३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

४८ वर्षदेखि भजन–कीर्तन

माधव अर्याल

पाल्पा — गाउँमा पशुचौपायालाई खोरेत रोगले सतायो । छिमेकीका साथै वल्लोपल्लो गाउँमा भएको यस्तो महामारीले धेरै पशुचौपाया मरे ।

त्यसपछि बगनासकाली गाउँपालिका–९ चापपानीमा शिखरे भगवती स्थापना गरी २४ घण्टे अखण्ड हरिकीर्तन लगाइयो । ०२७ सालको घटना हो यो । अहिलेसम्म स्थानीयले त्यसैलाई निरन्तरता दिएका छन् ।


‘वल्लोपल्लो गाउँमा भएको महामारी गाउँमा नआओस् भनेर नै हामीले २४ घण्टे भजन–कीर्तन लगाएका थियौं,’ चापपानी खहरेका ८७ वर्षीय टोपलाल तिमिल्सेनाले भने, ‘त्यसपछि हाम्रो गाउँमा पशुमा कुनै रोग लागेन ।’ उनका अनुसार त्यही विश्वासका आधारमा अहिलेसम्म पनि फागुनको पहिलो शनिबार यस्तो भजन–कीर्तन लगाउने चलन छ ।


०२७ कात्तिकको पहिलो शनिबार शिखरेमा बूढापाका भेला भएर २४ घण्टे अखण्ड कीर्तन

लगाइयो । त्यसैबेलाबाट सुरु भएको अहिलेसम्म निरन्तर छ । गाउँकै तिलबहादुर शाहीका ३ वटा दुहुना भैंसी मरेका थिए । यस्तै रोग गाउँमा पनि देखा पर्‍यो ।


भगवतीको नाममा अखण्ड हरिकीर्तन गर्न थालेपछि रोगव्याधी नै लागेन । ‘भगवान्प्रतिको भरोसा र आस्था थियो,’ उनले भने, ‘त्यसैले यस्तो हरिकीर्तन गरिएको हो ।’ ०३३ सालमा अर्को गाउँ जुकियामा पनि भगवतीको मन्दिर स्थापना गरेर फागुनको पहिलो शनिबार हरिकीर्तन गर्न थालियो ।


पुन: ०४२ सालबाट ठूली उकालीको आडैमा मूलबाटोमा भगवतीको मन्दिर स्थापना गरी कीर्तन सुरु गरिएको उनले बताए । यहाँ माघको पहिलो शनिबार हरिकीर्तन हुन्छ । पछि स्थापना भएका मन्दिरमा १२ घण्टा अखण्ड हरिकीर्तन गर्ने चलन छ ।


पशुचौपाया भटाभट मर्न थालेपछि त्यसबेला औषधि पाउने अवस्था थिएन । ‘भगवान्प्रति हाम्रा बुबाहरूको विश्वास थियो,’ स्थानीय युवा भोजराज तिमिल्सेनाले भने, ‘त्यसपछि अहिले पनि यसलाई निरन्तरता दिइएको हो ।’ उनका अनुसार त्यतिबेलाको विश्वासका आधारमा अहिले पनि भजन–कीर्तन गर्ने गरिन्छ ।


मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तेजलाल तिमिल्सिनाका अनुसार परम्परालाई अहिले पनि विश्वासका रूपमा लिने गरिएको छ । अहिले पनि संगठित रूपमै भजन–कीर्तन गर्छन् । यस्तै कीर्तन अहिले सोही गाउँका तीन ठाउँमा हुने गर्छ ।


‘सम्भवत: यो गाउँ यसरी भजन–कीर्तन गर्ने जिल्लामै नमुना होला,’ स्थानीय यज्ञमूर्ति तिमिल्सेनाले भने । एकै गाउँमा वर्षमा ३ ठाउँका फरकफरक मन्दिरमा ३ पटक अखण्ड कीर्तन हुने गर्छ । ‘४८ वर्षअघिदेखि हरेक वर्ष अखण्ड भजन–कीर्तन हुन्छ,’ स्थानीय नुरराज तिमिल्सेनाले भने । गाई, भैसी, बाख्रामा त्यसबेला देखिएको रोगव्याधी भगाउन अखण्ड भजन–कीर्तन सुरु भएको थियो ।


त्यसले अहिले पनि मन्दिरमा पूजाआजासहित २४ घण्टे कीर्तन गरिन्छ । ३६ वर्षसम्म २४ घण्टे थियो । अहिले १२ घण्टामा झारिएको छ । ‘अहिले हाम्रो गाउँका साथै वल्लोपल्लो गाउँमा पशु चौपायामा खोरेत रोग देखिएको छैन,’ तिमिल्सेनाले भने, ‘तर गाउँले सहभागी भएर भजन–कीर्तन गाउन छाडिएको छैन ।’

प्रकाशित : फाल्गुन ६, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?