सदरमुकाममै छैन सार्वजनिक शौचालय

मनोज पौडेल

कपिलवस्तु — सदरमुकाम तौलिहवास्थित नयाँटोलमा रहेको बसपार्कमा बिहान ६ बजे ओर्लिनासाथ यशोधरा गाउँपालिका मुडिलाका हरिद्वार यादवले शौचालय खोजे, पाएनन् । पिसावले अत्तालिएका उनले बाध्य भएर बसपार्क पूर्वतर्फको खुला ठाउँमा पिसाव फेरे ।

‘निकै लाज लाग्यो,’ उनले भने, ‘तर, पिसाव नगरी नहुने अवस्था थियो ।’ उनी रात्रिबसमा घर फकिर्एका थिए । उनीजस्तै मायादेवी गाउँपालिकाबाट मालपोतमा जग्गा रजिस्ट्रेसन गर्न आएका नन्दलाल यादवले ३० मिनेटसम्म शौचालय खोजे, पाएनन् । नपाएपछि मालपोतको छेउमा रहेको कांग्रेस पार्टी कार्यालयनजिक खेतमा गएर पिसाव फेरे । ‘चारैतिर मान्छे हिँडिरहेका थिए,’ उनले भने, ‘आँखा चिम्लिएर पिसाब गरें ।


सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले यसरी सास्ती बेहोर्नु परेको छ । सरकारी काम लिएर आउनेदेखि किनमेल गर्न आउनेलाई पनि निकै गाह्रो छ । त्यस्तै घुम्न आउने पर्यटकदेखि यात्रा गरी घर फर्केकालाई पनि उस्तै छ । सदरमुकामवासीसमेत सार्वजनिक शौचालय नहुँदा खुला स्थानमा दिसा–पिसाव गर्न बाध्य छन् ।


सदरमुकाम तौलिहवामा एउटा पनि व्यवस्थित शौचालय छैन । कपिलवस्तु नगरपालिकाको सहयोगमा बनाइएका सार्वजनिक शौचालयमा निकै फोहोर छ । दुर्गन्ध बढेर पस्नै सक्ने अवस्था छैन । सरसफाइ नहुँदा देख्न सक्ने अवस्थामा पनि छैन । यहाँका चोक र बजार जहाँ बढी भीडभाड र चहलपहल हुन्छ, त्यहाँ शौचालय नै छैन ।


शौचालयका लागि सदरमुकामकै नगरपालिकाले पनि चासो दिएको छैन । मालपोत कार्यालय किनार, महेन्द्र पार्क, बसपार्क, हाटबजारमा बनाइएका शौचालयसमेत फोहोरका कारण प्रयोगविहीन छन् । पुरुषले खुला स्थानमै शौच गरे पनि महिलालाई भने अप्ठ्यारो छ ।


प्रशासन कार्यालयमा नागरिकता बनाउन आएकी यशोधरा गाउँपालिकाको सिंहोखोरकी चन्द्रा यादवले शौचालय नपाएर निकै समस्या परेको बताइन् । ‘२ घण्टा च्यापेरै बसें,’ उनले भनिन्, ‘अति भएपछि एउटा कपडा पसलमा निकै अनुनय–विनय गरेर शौच गरें ।’ यस्तै समस्या दिनभर ड्युटीमा खटिने प्रहरी, सशस्त्र र ट्राफिकलाई पनि छ । रिक्सा, टेम्पु चालक पनि समस्यामै छन् । ‘युनिफर्ममा हुन्छौं,’ एक प्रहरीले भने, ‘शौच गर्दा निकै सावधानी अपनाउनुपर्छ । कसैले देख्ला भन्ने लाज र डर दुवै लाग्छ ।’


अचेल सामाजिक सञ्जालको सिकार भइने हो कि भन्ने डरले पनि सताउने गरेको उनले बताए । जहाँ पायो त्यहीं शौच गर्नाले जताततै फोहोर र दुर्गन्ध बढेको कपिलवस्तु नगरपालिका–२ का वडाध्यक्ष रामभजन कलवारले बताए । ‘बजार क्षेत्रमा दुर्गन्ध धेरै बढेको छ,’ उनले भने, ‘बजार क्षेत्रमा पर्ने सबै वडा मिलेर शौचालय बनाउनुपर्ने भयो ।’


नगर क्षेत्रमा सार्वजनिक शौचालयको अभाव भएको नगरप्रमुख किरण सिंहले बताए । नगरपालिकाको सहयोगमा तौलिहवाका केही स्थानमा बनाइएका शौचालयको नियमित सरसफाइ हुन नसक्दा समस्याग्रस्त बनेको उनले बताए ।

जनशक्ति कम छ । सरसफाइतिर बढी ध्यान दिनुपर्दा शौचालय ओझेलमा परेको हो । ‘नयाँ शौचालय बनाउन समस्या छैन,’ उनले भने, ‘संरक्षण र सञ्चालनको जिम्मा लिनेको अभावमा समस्या थपिएको हो ।’ नगरको समग्र सरसफाइको विषयमा गुरुयोजना बनाउन लागिरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?