कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेटुवा जातिको दुखेसो : हामी के खाने ? सर्पलाई के खुवाउने ?

मनोज पौडेल

कपिलवस्तु — शुद्धोदन गाउँपालिका–१ प्रगतिनगरका महेन्द्र नेटुवा ऋण खोजेरै पटक–पटक काठमाडौं पुगे । मन्त्रालय धाए । सदरमुकाम गएर प्रजिअलाई ज्ञापनपत्र बुझाएको त गन्ती नै छैन तर उनको माग अझै सुनुवाइ भएको छैन । 

नेटुवा जातिको दुखेसो : हामी के खाने ? सर्पलाई के खुवाउने ?

नेटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा पार्न धाउँदा धाउँदै उनी थाकिसके । ‘जति हारगुहार गरे पनि सम्बन्धित निकायले सुन्दैनन्,’ उनले भने, ‘गरिब विपन्न भएर जन्मनु नै हाम्रो जातिको दोष भयो ।’


आफूहरूको बाँच्ने आधार सर्प भएको महेन्द्रले सुनाए । सर्प नचाएर उनीहरूले जीविका चलाउँदै आएका थिए । ‘एक हात जग्गाजमिन छैन, आफूले के खाने र सर्पलाई के खुवाउने ?,’ उनले भने, ‘सर्पलाई खुवाइएन भने ऊ मात्रै होइन, हाम्रो पनि बाँच्ने आधार सकिन्छ ।’ सर्पलाई खुवाउने आहार जुटाउन नसक्दा उनीहरूको पेसा पनि संकट पर्न लागेको हो ।


नेटुवा जाति अल्पसंख्यकको सूचीमा नपर्दा मर्कामा परेको उनले गुनासो गरे । अल्पसंख्यकको सूचीमा नपरेकै कारण उनीहरूले राज्यबाट प्रदान गरिने भत्तालगातय सुविधा पाउन सकेका छैनन् । नेटुवा जतिले आफूहरूलाई अल्पसंख्यक जातिको सूचीमा राख्न माग गर्दै अभियान नै चलाएका छन् । लामो समयदेखि सरकारसँग माग राख्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरूले गुनासो गरे । ‘लोपोन्मुख जातिको सूचीमा राख्न माग गर्न थालेको ३ दशक बित्यो,’ स्थानीय महेन्द्र नेटुवाले भने, ‘तर, राज्यले अझै सुनेकै छैन ।’


जिल्लाको शुद्धोदन गाउँपालिका–१ प्रगतिनगरमा नेटुवा जातिका १४ घर छन् । १ सय ५० को हाराहारीमा परिवार सदस्य छन् । उनीहरूले खर र फुसका झुप्रा ठडाएका छन् । यसरी सुकुम्बासी बस्तीमा बसेको धेरै भयो । चरम गरिबीका कारण खानलाउन, लुगाफाटोको समस्या उस्तै छ । उनीहरूसँग नेपाली नागरिकताबाहेक केही छैन ।


दिनदिनै उनीहरूलाई चुलोचौको र बासकै पिरलो हुन्छ । वर्षामा रातभरि ओत लाग्न अन्यत्र जानुपर्ने स्थानीय मनोज नेटुवाले बताए । चुनावका बेला मत चाहिँदा नेताहरू माग पूरा गर्ने आश्वासन दिन्छन्,’ उनले भने, ‘चुनाव सकिनासाथ माग पनि भुल्छन् ।’


नेटुवाको मुख्य पेसा सर्प नचाएर जीविकोपार्जन गर्नु हो । सर्प उनीहरू समातेर राख्छन् । गाउँ सहरबजारमा त्यही देखाएर, नचाएर अन्नपात, पैसा संकलन गरेर चुलोचौको बाल्छन् । महिलाहरू भने गाउँगाउँ गएर अन्नपात मागेर घरगर्जो टार्छन् । नेटुवाले सिकारी कुकुर पाल्छन् । त्यही कुकुरले स्याल, बिरालो र सर्पको सिकार गर्छन् । कहींकतै विषालु सर्प समात्न परे पनि नेटुवा जातिका मानिसलाई नै गुहार लगाइन्छ ।


उनीहरूमा विषालु सर्प समात्ने राम्रो कला हुन्छ । विषालु सर्पको दाँत निकालेर प्रदर्शनीका लागि सहरबजार लैजान्छन् । ‘अचेल नियम–कानुन कडा आएको छ, कुनै जीवजन्तु मार्न हुँदैन,’ रमेश नेटुवाले भने, ‘पुर्ख्यौली पेसा धान्नै धौ–धौ भयो ।’ राम्ररी स्याहारसुसार नगर्दा धेरै सर्प मरिरहेकाले यो शुभ लक्षण नभएको उनले बताए ।


राज्यले दिने शिक्षा, स्वास्थ्य र रोजगारीबाट समेत वञ्चित रहेको उनले बताए । त्यसले आफूहरूको जीवन नै कष्टकर भएको उनको गुनासो छ । गरिबीका कारण नेटुवाका बालबालिका विद्यालय जाँदैनन् । आफूहरू नेपाली नागरिक भए पनि धेरैले भारतीय भनेर हेप्ने गरेको रमेश नेटुवाले बताए ।


नागरिकता देखाउँदा पनि धेरैले विश्वास नगरेको उनले सुनाए । अल्पसंख्यक जातिमा सूचीकृत पत्थरकट्टाले मासिक २ हजार सामाजिक सुरक्षा भत्ता बुझ्छन् । जन्मनासाथ उनीहरूले भत्ता पाउँछन् । तर, त्यसभन्दा तल्लो जाति मानिने नेटुवाले त्यो सुविधा नपाएको मनोज नेटुवाले बताए ।


०६८ सालको राष्ट्रिय जनगणना अनुसार जिल्लामा ३ सयको संख्यामा नेटुवा जातिको बसोबास छ । शुद्धोदन गाउँपालिकाको प्रगतिनगर, वसन्तपुर र मायादेवी गाउँपालिकाको अभिरावमा नेटुवा जातिको बढी बसोबास छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?