कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीपाइले रोग : औषधि प्रयोग गर्ने पनि जोखिममा

ठाकुरसिंह थारु

नेपालगन्ज — हात्तीपाइले रोगविरुद्धको औषधि सबैले प्रयोग नगर्दा बाँकेका सर्वसाधारण संक्रमणको उच्च जोखिममा छन् । औषधि नखाने व्यक्तिका कारण औषधि प्रयोग गर्ने पनि जोखिममा परेका हुन् । 

लामखुट्टेबाट सर्ने हात्तीपाइले रोग नियन्त्रणका लागि शतप्रतिशतले औषधि प्रयोग गर्नुपर्छ । ‘बाँकेका केही गाउँमा छोराछोरीले खाने र बुबाआमाले नखाने गरेको पाइएको छ । त्यसैले औषधि खाएका व्यक्ति पनि जोखिममै रहने गरेका छन्,’ स्वास्थ्य कार्यालय बाँकेकी भेक्टर कन्ट्रोल सहायक दुर्गा गौतमले भनिन्, ‘एउटाको लापरबाहीले अर्को स्वस्थ व्यक्ति पनि संक्रमणको खतरामा छ ।’ उनका अनुसार उक्त रोग लागेका व्यक्तिबाट लामखुट्टेले अर्कोमा सार्न सक्ने खतरा रहन्छ ।


हात्तीपाइले रोग निवारणका लागि यस वर्ष पनि अभियान सञ्चालनको तयारी भइरहेको छ । ०६७ देखि सुरु गरिएको अभियान हालसम्म सफल हुन सकेको छैन । परिवारका सबैले औषधिको प्रयोग नगर्दा अभियान सफल हुन नसकेको उनले बताए । गत वर्ष ६६ प्रतिशतले औषधि प्रयोग गरेका थिए । बाँकीले औषधि प्रयोग नगरेपछि अभियानले पूर्णता पाउन नसकेको हो ।


नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम औषधि प्रयोग गरेको पाइएको छ । गत वर्षको अभियानमा ५४ प्रतिशतले औषधि प्रयोग गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाको रझेनामा पनि निकै कमले औषधि प्रयोग गर्दै आएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधिले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भ्रम छ ।


तर, उक्त औषधि संसारभर प्रयोगमा आइसकेको चिकित्सकहरू बताउँछन् । हात्तीपाइलेको औषधिले स्वास्थ्यमा कुनै प्रतिकूल प्रभाव नपार्ने उनीहरूले जनाए । तर, हात्तीपाइलेका जीवाणु भएका व्यक्तिले त्यसविरुद्धको औषधि प्रयोग गरे रिंगटा, वाकवाकी लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, गुप्तांग सुन्निनेलगायतका समस्या देखिने गर्छन् ।


जसका कारण सर्वसाधारणले औषधि प्रयोग गर्न डराउने गरेका छन् । चिकित्सकका अनुसार औषधिका कारण नभई हात्तीपाइलेको जीवाणु मार्ने क्रममा फालेको रसायनले त्यस्तो समस्या देखिने गरेको हो । ‘त्यस्तो समस्या देखियो भने सम्झिनूस् हात्तीपाइलेका जीवाणु मरेको हो । औषधि प्रयोगपछि जीवाणु मर्दा सामान्य असर देखिन्छ । औषधिले असर गरेको होइन,’ भेक्टर कन्ट्रोल सहायक गौतमले भनिन्, ‘डराउनुपर्ने अवस्था छैन ।’


जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेमा १३ प्रतिशत हात्तीपाइलेका बिरामी भेटिएका छन् । हात्तीपाइले रोग निवारणका लागि बर्सेनि एक करोडको हाराहारीमा खर्च हुने गरे पनि औषधि प्रयोग नगर्नेको संख्या बढी छ । उक्त रोगविरुद्धको डाइइथाइल कार्बामजिन नामक औषधिको प्रयोग गर्ने व्यक्ति हात्तीपाइलेको संक्रमणबाट जोगिने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?