१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आफन्तबाटै बालिका असुरक्षित

अर्घाखाँचीमा ११ दिनमा ३ जना बालिका बलात्कृत भएका छन्, तीमध्ये २ जना हाडनाताभित्रकै छन् ।एकजनालाई प्रलोभनमा पारेर बलात्कार गरिएको छ । 
वीरेन्द्र केसी

अर्घाखाँची — आफू आफन्तकहाँ गएका बेला श्रीमान्ले १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको भन्दै पत्नीले गत माघ २२ गते प्रहरी कार्यालय सन्धिखर्कमा जाहेरी दिइन् ।

आफन्तबाटै बालिका असुरक्षित

शीतगंगा नगरपालिका–६ जुकेनाका ४२ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी हाडनाता करणीमा अदालतमा मुद्दा दर्ता गरेको छ । बाबुबाट बलात्कृत भएपछि बालिकाले हजुरबाको मोबाइलबाट आमालाई फोन गरेकी थिइन् ।


घरमा आइपुग्दा छोरी बिरामी अवस्थामा भेटेको जाहेरीमा उल्लेख छ । घरको आर्थिक अवस्था कमजोर भएको र ८ महिनाको बच्चा गर्भपतन गराएको पनि आमाले जाहेरीमा लेखेकी छन् ।


५ वर्षीया बालिकालाई ६५ वर्षीय आफ्नै हजुरबाले बलात्कृत गरेको खबर थाहा पाएपछि गत शुक्रबार सन्धिखर्क नगरपालिका–१३ का एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनायो । मदिराले मात्तिएका उनले सुतिरहेकी नातिनीसँग जबरजस्ती करणी गरेको खुलेको छ ।


आफ्नी १२ वर्षीया छोरी बलात्कृत भएको सूचना आमाले प्रहरीलाई गरेपछि गत बिहीबार प्रहरीले प्यूठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षीय डण्डे सुनारलाई अर्घाखाँचीको भूमिबाट पक्राउ गरी प्यूठान प्रहरीलाई बुझाएको छ । उनले बालिकालाई पैसा दिएर महिनौंदेखि जबरजस्ती करणी गर्दै आएको प्रहरीको दाबी छ ।


जिल्लामा ११ दिनभित्र ३ जना बालिका बलात्कृत भएका छन् । २ जना हाडनाता र एक प्रलोभनमा परेर । आफन्तबाटै यसरी बालिका बलात्कृत भएका यी प्रतिनिधि पात्र मात्रै हुन् । घटना अनौठा र अपत्यारिला छन् ।


कोही आफन्त र केही चिनजानपछि प्रलोभनमा परेर र केही जबरजस्ती करणीमा पर्ने गरेका हुन् । कतिपय दाजुबाट बहिनी र नातेदारबाट असुरक्षित हुने गरेका छन् । सुरक्षित मानिएको घर नै असुरक्षित भएपछि बालिका बचाउन कठिन भएको छ ।


बालिकामाथि आँखा

बलात्कारलाई अपराधको रूपमा लिइन्छ । ५ वर्षको अवधिमा जिल्लामा २९ महिला बलात्कृत भए । जसमा धेरै बालिका छन् । ०७२ मा २, ०७२ देखि ०७४ सम्म ६, ०७५ मा १५ र यस वर्षको फागुन २ गतेसम्म ६ बालिका बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । तीमध्ये अहिलेसम्म १० घटना मात्र जबरजस्ती करणी उद्योगमा दर्ता भएका छन् । प्रहरीकहाँ नआई मिलापत्र

गर्ने घटना पनि थुप्रै छन् ।


पछिल्लो समय बलात्कारका घटना बढदै गएको प्रहरी प्रमुख नवराज मल्लले बताए । घटना भएको थाहा पाउनासाथ आपराधिक गतिविधि गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइरहेको उनले बताए ।


‘बलात्कारजस्तो जघन्य अपराध बढ्नु चिन्ताको विषय भएको छ,’ उनले भने ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि नारायण भुसालले आफन्तबाटै बालिका असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताए । ५ देखि १५ वर्षसम्मका बालिका बलात्कृत भएको उनले बताए । ‘बाबु, हजुरबा र नातेदारबाट बालिका बलात्कृत भएका छन्,’ उनले भने, ‘यसले बालिका असुरक्षित बन्दै गएको देखाउँछ ।’


प्रहरीले जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाए पनि अदालतले मुद्दा फैसला गर्न ढिलाइ गरेका कारण पीडित पक्षले न्याय पाउन लामो समय पर्खिनु परेको उनले बताए । स्वायत्त अधिकारसहितको स्थानीय सरकारले पनि अब बजेट छुटयाएर चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।


घटनाको प्रकृति

प्रहरी निरीक्षक गम्भीरजंग थापाले हालै भएका हजुरबाले नातिनी र बाबुले छोरीलाई गरेको करणीमा मदिराको मात मुख्य रहेको बताए । दुवैजनाले सधैं मदिरा खाने भएकाले बलात्कार गर्दाको बेलुका पनि मदिराले मात्तिएको खुल्न आएको उनले बताए ।


कात्तिकमा भएको एउटा घटनामा १८ वर्षीय दाजुले आफ्नै ५ वर्षीया बहिनीलाई सुन्तला खान जाम भन्दै फकाएर लगी जबरजस्ती करणी गरेका थिए । बढी मदिरा सेवन गरी छोरी, नातिनी र नातेदारलाई बलात्कार गर्ने काम भएको छ ।


हाडनाता नजोडिएका तर चिनजानपछि पैसा, खानेकुरा, सरसामान र अनेक तरिकाले फकाएरै करणी भइरहेको थापाले बताए । साना बालिकालाई यौनजन्य कुरामा परिपक्व नभएकाले प्रतिकार नगर्ने भएकाले निसानामा परेका छन् ।


बिग्रँदो समाज

महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष जानका बन्जाडेले कानुनमै कडा सजाय बनाएर कारबाही गर्नुपर्ने बताइन् । छोरीले केही गर्दैनन्, भन्दैनन् भन्ने सोचका कारण बालिका र महिला असुरक्षित बनेको अधिवक्ता पवित्रा बन्जाडेले बताइन् ।


‘घटना विस्तारै बाहिर आउन लागेका छन्,’ उनले भनिन्, ‘घर र समाजमा भइरहने बलात्कारका घटनाले नकारात्मक सन्देश दिएको र गलत बाटोमा समाज गइरहेको छ ।’


अपराधी कानुनी दायरामा आए पनि कारबाहीबाट उम्केपछि फेरि उही घटना दोहोर्‍याउने प्रवृत्ति देखिएको उनले बताइन् । जघन्य अपराधका घटनामा समेत राजनीतिक रंग दिन थालिएकाले समस्या झन् बढेको उनको अनुभव छ ।


‘अपराधमा कारबाही कस्तो गर्ने भन्दा पनि कुन पार्टीको हो भन्ने गरिन्छ,’ उनले भनिन्, ‘यसले समाजलाई गलत बाटोमा लैजाँदैछ ।’ कानुन मिच्ने र आफ्ना कार्यकर्तालाई अनेक तरिका अपनाएर कसरी उम्क्याउने भन्ने गतल बाटो नेताले छाड्नुपर्ने पनि उनको सुझाव छ । आफ्नो पार्टीको भए अपराधबाट जोगाउने र फरक दलको भए विरोध गर्ने प्रवृत्ति अहिले बढ्दो छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?