कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

तस्करको निसानामा वन्यजन्तु

ठाकुरसिंह थारु

नेपालगन्ज — प्रदेश ५ प्रहरी अनुसन्धान ब्युरोले फागुन १ गते नेपालगन्ज बसपार्क नजिकैबाट चितुवाको छालासहित २ जनालाई पक्राउ पर्‍यो । रोल्पा, लिबाङ नगरपालिका–१ का चन्द्रबहादुर घर्ती र स्मृति गाउँपालिका–२ का आइते विष्ट मगर पक्राउ परेका थिए ।

तस्करको निसानामा वन्यजन्तु

त्यसअघि पुस २३ गते ब्युरो र कोहलपुर प्रहरीको संयुक्त टोलीले पाटे बाघको छालासहित २ जनालाई पक्राउ गरेको थियो । १० फिट लामो र २ दशमलव ३ फिट चौडाइ भएको छाला र ५६ थान हडडीसहित दैलेख गुराँसे गाउँपालिका–२ बस्ने कमल खत्री र कन्चनपुर पुरनबस्ती–४ का हरि ढकाल कोहलपुरको पुरानो बसपार्क नजिकैबाट पक्राउ परेका थिए ।


त्यसअघि प्रहरीको विशेष ब्युरोले चितुवाको ३ थान छालासहित कालिकोट पलता गाउँपालिका–४, लार्फका ३५ वर्षीय कर्ण कामीलाई कर्णाली चिसापानीबाट पक्राउ गरेको थियो । उनीसँग अढाइ किलो हडडी बरामद भएको थियो ।


विश्वकै दुर्लभ पाटे बाघलगायतका वन्जजन्तुको छाला र हडडीको चोरी तस्करी बढेसँगै बाँकेमा पक्राउ पर्ने घटना पनि बढेका छन् । पाटे बाघ, चितुवा र रेडपान्डाको छाला कहाँबाट नेपालगन्ज आइपुग्छ त ? ‘दुर्लभ वन्यजन्तुको छाला र हडडी पहाडी तथा हिमाली जिल्लाबाट तस्करी हुँदै नेपालगन्ज आइपुगेको देखिन्छ ।


तस्करले नेपालगन्जलाई ट्रान्जिट बनाएकाले पनि बढी घटना यहाँ देखिएका हुन्,’ बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले भने, ‘वन्यजन्तुको छालासहित पक्राउ परेका अधिकांश व्यक्ति पहाडी तथा हिमाली जिल्लाका देखिन्छन् ।’ उनका अनुसार वन्यजन्तुको छाला तेस्रो मुलुकमा तस्करी हुने गरेको हो । काठमाडौंलगायत र भारत जाने सहज रुट नेपालगन्ज हो । ‘भारतमा तस्करी गरिए पनि जाने भनेको तेस्रो मुलुकमै हो,’ एसपी पौडेलले भने ।


कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाइने अति दुर्लभ मानिने वन्यजन्तुको चोरी सिकारी गरी छाला तस्करीका लागि नेपालगन्ज ल्याउने गरिएको छ । त्यस्तै अति दुर्लभ मानिने रेडपान्डाका छाला यहाँबाट काठमाडौं तस्करी हुने गरेको छ । दुर्लभ वन्यजन्तुको चोरी तस्करी नियन्त्रणका लागि इन्टरपोल, सीबीआई र जिल्लास्थित सुुरक्षा अधिकारीहरूको क्रियाशिलता बढेका बेला तस्करीको गिरोह भने अझै सक्रिय छ ।


नेपालगन्जबाट काठमाडौं लैजान सहज भएका कारणले पनि ट्रान्जिट पोइन्टको रूपमा नेपालगन्जलाई प्रयोग गरिएको हो । पाटे बाघ, रेडपान्डालगायतका वन्यजन्तुको छाला अमूल्य रूपमा बिक्री हुने भन्दै तस्करले स्थानीयलाई प्रयोग गर्दै आएका छन् । तर, तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको हात रहेको सुरक्षा अधिकारी बताउँछन् ।


रेडपान्डा पश्चिमको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, डोल्पा, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुरालगायतका क्षेत्रमा पाइन्छ । नेपालमा करिब ३ सयदेखि एक हजारसम्म रेडपान्डा रहेको र ४६ प्रतिशत पश्चिम क्षेत्रका पहाडी जिल्लामा पाइने जानकारहरू बताउँछन् । यस क्षेत्रबाट पाटे बाघ र विश्वकै लोपोन्मुख मानिने रेडपान्डाको छाला तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको समेत सक्रियता बढेको अनुमान छ । पैसा कमाउने प्रलोभनमा पारेर नेपाली पनि वन्यजन्तुको तस्करीमा लागेको सुरक्षा अधिकारीहरूले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?