२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

किसानलाई फापेन चिस्यान केन्द्र

हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिका–८ पाटाका खड्कबहादुर पुनले १४ वर्षअघि २ चिस्यान केन्द्र निर्माण गरे । २ लाख रुपैयाँ लगानी गरेर सुन्तला भण्डारण गर्ने चिस्यान केन्द्र बनाएका उनलाई हाल तिनै चिस्यान केन्द्रले समस्यामा पारेका छन् । 

किसानलाई फापेन चिस्यान केन्द्र

बारीमा फलेकामध्ये केहीबाहेक अधिकांश सुन्तला उनी चिस्यान केन्द्रमै राख्ने गर्छन् । हरेक वर्ष परम्परागत चिस्यानका कारण उनको ठूलो क्षति हुँदै आएको छ । चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिने समस्याले खड्कबहादुर अहिले हैरान छन् ।


गाउँमा धेरै सुन्तला फलाउनेमध्येका एक हुन्, भद्रवीर पुन । पाटामै घर भएका उनले पछिल्लो समय आफैं बनाएको परम्परागत चिस्यान केन्द्रका कारण धोका पाइरहेका छन् । पाकेका सुन्तला टिपेर चिस्यान केन्द्रमा राखेका उनी हरेक दिन कुहिएका सुन्तला व्यवस्थापन गर्नुपर्ने काममा खटिन्छन् ।


खड्कबहादुर र भद्रवीर मात्रै होइन, यस क्षेत्रका अधिकांश किसानको हालत अहिले यस्तै छ । सुन्तला पाक्नेबिक्तिकै बित्री नहुने भएपछि लामो समयसम्म राख्न किसानले परम्परागत चिस्यान केन्द्र बनाएका हुन् । सुरुका वर्ष सुन्तला राम्रोसँग भण्डारण गरेका किसान पछिल्लो समय सुन्तला कुहिने क्रम बढदै गएपछि समस्यामा परेका छन् ।


ढुंगा, काठ, बाँसको सहयोगमा बनाइएको चिस्यान केन्द्र उपयोगी बनेनन् । सुन्तला टिप्ने बिक्तिकै बोटबाटै बित्री हुँदैनन् । बजार पुर्‍याउन सडकको सुविधा छैन । त्यसैले हरेक किसानलाई चिस्यान केन्द्रमै सुन्तला भण्डारण गर्नुपर्ने बाध्यता छ । कात्तिक र मंसिर महिनामा किसानले सुन्तला भण्डारण गर्ने गर्छन् । स्टोरका सुन्तला बिक्री भएर सकिने बेलासम्म झन्डै ५० प्रतिशत कुहिएर जाने गरेको किसानको गुनासो छ ।


‘अहिले पहिलेजस्तो सुन्तला फल्नै छाडिसके, फलेका सुन्तला पनि भनेको समयमा बिक्री हुँदैनन्,’ खड्कबहादुरले गुनासो गरे, ‘पछि बिक्री गरौंला भनेर चिस्यान केन्द्रमा भण्डारण गरेका सुन्तला पनि कुहिएपछि हामी ठूलो समस्यामा छौं ।’ उनले यस वर्ष १ सय २० क्विन्टल सुन्तला चिस्यान केन्द्रमा राखेका थिए ।


हालसम्म २५ क्विन्टल सुन्तला चिस्यान केन्द्रमा छन् । चिस्यान केन्द्रमा रहेकामध्ये २५ प्रतिशत सुन्तला कुहिइसकेको उनले बताए । वैशाखसम्मका लागि भण्डारण गरेका सुन्तला ५० प्रतिशत कुहिने उनले बताए । सुन्तला बिक्री नहुँदा भण्डारण गर्नुपर्ने बाध्यता रहेको र भण्डारण गरेका पनि कुहिन थालेपछि पेसाबाटै पलायन हुनुपर्ने अवस्था आइसकेको उनको दुखेसो छ ।


भद्रवीरको स्टोरमा अहिले पनि १० क्विन्टल सुन्तला छन् । उनले झण्डै ४० क्विन्टल सुन्तला भण्डारण गरेकामा सस्तो मूल्यमा धेरै बिक्री गरे । ‘यत्तिकै कुहिनुभन्दा सस्तो मूल्यमा भए पनि सुन्तला बेचें,’ उनले भने, ‘उत्पादन लागतभन्दा कम मूल्यमै भए पनि सुन्तला बेच्नुपर्ने बाध्यतामा हामी छौं ।’ उनले सरकारले किसानको पक्षमा केही नगरेको बताए । बजारसम्म सुन्तला पुर्‍याउन ढुवानी अनुदान दिनुपर्ने माग किसानले गरिरहेका छन् ।


गाउँसम्मै सडक नपुग्दासम्म सुन्तलामा ढुवानी अनुदान दिँदा फलेका सबै सुन्तला बिक्री हुने र कुहाउनुपर्ने बाध्यता हट्ने अर्का किसान गोपाल पुनले बताए । नभए गाउँमै ठूलो अत्याधुनिक चिस्यान केन्द्र स्थापना गर्नुपर्ने माग किसानको छ । ‘हाम्रो ठूलो माग केही छैन । हाम्रा उत्पादनलाई बजारसम्म पुर्‍याउन सक्ने वातावरण बनाइदेऊ भनेर सरकारलाई भनेका छौं तर सुनुवाइ भएको छैन,’ गोपालले भने ।


स्थानीय सरकार उत्पादित सुन्तलाको बजार खोज्नेभन्दा पनि थप उत्पादनमै लागेको छ । ८ नम्बर वडा कार्यालयले यस वर्ष सुन्तलाको क्षेक्र विस्तारका लागि बेर्ना वितरणको कार्यत्रम बनाएको छ । ‘हामीले यस वर्ष सुन्तला र कागतीका बेर्ना वितरण गर्ने योजना बनाएका छौं,’ वडा सदस्य महेश विकले भने, ‘सुन्तला र कागतीको क्षेत्र विस्तार गर्ने उद्देश्य छ ।’ उनले सुन्तला फलाउने किसानका सबै समस्या देखेको भए पनि वडा स्तरबाट किसानका समस्या समाधान गर्न सक्ने अवस्था नरहेको बताए ।


गाउँपालिका, प्रदेश तथा संघीय सरकारले ठूलो बजेट विनियोजन गरेर गाउँमै चिस्यान केन्द्र स्थापना गरिदिने वा बजारसम्म ढुवानी अनुदानको व्यवस्था गर्दा किसान सुन्तला उत्पादन गर्ने पेसाबाट पलायन नहुने वडा सदस्य विकले बताए । गाउँपालिकाले ५ र ६ वडामा चिस्यान केन्द्र बनाउने निर्णय गरेको छ तर त्यो किसानको पायकमा छैन । तर, बजेट भने विनियोजन गरिएको छैन ।


चिस्यान केन्द्र रुकुमकोटमै बनाइने र त्यसका लागि अर्को वर्ष मात्रै बजेट विनियोजन हुने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । स्यालापाखाका सुन्तलालाई लक्षित गरी धपेमा यसै वर्ष संकलन केन्द्र बनाइने र त्यसकै माध्यमबाट रुकुमकोटमा बन्ने चिस्यान केन्द्रमा सुन्तला भण्डारण गर्न सकिने अध्यक्ष बरालको भनाइ छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?