प्यूठानमा बिजुली धराप

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका–९ मरन्ठानाकी निशा भण्डारीको गत साता करेन्ट लागेर मृत्यु भयो । नजिकैको बारीमा बाँसको घाँस काट्ने क्रममा उनी बाँसघारीमै जलिन् ।

आफन्तले २ दिनसम्म शव बुझ्न मानेनन् । नेपाल विद्युत् प्राधिकरण प्यूठान शाखाले ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएपछि मात्र दाहसंस्कार गरियो ।


निशा मात्र होइन जिल्लामा करेन्ट लागेर २ वर्षको अवधिमा ४ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनांै घाइते भएका छन् । गौमुखी गाउँपालिकाको नारिकोट, माण्डवी गाउँपालिकाको तिघ्रा, प्यूठान नगरपालिका–९ को मरन्ठाना, वडा नम्बर ४ को बिजुवार टारीलगायत क्षेत्रका स्थानीय कुन बेला करेन्ट चुहावट भएर समस्यामा पर्ने हो भन्ने त्रासमा छन् ।


झमझम पानी पर्दा घरको बिजुलीको स्विच छुनसमेत डर लाग्ने प्यूठान नगरपालिका–९ मरन्ठानाका रमेश गिरीले बताए । मरन्ठाना घटनापछि विद्युत् प्राधिकरणले तत्काल लथालिंग लाइन मर्मत गर्ने भने पनि अझै कुनै काम नगरेको गिरीले बताए ।


‘काठका पोल गलेर ढल्ने अवस्थामा छन्,’ उनले भने, ‘यसले गर्दा स्थानीयले धेरै समस्या भोगेका छन् । प्राधिकरण मुकदर्शक बनेको छ ।’ मरन्ठानाको अवस्था पुरानै रहेकाले पुन: घटना दोहोरिने भन्दै स्थानीय त्रासमा रहेको वडाध्यक्ष नेहरसिंह केसीले बताए ।


जिल्लाका झन्डै ९० प्रतिशत जनताको घरमा बिजुलीबत्ती पुगेको छ । केन्द्र र स्थानीय तहको बजेटले बिजुली बलेको हो । यसले जिल्लावासीलाई उज्यालो बनाएको छ । जिल्लाका ४७ हजार ७ सय १६ घरधुरीमध्ये ४० हजार घरधुरी सबैले बिजुली बत्ती बाल्छन् ।


नेपाल विद्युत् प्राधिकरण र झिमरुक जलविद्युत् आयोजना (बुटवल पावर कम्पनी) ले जिल्लामा विद्युत् आपूर्ति गरेका हुन् । झन्डै २० हजार घरमा प्राधिकरण र २० हजार घरमा बुटवल पावर कम्पनीका ग्राहक छन् । बुटवल पावर कम्पनीले वितरण गरेको क्षेत्रमा ४/४ महिनामा रूख हटाउन टोली खटाउने गरेको कम्पनीका प्यूठान प्रमुख श्याम थापाले बताए ।


विद्युत् वितरण व्यवस्थित नहँुदा जोखिमसमेत निम्त्याएको प्यूठान नगरपालिका मेयर अर्जुनकुमार कक्षपतिले बताए । ‘नगरक्षेत्रमा रहेका सबै काठका पोल हटाएर फलामका पोल राख्न भनेका छौं,’ उनले भने, ‘यसका लागि माथिबाटै बजेटको समेत माग गरेर काम गर्न लागिएको छ ।’ उनले प्राधिकरणका कर्मचारीको काममा जनताका धेरै गुनासो रहेकाले कार्यालयमा पटक–पटक ध्यानाकर्षण गराएको बताए ।


‘कतिपय स्थानीयले रूख काट्न दिँदैनन्,’ प्रमुख थापाले भने, ‘यसले पनि समस्या हुन्छ ।’ बाँसका रूखले तार छुँदा धेरै समस्या भइरहेको थापाले बताए । नौबहिनी गाउँपालिका–१ स्याउँलीबाङ र गौमुखी गाउँपालिका–१, २, ३ अर्खा, रजबाराबाहेक जिल्लाका सबै स्थानीय तहका वडामा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरण प्यूठान शाखाले जनाएको छ । झिमरुक जलविद्युत् उत्पादन केन्द्रबाट १२ मेगावाट विद्युत् उत्पादन हुँदै आइरहेको छ । यो विद्युत् दाङको लमहीबाट राष्ट्रिय ग्रिडमा जोडिएको छ ।


झिमरुकमा उत्पादन भएको विद्युत् प्यूठानसहित छिमेकी जिल्ला रोल्पा र अर्घाखाँचीमा समेत वितरण भएको छ । विद्युत् लाइन व्यवस्थित नहुँदा ग्राहकले विद्युत् छिनछिनमा जाने र छिनछिनमा आउने समस्यासमेत व्यहोर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?