कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रेफरल सेन्टर बन्दै सरकारी अस्पताल

स्वास्थ्य बिमा गर्नेको संख्या भने बढ्दो
माधव अर्याल

पाल्पा — स्वास्थ्य बिमा लागू भएका जिल्लाका सरकारी अस्पताल रेफरल सेन्टर बनेका छन् । विमित व्यक्तिले तानसेनको पाल्पा अस्पताल, रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य ताहुँ र खस्यौलीबाट सेवा लिन सक्छन् तर सबैको अवस्था बेहाल छ । 

यहाँका अन्य अस्पतालमा भन्दा उपचारका लागि बढी आउने पाल्पा अस्पतालको अवस्था झन् नाजुक छ । यहाँ उपचार गर्न आउनेले फार्मेसीबाट औषधि नपाएको महिनौं भयो ।


अस्पताल प्रशासन र सरोकारवाला निकाय मौन छन् । ‘म सुगरलगायत अन्य रोगको उपचार गर्न हरेक महिना आउँछु,’ स्वास्थ्य बिमा गरेका तानसेन नगरपालिका–४ का कृष्णप्रसाद पाण्डेयले भने, ‘तर, महिनाको २ हजारभन्दा बढीको औषधि बाहिर नै किनेर खानु परेको छ ।’ उनले १० बजेबाट लाइन लागेर रेफरल कार्ड बनाउन तीन घण्टा लाग्ने गरेको समस्या सुनाए ।


पाल्पा अस्पतालको फार्मेसीमा धेरैथरीका औषधि नै छैनन् । बिरामीलाई आवश्यक औषधि खरिद नगरेको झन्डै एक वर्ष हुन लाग्यो । औषधि नपाएर बिरामी साझा, निजी मेडिकल, मिसन र लुम्बिनी मेडिकल कलेज जान बाध्य छन् । बिमा गर्नेहरू आएर रेफरल कार्ड बनाएर फिर्ता हुने गर्छन् ।


सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचयपत्रका आधारमा बिमित सदस्यले सरकारले तोकेको अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्छन् । गत वर्ष सरकारले बिमा कार्ड नवीकरण गर्दा पहिलोपटक सरकारी अस्पतालमा दर्ता भएपछि मात्र अन्यत्र जाने निर्णय गरेको थियो । ‘यसरी यहीं आउन बाध्य भएपछि हामीलाई अत्यन्त दुःख भएको छ,’ तानसेनकै चित्रवलीराम सुवालले भने, ‘बिमा गरेको भए पनि त्यसअनुसारको सुविधा पाउने भन्दा बढी झन्झटिलो भयो ।’


बिमा कार्यक्रम चलाउन आवश्यक संरचना र जनशक्ति अभाव भएको पाल्पा अस्पतालका लेखा शाखाका प्रमुख चिरञ्जीवी घिमिरेले बताए । उनका अनुसार सोही कारण स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको हो । बिमितको लगत हेर्न र रुजु गर्नका लागि तीव्र गतिको इन्टरनेट चाहिन्छ । त्यसको व्यवस्था सबै अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा छैन ।


जसले गर्दा सेवाग्राही घण्टौंसम्म लाइनमा उभिनुपर्ने बाध्यता छ । स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिन घण्टौं कुर्नुपरेको गुनासो सधैं उस्तै छ । बिमा गराउने स्वयंसेवकसमेत दिक्क छन् । बिमा कार्यक्रममा बिरामीलाई भरपर्दो सेवा दिन नसकिएको अस्पतालले स्वीकार गरेको छ ।


बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकेको पाल्पा अस्पतालका निमित्त प्रमुख गगन अधिकारीले बताए । ‘नवीकरण गर्न नमान्ने नै समस्या भइसकेको छ,’ स्वयंसेवक सावित्रा अधिकारीले भनिन्, ‘हामीलाई कुटलान् जस्तै गर्छन् तर हामीबाट त्यसको समाधान आउन सक्ने कुरा भएन ।’


समस्याको निकै लामो फेहरिस्त रहेको स्वयंसेविकाहरू बताउँछन् । तानसेनको सरकारी अस्पतालको बहिरंग विभागमा ८० प्रतिशतभन्दा बढी बिरामी बिमा गराएका आउने गर्छन् । उनीहरूको लगत हेर्ने व्यक्ति नै छैन । लेखापाल घिमिरेका अनुसार गत आर्थिक वर्षको मात्र अस्पतालले खर्च पाएको छ । साउनदेखि अहिलेसम्मको खर्च पाएको छैन । ‘बिरामीको कार्ड स्क्यान गरेर पठाउनुपर्छ,’ उनले भने, ‘अस्तव्यस्त छ, पठाउन सकिएको छैन ।’ पाल्पा अस्पतालमा मात्रै दैनिक सयभन्दा बढी कार्ड रेफर गर्न आउनेको हुने उनले बताए ।


गुणस्तरीय औषधोपचार गर्न पाइने विश्वासका साथ बिमा कार्यक्रम सुरु भएको हो । बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य शल्यक्रियालगायतका सेवा प्राप्त गर्न सक्छन् ।


पाल्पा अस्पतालमा सेवा नभएर बाहिर धाउन बाध्य भएपछि रेफरल मागेर हिँड्नुपर्ने अवस्था रहेको रिब्दीकोट गाउँपालिकाका सेवाग्राही सुरेश गौतमले बताए । ‘उपचार गर्न पहिलो सरकारी अस्पताल भनेर आइयो, केही पनि सेवा पाउन सकिएन,’ उनले भने, ‘लुम्बिनी मेडिकल कलेजको रेफर मागेर हिँडेको छु ।’ सरकारले तोकेको निःशुल्क औषधि पनि बिमितहरूले प्राप्त गर्न सक्ने भए पनि फार्मेसी रित्तै देखेको उनले बताए ।


स्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्यलाई झकझक्याउने काम राजनीतिक दल र सभासदहरूको भएको सेवाग्राही प्रीति बुढाथोकीले बताइन् । ‘बिमाको फार्मेसीमा औषधि ९ सय प्रकारमध्ये ५० पनि भएको पाइएन,’ सेवाग्राही बुढाथोकीले भनिन्, ‘उपचार गर्न आयो औषधि किन्न बाहिर पठाउने गर्छन् ।’ अस्पतालमा यूसीजी र ईसीजी सुविधा भए पनि सेवाग्राहीले नपाएको गुनासो गरे ।


जिल्लामा स्वास्थ्य बिमा गर्नेको भने उत्साह बढदो छ । १ लाख ११ हजार २ सय ५० जना नागरिक यस अभियानमा आबद्ध भइसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार ५१ हजार ८ सय ७० पुरुष र ५९ हजार ३ सय ८० महिलाले स्वास्थ्य बिमा गराएका छन् ।


गत साउनदेखि मंसिरसम्म २८ हजार ८ सय नयाँ थपिएका हुन् । जिल्लामा ५ हजार ५ सय ४२ घरपरिवारले स्वास्थ्य बिमामा नाम दर्ता गराएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?