१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अँध्यारोमा मूलपानी

नवीन पौडेल

परासी — वडा कार्यालय पुग्न घण्टौं धाउनु पर्ने बाध्यताले स्थानीय तह सुगम भए पनि सेवाग्राही समस्यामा परेका छन् । पश्चिम नवलपरासीको बर्दघाट र सुनवलका पालिकामा यस्तो समस्या छ । सेवामा अनिवार्य हुनुपर्ने बिजुली, खानेपानीको समेत उस्तै अभाव छ । 

बर्दघाट नगरपालिका–२ मूलपानीको प्राकृतिक सौन्दर्यले मन लोभ्याउँछ । तर, मूलपानी जति सुन्दर छ, यहाँका स्थानीयको पीडा भने उत्तिकै कष्टकर छ । भिरालो जमिनका कारण अन्न उब्जाउसमेत कम हुँदा दैनिक मजदुरी वा वैदेशिक रोजगारीले घर चल्छ ।


प्रशासनिक कामका लागि वडा कार्यालय पुग्न घण्टौं लाग्छ । आफ्नै वडा कार्यालय जान सुनवल नगरपालिका हुँदै जानुपर्ने बाध्यता छ । खोलामा पुल नहुँदा वर्षामा अर्को समस्या छ ।


साबिकको धुर्कोट गाविसमा पर्ने वडालाई बर्दघाट र सुनवल नगरपालिकामा गाभेपछि लगत्तै स्थानीय तहको चुनाव भयो । आफूहरूलाई असुविधा हुने गरी बर्दघाट नगरपालिकामा राखिएको भन्दै चुनाव बहिष्कार गर्नेसम्मको निर्णयमा पुगेका स्थानीयलाई राजनीतिक दलले चुनावलगत्तै प्रक्रिया पुर्‍याएर रोजेको गाउँपालिका वा नगरपालिकामा सीमांकन गर्ने आश्वासन दिए पनि चुनावपछि कोही फर्केर नगएको स्थानीयको आरोप छ ।


‘नगरपालिका भनेको त विकासको पूर्वाधार भएको सडक, पानी, बिजुली तथा यातायात सुविधा भएको हुनुपर्ने हो,’ स्थानीय अमरबहादुर मगरले भने, ‘संघीयतामा मुलुक गएपछि सिंहदरबार गाउँगाउँमा आउने भने पनि हामीले त्यसको उपभोग गर्न पाएनौं ।’


बसाइँसराइ र वैदेशिक रोजगारीले गाउँ रित्तिएको छ । विपन्न र बूढाबूढी मात्र भएको गाउँमा सुविधा हुनुपर्नेमा झन् सास्ती छ । मिस्रौली खोलामा पुल नहुँदा यातायात सञ्चालनका लागि असहज छ । यसै वडाको पटुके गाउँका बासिन्दाको पीडा पनि उस्तै छ ।


पहाडी भूगोल भएकाले जनसंख्या थोरै भए पनि भौगोलिक विकटताका कारण उनीहरूलाई बर्दघाटभन्दा प्रदेश ४ को विनयी त्रिवेणी गाउँपालिका सहज हुन्छ । नगरपालिकाको केन्द्र र वडा कार्यालय जानका लागि यातायातको असुविधाले स्थानीय प्रदेश ४ को दुम्कीवास हुँदै १ सय ५० रुपैयाँ खर्च गरेर बर्दघाट जाने गर्छन् ।


तराई क्षेत्रको नगरपालिका भए पनि पटुके बस्ती विकट पहाडी खोंचमा पर्छ । स्थानीय तहको सीमांकनको समयमा यहाँका बासिन्दाले आफूलाई बर्दघाट नगरपालिका जान असहज हुने आग्रह गरेका थिए । सुनवल नगरपालिकाको ४ वडा महलपोखरी क्षेत्र पनि दुर्गम बस्ती हो ।


दुर्गम बस्तीलाई नै पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भन्ने उद्देश्यले अहिले नगरपालिकाले होमस्टे स्थापना गर्ने योजनासहित महलपोखरी तालको संरक्षण गरेर उत्कृष्ट गन्तव्य बनाउने तयारीमा रहेको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए ।


‘केही स्थान दुर्गम छन्,’ उनले भने, ‘त्यसले स्थानीयलाई सेवा प्रवाहमा समस्या भए पनि व्यवस्थापन गर्दै छौं ।’ दुर्गम स्थानलाई बाटो, बिजुली र सञ्चारसँग जोडेर पर्यटकीय क्षेत्र बनाउने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?