२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

रुकुममा कश्मीरी ओखर

हरि गौतम

रुकुम पूर्व — भारतको जम्मु कश्मीरमा फल्ने दाँते ओखर अब जिल्लाको पूर्वी क्षेत्रमा फलाइने भएको छ । नेपालमै पहिलो पटक ओखर जोन घोषणा गरिएको जिल्लामा ओखर लगाउन भारतको जम्मु कश्मीरबाट बेर्ना ल्याइएको हो । 

रुकुममा कश्मीरी ओखर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रुकुमपूर्वका लागि पहिलोपटक १३ लाख ६० हजार रुपैयाँका ओखरका बेर्ना ल्याइएको छ । जम्मु कश्मीरबाट टिस्युकल्चर प्रविधिबाट उत्पादित ‘कश्मीरी थिनसेल टुसा’ जातका ८ हजार बेर्ना ल्याएर किसानलाई वितरण गरिएको हो ।


परियोजना सञ्चालक समितिको निर्णय र माग अनुसार नै भारतबाट ओखरका बेर्ना ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ओखर जोन कार्यक्रमका कार्यालय प्रमुख भीष्मराज रेग्मीले बताए ।


किसानले नेपालमा उत्पादन भएका बिरुवा यसअघि पनि पटक–पटक लगाएको तर उत्पादन राम्रो नभएको भन्दै भारतबाट बिरुवा ल्याउन माग गरेका थिए । प्रतिबेर्ना १ सय ७० रुपैयाँका दरले खरिद गरिएको हो । ओखरका बेर्ना लगाउने किसानले ५० प्रतिशत लगानी गर्नेछन् भने परियोजनाले ५० प्रतिशत अनुदान दिनेछ ।


जिल्लामा चालु आर्थिक वर्षदेखि ओखर जोन कार्यक्रम सुरु गरिएको थियो । ओखर जोन परियोजना जिल्लाका ३ वटै स्थानीय तहमा लागू गरिएको छ । ओखरका बेर्ना लगाउनलाई जिल्लाका ३ स्थानीय तहमध्ये सबैभन्दा बढी पुथाउत्तरगंगा गाउँपालिकामा ४०, सिस्ने गाउँपालिकामा २० र भूमे गाउँपालिकामा १५ हेक्टर क्षेत्रफल जमिन छनोट गरिएको छ ।


जस अनुसार पुथाउत्तरगंगामा ४ हजार ४ सय, सिस्नेमा २ हजार र भूमे गाउँपालिकामा १ हजार ६ सय बिरुवा वितरण गरिएको छ । जिल्लाका ३१ मध्ये १५ वडालाई ओखर जोनमा समावेश गरिएको छ । पुथाउत्तरगंगाका ६ वडा, सिस्नेका ४ र भूमे गाउँपालिकाका ५ वडा ओखर जोन कार्यक्रममा समावेश छन् ।


ओखर जोन कार्यक्रम लागू भएका सबै क्षेत्रको माटो परीक्षण गरिएपछि उक्त माटोमा उपयुक्त हुने ओखरको जात छनोट गरिएको थियो । माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेका विज्ञ खिमबहादुर केसी नेतृत्वको टोलीले जिल्लामा ओखर जोन लागू भएका क्षेत्रको माटो परीक्षण गरेको हो ।


माटोमा पाइने खाद्यपदार्थ केही कम पाइएकाले किसानलाई आवश्यक सुझावसहित ओखरका बेर्ना वितरण गरिएको ओखर जोन परियोजना सञ्चालक समितिले बताएको छ । यसका साथै परियोजना सञ्चालनका लागि सजिलो होस् भनेर ३ वटै स्थानीय तहका कृषि समूह, सहकारी, उद्यमी तथा जनप्रतिनिधिलाई जानकारीसमेत गराइएको कार्यालयले जनाएको छ ।


परियोजनाले किसानलाई आवश्यक तालिम, साना सिँचाइ निर्माण, काटछाँट गर्ने औजार वितरण पनि अनुदानमा गर्नेछ । दाँते ओखरको उत्पादन बढाउन तथा बजारीकरणमा आयोजनाले सहयोग गर्ने ओखर खेती गर्न चाहने किसानका लागि कृषि औजारमा ५० देखि ८५ सम्म अनुदान परियोजनाले दिन्छ ।


ओखर जोन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको नतिजा अनुसार अर्को वर्षदेखि ओखर संकलन केन्द्र निर्माण र बजारीकरणका गतिविधि अघि बढ्ने जनाइएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?