दहवनमा चिस्यान केन्द्र बनाउन जग्गा खोजिंदै

काशीराम डाँगी

रोल्पा — प्रदेश सरकारले यहाँ न्यूनतम १० हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गर्ने भएको छ । मन्त्रीस्तरीय निर्णय अनुसार सहकारी संस्थामार्फत पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिकामा केन्द्र निर्माण गरिने भएको हो ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले त्रिवेणीस्थित दहवन क्षेत्रको स्थलगत निरीक्षण गरेर लामो समयसम्म फलफूल र तरकारी भण्डार गर्न सजिलो हुने भएकाले चिस्यान केन्द्र निर्माण गर्न लागेको बताइन् । मन्त्रीसहितको टोलीले गत कात्तिकमै दहवन, त्रिवेणी, जुगार र गैरीगाउँको स्थलगत अवलोकन गरेको थियो ।

जिल्ला समन्वय समितिका अनुसार उक्त केन्द्र निर्माण गर्न प्रदेश सरकारले ५ करोड बजेट छुट्याउने भएको छ । उक्त केन्द्र नजिक पर्ने दुई गाउँपालिका त्रिवेणी र रुन्टीगढीले १/१ करोड रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

करिब ७ करोड रुपैयाँ लगानीमा निर्माण हुने उक्त चिस्यान केन्द्रबाट मध्य र पश्चिमी रोल्पाका कम्तीमा ५ वटा स्थानीय तहका कृषकले प्रत्यक्ष लाभ लिनेछन् । चिस्यान केन्द्रबाट त्रिवेणी, रुन्टीगढी, माडी, गंगादेव, परिवर्तनलगायतका गाउँपालिकाभित्रका कृषकले आफ्नो उत्पादन भण्डार गर्न सक्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले बताए ।

रोल्पाको नुवागाउँ, जुगार, बुढागाउँ, गैरीगाउँ, दहवन, होलेरीलगायत कृषि उत्पादनले चिनिएका गाउँ हुन् । ती क्षेत्रमा तरकारी, फलफूल र नगदे बाली उत्पादन हुन्छ । त्यहाँका कृषकले उत्पादन गरेका तरकारी र फलफूल सल्यानको कपुरकोट र दाङको घोराहीसम्म पुर्‍याएर बिक्री गरिन्छ ।

होलेरी लसुन उत्पादनमा तथा बुढागाउँ, नुवागाउँ, जुगार र गैरीगाउँ तरकारी उत्पादनमा प्रख्यात छन् । ती स्थानका कृषकले हाटबजार आयोजना गरेर आफ्ना उत्पादन बिक्री गर्दै आएका छन् । माडी, परिवर्तन र गंगादेव गाउँपालिकामा सुन्तला, स्याउ र तरकारीको उत्पादन धेरै हुन्छ । ती क्षेत्रमा स्थानीय तहले कृषिमा आधुनिकीकरण ल्याउन लगानी वृद्धि गरिएको जनाएका छन् ।

मध्य र पश्चिमी रोल्पाको केन्द्रका रूपमा रहेकाले दहवनमा स्थानीय सहकारी संस्थाको समन्वयमा उक्त चिस्यान केन्द्र निर्माण गर्ने योजना अघि सारिएको हो । चिस्यान केन्द्र स्थापना गरेर त्यस क्षेत्रका कृषकलाई हौसला प्रदान गर्ने योजना रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताए ।

चिस्यान केन्द्र निर्माण गर्न करिब ८ रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने जिल्ला समन्वय समितिले जनाएको छ । जिसस प्रमुख बुढाले स्थानीयसँग समन्वय र छलफल गर्दै जग्गा छनोट गर्ने प्रक्रिया अघि सारिएको बताए ।

प्रदेश सरकारले रोल्पासहित १२ जिल्लामा चिस्यान केन्द्र निर्माण गर्ने योजना अघि सारेको छ । स्थानीय उत्पादन वृद्धि गर्न तथा बेमौसमी उत्पादनको समेत संरक्षण गर्न सकिने गरी सरकारले चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?