२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सडक अतिक्रमणले साँघुरियो गुलरिया

कमल पन्थी

बर्दिया — सडक अतिक्रमण गरेर निर्माण गरिएका टहरा, पसल र ठेलाले सदरमुकाम गुलरिया साँधुरो बनेको छ । आउ–जाउ गर्न समस्या हुन थालेको छ । पुरानो बजार भन्सार रोड, जिल्ला प्रहरी चोक हुँदै बसपार्कसम्म सडक अतिक्रमण गरिएको छ । साँघुरो बनेपछि यहाँ सञ्चालन हुने गाडी र बटुवालाई ओहोरदोहोरमा समस्या परेको स्थानीयले गुनासो गरेका छन् ।

सडक अतिक्रमणले साँघुरियो गुलरिया

नगरपालिकाले ६ वर्षअघि अतिक्रमण गरेर बनाइएका टहरा र ठेला हटाएको थियो । दुई वर्षयता पहिलेको जस्तै बनेको छ । सडकका नालीभन्दा बाहिर टहरा बनाइएका छन् । गाडी सञ्चालनमा बाधा नपुग्ने गरी व्यवसाय चलाउन दिएको निर्देशन अटेर गरिएको नगरपालिकाका कर्मचारीले बताए ।


अतिक्रमण गरेर निर्माण गरिएका टहरा हटाउन चासो नदिएको गुलरिया–७ का शंकर यादवले बताए । मापदण्डविपरीत सवारीसाधन पार्किङले थप समस्या बन्दै गएको छ । सडक साँघुरो बन्दै गएपछि टेम्पो, जिपलगायतका सवारीका साधनबीच सडकमा पार्किङ गर्न थालिएको छ ।


अतिक्रमणसँगै मतंगादेवी चोकदेखि बसपार्कतर्फको सडकमा खाडल बनेपछि आउजाउमा समस्या भइरहेको छ । धेरै पुरानो समस्या भए पनि हल गर्न प्रयास भएको छैन । राधाकृष्ण चोकदेखि भन्सार रोडसम्मको सडक अतिक्रमणले जताततै खाडल बनेका छन् । विद्यालय र कार्यालय आउजाउ गर्ने समयमा विद्यार्थी, कर्मचारी र सर्वसाधरणलाई समस्या हुने गरेको छ ।


चाडपर्वका समयमा व्यवसायीले सडक ओगटेर पसल थाप्ने गरेका छन् । पूजा, समारोहदेखि विवाह कार्यक्रम सकडमा गरिन्छ । त्यस्तो बेला आउ–जाउ नै बन्द हुने गरेको छ । नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले हुलाकी सडक निर्माणको थालनी भएपछि अतिक्रमण स्वत: हट्ने बताए ।


स्थानीय प्रशासन र राजनीतिक दलको सहयोगमा सडक अतिक्रमण हटाइएको थियो । नगरपालिकाले दुई वर्षयता यसमा चासो दिएको छैन । अतिक्रमण हटाएपछि ढल निकास व्यवस्थित गर्ने, दुबै किनारामा रूख रोपेर हराभरा बनाउने र सहर सफा राख्ने योजना कागजमा सिमित भएको छ ।


गत निर्वाचनका बेला उम्मेदवारले सहरको अतिक्रमण खाली गराउने र सफा राख्ने आश्वासन दिएका थिए । कुनै निकायले चासो नदिएको यो अवस्था आएको स्थानीय जाकिर हुसैनले गुनासो पोखे । करिब ५० हजार जनसंख्या रहेको गुलरिया नगरपालिकामा ७५ प्रतिशत गाउँ रहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?