्भव बनाएका छौँ ।’


स्थानीय तहसँग सहकार्य र सहअस्तित्वमा आधारित रहेर काम गरिरहेको उनले बताए । स्थानीय तहसँग छलफल र परामर्श गरेर योजना निर्माण र कार्यान्वयन गर्ने गरेको पोख्रेलले बताए । ‘स्थानीय तहसँग सहकार्य गरेर प्रदेशका कामलाई प्रभावकारी बनाएका छौँ,’ उनले भने,‘सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई पूर्ण पालना गरेका छौँ ।’


नेकपाका प्रदेश इन्चार्ज समेत रहेका पोख्रेलले प्रदेशका अधिकांश स्थानीय तहमा नेकपा एकता प्रक्रिया टुंगिसकेको बताएका छन् । कतिपयमा वडा तहसम्म एकता सम्पन्न भैसकेको उनले बताए । पार्टी एकताबारे समाजमा जति भ्रम सिर्जना गरिए पनि त्यस्तो केही नभएको उनले दाबी गरे ।


‘विपक्षीहरूले पार्टी र सरकारबारे नकारात्मक भ्रम फिजाइरहेका छन् । त्यसबाट भ्रममा पर्नुहुँदैन,’ उनले भने,‘सरकारले गति लिइरहेको छ । धेरै ठुला कामहरूको सुरुवात भएको छ । पार्टीको पनि अब छिट्टै सबैतिर एकता प्रक्रिया टुंगिन्छ ।’ उनी जिल्लाका पार्टी स्थानीय तह अध्यक्ष र सचिवहरूलाई शपथ ग्रहण गराउन दाङ आएका हुन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?