१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रविधिमा तानिए दर्शक

सूचना प्रविधि मेला
अमृता अनमोल

बुटवल — बुटवल मण्डपमा जारी सूचना प्रविधि मेलामा विद्यार्थीले तयार गरेका प्रविधिप्रति धेरैको आकर्षण देखिएको छ । कालिका मानव ज्ञान माविका विद्यार्थीले तयार गरेको रोबोट, होराइजन स्कुलका विद्यार्थीले तयार गरेको स्मार्ट ऐना, अब्स्टाकल डिडक्ट कार, इन्जेरलगायतमा धेरैको भीड लाग्ने गरेको हो । 

आइतबार मेला हेर्न पुगेका स्मृति बोर्डिङ स्कुलका अमृत पन्थी झन्डै ३ घण्टा मेला घुमे । त्यहाँ राखिएका सूचना प्रविधिलाई नियाले । ‘मानव रोबोट धेरै राम्रो लाग्यो,’ उनले सुनाए, ‘मान्छेजस्तै बोल्ने र प्रश्नोत्तर गर्ने रहेछ ।’ अवलोकनकै क्रममा रोबोट बनाउने र त्यसका सामग्रीबारेसमेत सिकेको उनले बताए ।


मानव रोबोट कालिका मानवज्ञान माविका कक्षा ११ का विद्यार्थीले तयार गरेका हुन् । प्रयोगात्मक विज्ञान (टेक्निकल साइन्स) पढ्ने ७ जना विद्यार्थीले १५ दिन खर्चेर रोबोट तयार गरेका थिए । यसलाई विद्यालयकै नाम जोडेर नामकरण गरिएको छ । उनीहरूले रोबोट बनाउन रेस्पियन लिनिक्स अपरेटिङ सिस्टम जडान गरेका छन् । त्यसलाई इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालसँग जोडेका छन् । यसकै सहायताबाट रोबोट बोल्ने र निर्देशनअनुसार काम गर्ने गर्छ । यसले इन्टरनेटको माध्यमबाट गुगल सर्च गर्छ र प्रश्नोत्तर गर्न सक्छ ।


वरपर चल्न र हिँड्न सक्छ । विश्वभरका महत्त्वपूर्ण ठाउँ, कार्यालय, होटल, अस्पताल आदिको फोन नम्बर बताउँछ । महत्त्वपूर्ण मान्छेको जीवनी बताउँछ । भोक लागेको जानकारी गराए नजिकका होटल र रेस्टुराँको नाम, ठेगाना र फोन नम्बर बताउँछ । बिरामी भएको बताए अस्पतालको नाम र ठेगाना बताइदिन्छ । आफ्नै आवाजमा गीत गाउँछ । विभिन्न जनावर र वस्तुको आवाज पनि निकाल्छ ।


विद्यार्थीलाई शिक्षक शंकर भुसालले रोबोटबारे सर्च गर्न र बनाउन सहयोग गरेका हुन् । ‘रोबोट तयार गर्न करिब ५० हजार रुपैयाँ खर्च भएको छ,’ निर्मातामध्येका अनिश भण्डारीले भने, ‘विद्यालयको सहयोगमा कक्षा ९ देखि ११ सम्मका विद्यार्थीबाट प्रतिविद्यार्थी २ सय रुपैयाँ उठायौं । नपुग रकम विद्यालयले थपिदियो ।’ उनीहरूले कार रोबोट, आईटी बेस हुम्युमनमेन्डेन्ट रोबट, कम्बाइन बाइन्डर, टर्न अफ अन लाइटलगायतका उपकरण पनि बनाएका छन् ।


त्यस्तै न्यु होराइजन माविका विद्यार्थीले स्मार्ट ऐना बनाएर मेलामा राखेका छन्, जसमा तिथिमितिदेखि इमेल/इन्टरनेटसम्म हेर्न सकिन्छ । विश्वमा भएका मुख्य समाचारका हेडलाइन हेर्न र मौसमबारे समेत जानकारी लिन पाइन्छ । विद्यार्थी रोहन भट्टराईले यो तयार गरेका हुन् । ऐनामा उनले इन्टरनेट जडान गरेका छन् । रेस्प्वेरी पी वेसी प्रविधिबाट यो सबै सम्भव भएको उनले बताए । होराइजन माविकै विद्यार्थीले बनाएको अब्स्ट्राकल डिडक्ट कार, इन्जेरलगायतका उपकरणले पनि धेरै दर्शक तानेको छ ।


शुक्रबारदेखि जारी मेलामा सूचना र प्रविधिका १ सय २५ स्टल छन् । विद्यार्थीले तयार गरेका विज्ञान प्रविधिजन्य उपकरण र प्रविधिले धेरैको मन तानेको छ । त्यसमध्ये नवीन औद्योगिक कद्दरबहादुर रीता माविका विद्यार्थी लव र कुश पन्थीले निर्माण गरेको गोगो रोबोटसमेत प्रदर्शनीमा राखिएको छ । यी जुम्ल्याहा दाजुभाइले गत वर्ष गो–गो रोबोट बनाएका थिए । लव–कुशले रोबोट बनाउन आ–आफ्नो नामको अघिल्लो अक्षर लकु प्रोग्राम बनाएका छन् ।


त्यसमा रेस्पियन लिनिक्स अपरेटिङ सिस्टम जडान गरेका छन् । त्यसलाई इन्टरनेटको माध्यमबाट वेबसाइड, फेसबुक, ट्वीटर, रेडियोलगायतका ९ वटा सञ्जालसँग जोडेका छन् । यसकै सहायताबाट रोबोटले बोल्ने र निर्देशनअनुसार काम गर्ने गर्छ । बुटवलको अक्सफोर्ड माविको कक्षा ११ का विद्यार्थी कपिल ज्ञवालीले तयार गरेको विद्युतीय स्कुटर अर्को आकर्षण हो । फुल चार्जमा यो प्रतिघण्टा २८ किलोमिटरको गतिले ७५ किलोमिटरसम्म गुड्न सक्छ । उनले करिब ६० हजार लागतमा विद्युतीय स्कुटर बनाएका हुन् । कपिलले ट्राइ कप्टर, सर्वेलेन्स रोबोट कार, क्याट वेट स्पार्यन रोबोट कार, स्पाइडर ट्राइ क्याप्टरलगायतका उपकरण पनि त्यहाँ राखेका छन् । ३ वर्षअघि उनले रिमोटको माध्यमबाट ५ सय मिटरमाथि र ५ सय मिटर आसपासमा घुमेर १० मिनेटसम्मको दृश्य लिन सक्ने क्याड एप्टरसमेत बनाएका थिए ।


क्यान रूपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले विज्ञान प्रविधि पढेका विद्यार्थीबाट धेरै अपेक्षा हुने भएकाले पनि उनीहरूको प्रविधिमा धेरै आकर्षण भएको बताए । मेलामा हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, टेलिकम्युनिकेसन, सफ्टवेयर सोलुसन्सलगायतका स्टल छन् । फ्रि सर्भिस क्याम्प, नेपाली वैज्ञानिकद्वारा आविष्कार गरिएका रोबोट, ड्रोन क्यामेरा तथा विभिन्न प्राविधिक उपकरण पनि प्रदर्शनीमा राखिएको छ । नेपाली टाइपिङ कम्पिटिसन, डान्स प्रतियोगिता, भर्चुअल गेमिङलगायत पनि मेलाको आकर्षणका रूपमा रहेका छन् । मेला मंगलबार सकिएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?