कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भैलोको रकमले गाउँमा ल्याब

घनश्याम गौतम

गुल्मी — यहाँको विकट गाउँ भार्सेका सर्वसाधारणले भोग्दै आएको स्वास्थ्य समस्या टरेको छ । उनीहरू २ सय रुपैयाँको औषधि किन्न ३ सय रुपैयाँ गाडी भाडा तिरेर जानुपर्ने समस्या भोग्दै आएका थिए ।

भैलोको रकमले गाउँमा ल्याब

देउसी–भैलो खेलेर जम्मा गरेको रकमले गत बुधबारदेखि गाउँमै ल्याब र फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि अहिले त्यो समस्या टरेको हो ।


सत्यवती गाउँपालिका–८ भार्सेका विभिन्न क्लब, आमा समूह र भैलो समूह मिलेर तिहारको अवसरमा १ लाख ९३ हजार ८ सय ७० रुपैयाँ संकलन गरेका थिए । सत्यवती गाउँपालिकाले १ लाख ८४ हजार रुपैयाँमा गत वर्ष स्वास्थ्यचौकीमा ल्याब सेवा सञ्चालनका लागि सामग्री खरिद गरिदिएको थियो ।


तर, ल्याब टेक्निसियनको अभावले सेवा सञ्चालन हुन नसकेपछि गाउँलेले देउसी–भैलो खेलेर रकम संकलन गरेका थिए । त्यसबाटै टेक्निसियनको व्यवस्था गरी ल्याब र फार्मेसी सेवा सुरु गरेका हुन् ।


वडाध्यक्ष सन्तबहादुर थापाले टेक्निसियन र फार्मेसीमा राख्ने कर्मचारी अभावले सेवा सञ्चालन गर्न नसकेपछि गाउँलेकै सुझावमा देउसी–भैलोबाट रकम संकलन अभियान सुरु गरिएको बताए ।


‘स्वास्थ्यचौकीमा बिरामी जाँच हुने तर केही टेस्ट गर्न परे र औषधि आवश्यक पर्दा खैरेनी पुग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘बिरामी २ सयको औषधि किन्न ३ सय खर्च गरेर जानुपर्ने भएकाले गाउँमै फार्मेसी र ल्याब सञ्चालनमा ल्याएका हौं ।’


अध्यक्ष थापाका अनुसार २ युवा क्लब, २ देउसी–भैलो समूह र आठ आमा समूहले गरी १ लाख ९३ हजार ७ सय रुपैयाँ संकलन गरेका थिए । त्यही रकमबाट दुईजना कर्मचारी तत्कालका लागि व्यवस्था गरिएको उनले बताए । सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले पालिकाको सानो सहयोगमा गाउँले आफैंले त्यसभन्दा धेरै रकम संकलन गरेर उदाहरणीय काम गरेको बताए ।


त्यसले गाउँपालिकाबाट गाउँलेलाई थप सहयोग गर्नुपर्ने अवस्था सिर्जना गराएको उनले बताए । ‘हामीले दिएभन्दा धेरै उनीहरू आफैंले जुटाएर सेवा सुरु गराए,’ उनले भने, ‘अर्को वर्षदेखि पालिकाले पनि त्यसको व्यवस्थापनमा थप सहयोग गर्नेछ ।’


स्वास्थ्यचौकीमा साप्ताहिक रूपमा भए पनि प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर पठाएर गाउँलेलाई सहयोग गर्नेसमेत उनले बताए । अहिले स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्ट युवराज दिशामगरले काम गर्दै आएका छन् ।


गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले गाउँको स्वास्थ्य सेवाले महिलालाई ठूलो राहत पुगेको बताइन् । उनले स्वास्थ्य चौकीसँगै कार्यरत महिला स्वयंसेविकाको समस्या पनि सम्बोधन गर्नुपर्ने राज्यको दायित्व रहेको बताइन् ।


‘चौकी र त्यहाँको सेवाले मात्र पुग्दैन,’ उनले भनिन्, ‘सेवा दिने निकायसम्म सचेतना जगाएर सेवा पुर्‍याउने र नागरिकको घरदैलोमै पुग्ने महिला स्वयंसेविकाको समस्या पनि सम्बोधन हुनु जरुरी छ ।’ ग्रामीण स्वास्थ्य महिला कार्यकर्ता न्यून तलबमा काम गर्दै आएका छन् । त्यसबाहेक वडा कार्यालयले गाउँलेसँगको सञ्चार सम्पर्कका लागि मासिक २ सय रुपैयाँ दिने गरेको छ ।


स्वास्थ्यचौकीमा अहिले सरकारबाट प्राप्त ३५ थरीका नि:शुल्क औषधि उपलब्ध छन् । तीबाहेक अन्य बाहिरबाट किन्नुपर्ने औषधि मात्र चौकीको फार्मेसीबाट उल्लेखित मूल्यमै उपलब्ध गराउने गरी फार्मेसी सञ्चालन गरिएको चौकी इन्चार्ज दिशामगरले बताए । ‘अहिले त्यही औषधिका लागि खैरेनी र बुटवलसम्म पुग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अब त्यो अवस्था रहन दिँदैनौं ।’


स्वास्थ्यचौकीबाट प्रदान हुने सुत्केरी सेवा र नवजात शिशुको उपचारका लागि पनि चौकीले सेवा सुधार र विस्तार गरेको छ । नवजात शिशुलाई तातोमा राख्ने मेसिनदेखि चौकीमा सुत्केरी हुन आउने महिलालाई सरकारले दिने भत्ताबाहेक वडाले प्रतिसुत्केरी थप ५ सय रुपैयाँ उपलब्ध

गराउँदै आएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?