कमलका जरा निकाल्न बढेर ठेक्का

हरि गौतम

रुकुमपूर्व — सिस्ने गाउँपालिका–५ स्थित कमलदहमा पाइने कमलको जरा निकालेर बिक्री वितरण गर्न अघिल्लो वर्षको तुलनामा बढेर ठेक्का लागेको छ ।

सिस्ने गाउँपालिकाले यो सिजनका लागि १ लाख ५२ हजार रुपैयाँमा कमलको जरा निकाल्ने गरी जिम्मा दिएको छ । स्थानीय रमितकुमार शाहले यस सिजनमा कमलको जरा निकाल्ने र बिक्री वितरणको जिम्मा पाएका हुन् ।


गाउँपालिकाले निकालेको सूचनाका आधारमा परेका ३ वटा निवेदनमध्ये शाहको निवेदनलाई गाउँपालिकाले स्वीकृत गरेको छ । न्यूनतम १ लाख ५० हजार तोकिएकामा शाहले हालेको ठेक्कामा सबैभन्दा बढी रकम १ लाख ५२ हजार देखिएपछि उनलाई नै यो सिजनको ठेक्का दिइएको गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताए ।


कमलको जरा निकाल्ने गरी शाह र गाउँपालिकाबीच सम्झौतासमेत भइसकेको छ । माघ २२ गते भएको सम्झौताअनुसार शाहले माघ २२ देखि चैत मसान्तसम्म कमलदहबाट कमलको जरा निकालेर बिक्री गर्न पाउनेछन् । यस सिजनमा कमलदहबाट ६८ दिन कमलको जरा निकालिनेछ ।


गाउँपालिकाले योसहित दोस्रो पटक कमलको जरा ठेक्का प्रणाली मार्फत निकाल्न लागेको हो । अघिल्लो वर्ष पहिलो पटक ठेक्का मार्फत कमलको जरा निकाल्न सुरु गरिएको थियो । अघिल्लो वर्षको सिजनमा ८० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । गत सिजनमा भएको उत्पादन र बिक्रीका आधारमा यस सिजनका लागि गाउँपालिकाले न्यूनतम शुल्क बढाएर ठेक्का आहान गरेको गाउँपालिकाले जनाएको छ ।


अघिल्लो सिजनभन्दा यस सिजनमा ७० हजार बढाएर न्यूनतम शुल्क कायम गरिएको थियो । मनपरी रूपमा कमलको जरा निकालिने र बिक्री वितरण हुने भएकाले त्यसको व्यवस्थापन गर्न तथा कमलको संरक्षणका लागि व्यवस्थित तवरले कमलको जरा निकाल्न ठेक्का प्रणाली सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।


यस वर्षदेखि बिक्री वितरणमा समेत व्यवस्थित गर्ने गरी ठेकेदारसँग सम्झौता गरिएको उपाध्यक्ष बुढाले बताए । गएको सिजनमा कमलको जरा व्यवस्थित तरिकाले निकाले पनि त्यसको उत्पादनको मूल्यांकन भएको थिएन । ‘यसपटक कति जरा निकालिने रहेछ भन्ने पनि हेर्न खोजिएको छ, त्यसैले सम्झौताकै क्रममा व्यवस्थित तरिकाले कमलको जरा निकाल्ने र बिक्री वितरण गर्ने गरी सम्झौता भएको छ,’ उपाध्यक्ष बुढाले भने ।


गाउँपालिकाले बढाएर ठेक्का आहान गरेपछि कमलको जरा निकाल्नेहरूबाट लिइने रकम पनि बढाइएको हो । १ दिनमा एउटा पुरुषले ६ सय रुपैयाँ तिरेर कमलको जरा निकाल्न पाउनेछ भने महिलाले ४ सय तिर्नुपर्नेछ । अघिल्लो वर्ष पुरुषले ५ र महिलाले २ सय रुपैयाँ तिरेर कमलको जरा निकालेका थिए ।


ठेकेदारबाट रसिद काटेर मात्रै कमलदहमा पस्न पाउने र कमलको जरा निकाल्न पाइनेछ । उनीहरूले आफूले निकालेको कमलको जरा आफैंले बिक्री गर्नेछन् । यद्यपि, कति रुपैयाँमा कति जरा खरिद–बिक्री गर्ने भन्ने तय गरिएको छैन । अनुमानकै भरमा यसको खरिद बिक्री सुरु भएको छ ।


कमलको जराबाट बनाइएको चाना र गेडा सेवन गर्नाले जन्डिस रोग निको हुन्छ भन्ने विश्वास छ । जन्डिस उपचारका लागि भन्दै दाङ, नेपालगन्ज, काठमाडौंसम्मबाट कमलको काँचो जरा सुकाएको चाना र गेडा किन्न आउने तथा मगाउनेहरू बर्सेनि बढदै गएका छन् । कमलको काँचो जरा र त्यसको चाना खानका लागि पनि स्वादिष्ट हुन्छ । यसबाट जन्डिस रोग निको हुन्छ भन्ने प्रचार भएसँगै यसको माग बढेपछि मूल्य पनि बढदै गएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?